+
+
Shares

‘एक कचौरी २ समोसा’ ट्रेन्ड : पुरुषले रिसाउने होइन, सुन्ने हो !

आजकाल इन्स्टाग्राममा ‘एक कचौरी २ समोसा, इन लड्को का क्या भरोसा’ भन्ने अडियो भाइरल छ। पितृसत्तात्मक व्यवहार र पुरुषप्रतिको अविश्वासलाई व्यङ्ग्य गर्दै भारतबाट सुरु भएको यो डिजिटल विद्रोह नेपालमा पनि उत्तिकै चर्चित छ।

आदर्श भण्डारी आदर्श भण्डारी
२०८३ कात्तिक १ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा महिलाहरूले इन्स्टाग्राममा पितृसत्तात्मक व्यवहार र पुरुषप्रतिको अविश्वासविरुद्ध सुरु गरेको डिजिटल आन्दोलन नेपाली युवायुवतीबीच पनि भाइरल बनेको छ।
  • युनिसेफका अनुसार नेपालमा १८ देखि २९ वर्षका युवतीमध्ये ३ प्रतिशतले १८ वर्षअघि यौनहिंसा भोगेको बताएका छन्।
  • युएन वुमनको नेपाल प्रोफाइलअनुसार एक अध्ययनमा ९७ प्रतिशत महिलाले सार्वजनिक यातायातमा यौन उत्पीडन अनुभव गरेको बताएका थिए।

आजकाल सामाजिक सञ्जाल, खासगरी इन्स्टाग्रामका फिडहरू स्क्रोल गर्दा जेनजीबीच एउटा भाइरल अडियो सुनिन्छ- ‘एक कचौरी २ समोसा, इन लड्को का क्या भरोसा’। भारतका युवा महिलाहरूले सामाजिक सञ्जालमार्फत पितृसत्तात्मक व्यवहार, पुरुषप्रतिको अविश्वास र दैनिक जीवनका सास्तीलाई व्यङ्ग्य गर्दै सुरु गरेको यो डिजिटल आन्दोलन (विरोध) अहिले सीमापारि नेपाली युवायुवतीबीच पनि उत्तिकै भाइरल बनेको छ।

यस्ता भिडियोहरूको कमेन्ट सेक्सन हेर्दा धेरैजसो पुरुष साथीहरू रक्षात्मक बनेर बचाउ गरिरहेका भेटिन्छन्- ‘हामी सबै त त्यस्ता छैनौँ!’, ‘हामीलाई किन एउटै घानमा हालेको ?’

सुरु-सुरुमा बाहिरबाट हेर्दा यी भिडियो केही हदसम्म ठट्टाजस्ता लाग्न सक्छन्। तर महिलाहरूले सामाजिक सञ्जाललाई आफ्नो आक्रोश पोख्ने र प्रतिरोध गर्ने थलोका रूपमा प्रयोग गर्नुका पछाडि गहिरो सामाजिक यथार्थ छ।

महिला वर्गको यो आक्रोश कुनै पुरुषप्रतिको व्यक्तिगत घृणा होइन; यो त बाल्यकालदेखि दैनिक जीवनमा भोगेको डर, असुरक्षा र गहिरो मानसिक चोटको स्वाभाविक विस्फोट हो। आफ्ना महिला साथीहरूसँग अलि गम्भीर भएर कुराकानी गर्ने हो भने उनीहरूसँग बाल्यकालदेखिका अनेकौँ मानसिक आघातहरू भेटिन्छन्।

युनिसेफको हाल उपलब्ध नेपालसम्बन्धी तथ्याङ्कअनुसार १८ देखि २९ वर्षका युवतीमध्ये ३ प्रतिशतले १८ वर्षको उमेर पुग्नुअघि यौनहिंसा अनुभव गरेको बताएका छन्। विद्यालय तथा विद्यालय वरपरको हिंसाका विषयमा पनि युनिसेफले नेपालमा हिंसा व्यापक रहेको र विद्यालयलाई सुरक्षित बनाउने स्पष्ट आवश्यकता औँल्याएको छ।

त्यो विद्यालय पढ्ने उमेरमा कसैको गलत नियत बुझ्ने परिपक्वता हुँदैन। तर जब उनीहरू हुर्कन्छन् र चेतनाको विकास हुन्छ, तब ती पुराना घटना सम्झिँदा उनीहरूलाई महसुस हुन्छ- उनीहरूमाथि त त्यो बेला नै दुर्व्यवहार भएको रहेछ। र, उनीहरू आफूलाई परेको त्यो कुरा सुनाउने ठाउँ पनि पाउँदैनन्; ‘बाउआमाको इज्जत जाने’ भन्दै बाहिर पनि ननिकाली भित्रै दबाइन्छ।

यसका साथै, हाम्रो समाजमा व्याप्त अन्धविश्वास र कुप्रथाले पनि उनीहरूमा झन् गहिरो मानसिक चोट पुर्‍याइरहेको छ। सामान्यतया १३-१४ वर्षको संवेदनशील उमेरमा प्रवेश गर्दा नै हाम्रा नानीहरूलाई महिनावारी भएको नाममा ‘नछुने’ बनाएर घरपरिवारबाटै अलग्याइन्छ। जुन उमेरमा उनीहरूलाई अभिभावकको माया, हेरचाह र सुरक्षाको सबैभन्दा बढी खाँचो हुन्छ, त्यही बेला भगवान्‌रूपी आमाबाबुले नै उनीहरूलाई अछुतझैँ व्यवहार गरेर एक्लो बनाइदिन्छन्।

उही उमेरका छोरा वा दाजुभाइले घरमा विशेष सुविधा पाइरहँदा छोरीहरू भने आफ्नै घरभित्र विभेद सहन बाध्य हुन्छन्।

सानै उमेरदेखि भोगिने यो अमानवीय व्यवहारले उनीहरूको मानसपटलमा ‘म कमजोर छु, म तल्लो दर्जाको छु र म अरूभन्दा अशुद्ध छु’ भन्ने हीनभावना गाडिदिन्छ। नेपालमा गरिएको एक अध्ययनले महिनावारीका बेला उदासी वा एक्लोपन महसुस गर्ने किशोरीहरूमा विद्यालय छुट्ने सम्भावना ४७.४ देखि ४८.९ प्रतिशतसम्म बढेको देखाएको छ।

अध्ययनले यो प्रभावलाई महिनावारी स्वयम्ले विद्यालय छुटाउने दर भनेर नभई, महिनावारीसँग जोडिएको भावनात्मक तनाव र विद्यालय अनुपस्थितिबीचको सम्बन्धका रूपमा मापन गरेको हो।

यसरी पढाइ छुट्नु र सानैदेखि घरसमाजबाटै बहिष्कृत हुनुले उनीहरूको आत्मविश्वास र मानसिक स्वास्थ्य सधैँका लागि कमजोर बनाइदिन्छ। बाल्यकालमै आफ्नै घर र परिवारलाई शत्रुजस्तो देख्न बाध्य हुनुपर्ने यस्ता तीता अनुभवका कारण हुर्कँदै जाँदा उनीहरूमा पुरुष समाज र संरचनाप्रति नै गहिरो अविश्वास सिर्जना हुनु कुनै नौलो कुरा होइन।

महिलाहरूको यो अविश्वास र भय हावाका भरमा उब्जिएको होइन। नेसनल सेक्सुअल भायोलेन्स रिसोर्स सेन्टर (एनएसभीआरसी) ले उद्धृत गरेको अमेरिकी नेसनल क्राइम भिक्टिमाइजेसन सर्भेका तथ्याङ्कअनुसार १८ देखि २४ वर्षका महिला तथा पुरुषका बलात्कार तथा यौन दुर्व्यवहारका घटनामध्ये करिब ८० प्रतिशतमा पीडक पीडितले चिनेकै व्यक्ति थिए। एनएसभीआरसीको एनआईएसभीएस विश्लेषणले पनि अधिकांश यौनहिंसाका पीडितले पीडकलाई चिनेको देखाउँछ।

यसलाई एउटा सरल उदाहरणबाट बुझ्न सकिन्छ: यदि एउटा कोठामा १०० वटा सर्प छन् र कसैले भन्यो- ‘५ वटा सर्प विषालु छैनन्’, भने के कोही ढोका खोलेर ढुक्कले सुत्छ? कि ९५ वटा विषालु छन् भनेर ढोका बन्द गर्छ ? कुन पुरुष सुरक्षित छ र कुन खतरनाक, कसैको निधारमा लेखिएको हुँदैन। त्यसैले आफ्नो सुरक्षाका लागि हरेक पुरुषलाई सम्भावित खतराका रूपमा हेर्नु उनीहरूभित्र निर्माण भएको एउटा मानसिक सुरक्षा कवच (आत्मरक्षा संयन्त्र) हो।

उनीहरू हुर्कँदै जाँदा यो सास्ती झन् सघन बन्दै जान्छ। हरेक दिन सार्वजनिक यातायातजस्ता भिडभाडयुक्त बसमा यात्रा गर्नु उनीहरूका लागि केवल कलेज वा काममा पुग्ने बाटो मात्र होइन, एउटा निरन्तरको मानसिक आघात हो। बसमा सिट पाउनु त परको कुरा, भीडको फाइदा उठाउँदै हुने नियतवशको स्पर्श र गिद्धे नजरको दैनिक सिकार हुन्छन्।

जबसम्म हाम्रा चेलीहरूले बाल्यकालदेखि नै पूर्ण सुरक्षित वातावरण पाउँदैनन् अनि सार्वजनिक यातायातमा बिनाकुनै डर निर्धक्क हिँड्न पाउँदैनन्, तबसम्म उनीहरूबाट अविश्वास हट्ने छैन

नेपालको सार्वजनिक यातायातसम्बन्धी उपलब्ध अध्ययनलाई समेटेको युएन वुमनको ‘नेपाल कन्ट्री जेन्डर इक्वालिटी प्रोफाइल’ अनुसार, एक अध्ययनमा ९७ प्रतिशत महिलाले सार्वजनिक यातायातमा यौन उत्पीडन अनुभव गरेको बताएका थिए भने अर्को अध्ययनमा महिला विद्यार्थीमध्ये पाँचमध्ये चार जना सार्वजनिक यातायातमा यौन उत्पीडनको सिकार भएको पाइएको थियो। कलेज वा कामबाट घर फर्किने क्रममा दिनहुँ यस्ता घटनाबाट गुज्रिँदा उनीहरूभित्र गहिरो मानसिक चोट बस्छ।

तर पीडितमाथि नै दोषारोपण गरिने हाम्रो पितृसत्तात्मक संरचनाका कारण उनीहरू आफ्ना पीडा घर-समाजमा खुलेर भन्न सक्दैनन्। ‘तँ नै किन त्यो भीड बसमा चढेकी?’ वा ‘कस्तो लुगा लगाएकी होली?’ भनेर उल्टै पीडितलाई नै दोषी देखाइने प्रवृत्तिले गर्दा उनीहरू आफ्ना पीडा मनभित्रै गुम्साउन बाध्य छन्। तर त्यो कुरा अस्वाभाविक स्पर्श हो र मुलुकी अपराध संहिताको दफा २२४ अनुसार यो सजाययोग्य अपराध हो!

यो कुरा थाहा पाएर पनि कानुनको फितलो कार्यान्वयन र समाजबाट ‘भिक्टिम ब्लेमिङ’ (पीडितलाई दोष दिने) हुने अनि ‘मेल इगो’ (पुरुष अहम्) को नाममा पुरुषहरू झन् गर्वका साथ त्यस्तो कुरा आफ्नो साथीभाइमा सुनाएर गर्वित हुने संस्कृतिहरूले गर्दा यो रोकिएको छैन।

यही गुम्सिएको पीडा आज सोसल मिडियामा सङ्गीत, मिम वा ट्रेन्डका रूपमा विस्फोट भइरहेको छ। जुन उमेरमा आफ्नै उमेरका केटा साथीहरूजस्तै संसार जित्ने सपना देख्नुपर्ने हो, त्यो उमेरमा पाइलैपिच्छे अवाञ्छित दृष्टि र दुर्व्यवहार सहनुपर्छ भने उनीहरूले कसरी समाजमा सुरक्षित महसुस गर्लान् ? त्यसैले उनीहरू भन्छन्- ‘सबै पुरुष होइनन्, तर सधैँ पुरुष नै हुन्छन्।’

सार्वजनिक ठाउँ वा यातायातमा हुने यस्ता दुर्व्यवहारबारे तत्काल उजुरी गर्ने स्पष्ट र सहज संयन्त्र नहुँदा पीडकहरू सजिलै फुत्किन्छन्। मुलुकी अपराध संहितामा कानुनी प्रावधान भए पनि कार्यान्वयनको अभाव र सामाजिक त्रासका कारण हजारौँ किशोरीहरू दैनिक रूपमा पिसिइरहेका छन्।

अर्को महत्त्वपूर्ण विषय भनेको सामाजिक सञ्जालको दुरुपयोग हो। खासगरी युवा वर्गमा चेतनाको कमीले टेलिग्राम र डिस्कोर्डजस्ता ग्रुपहरूमा गर्वका साथ महिलाहरूको फोटो पठाउँदै ‘यसको काण्ड छैन?’ भन्दै महिलाहरूलाई वस्तुकरण गर्ने गर्छन्, जसमा नाबालक बच्चाहरू पनि संलग्न हुन्छन्। उनीहरूलाई के सही-के गलत पनि थाहा हुँदैन, तर उनीहरू त्यही ग्रुपको अरूको लहै-लहैमा लाग्ने, गोप्य अङ्गका तस्बिरहरू आदानप्रदान गर्ने अनि आज सम्बन्ध टुटेपछि धेरैजसोले सम्बन्धमा रहेको बेलाको व्यक्तिगत फोटो तथा च्याटहरू लिक गरेर त्यसलाई बहादुरी मान्ने विकृत संस्कृति मौलाउँदो छ।

यसले महिलाहरूको मानसिक स्वास्थ्यमा गहिरो असर पुर्‍याउँछ। समाज र साथीभाइको डरले सोचविचार नै गर्न नसकेर कतिपय नाबालकहरूसमेत गम्भीर मानसिक सङ्कटसम्म पुग्ने अवस्था सिर्जना हुन्छ।

यस्ता घटनाबारे नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने र सम्बन्धमा रहँदा खिचिएका व्यक्तिगत तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीडितका आफन्त वा साथीहरूलाई पठाउने घटनामा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान र पक्राउ गरेको आधिकारिक अभिलेखसमेत सार्वजनिक गरेको छ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले विद्युतीय माध्यमबाट महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा अमर्यादित कार्य गर्नेलाई सजायको व्यवस्था गरेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ ले विद्युतीय माध्यमबाट अश्लील सामग्री प्रकाशन वा प्रचारप्रसार गर्न निषेध गर्छ।

यस्तै सोच निर्माणमा अर्को ठूलो भूमिका कला र मनोरञ्जन क्षेत्रको पनि छ। वास्तविक समाज रूपान्तरणमा अग्रणी भूमिका खेल्नुपर्ने कला- विशेष गरी नेपाली चलचित्र, सङ्गीत र कमेडी अझै पनि पूर्ण रूपमा नायक (पुरुष) को वरिपरि नै घुम्ने गर्छ।

सङ्गीत भिडियोहरूमा महिलाहरूलाई अझै पनि एउटा वस्तुका रूपमा (अब्जेक्टिफाई गरेर) प्रस्तुत गरिन्छ। चलचित्रहरूमा नायकले युवतीलाई जहाँ गए पनि पछ्याइरहने (स्टकिङ गर्ने), उसको अनिच्छाका बाबजुद जबर्जस्ती गर्ने वा केटी पाउनकै लागि दुई-चार जनालाई कुटपिट गरेर हिरोइज्म देखाउने जस्ता दृश्यहरू गर्वका साथ देखाइन्छन्।

वास्तविक जीवनमा हेर्ने हो भने यी सबै हर्कतहरू स्पष्ट रूपमा यौनजन्य उत्पीडन (ह्यारासमेन्ट) हुन्। तर यस्ता विषयलाई स्क्रिनमा सामान्य र रोमान्टिक बनाएर प्रस्तुत गर्दा समाज र युवापुस्तामा ‘केटी पटाउन यस्तै गर्नुपर्छ’ भन्ने गलत मनोविज्ञान निर्माण भइरहेको छ। विडम्बनाको कुरा, हाम्रा चलचित्रहरूले कहिल्यै महिलाको दृष्टिकोण र उनीहरूले भोग्ने डरलाई केन्द्रमा राखेर कथा बुनेनन्। कलाले ह्यारासमेन्टलाई ‘प्रेम’ को रूपमा ग्ल्यामरस बनाएर देखाएसम्म समाजको सोच बदल्न झन् गाह्रो हुन्छ।

यस्तो अवस्थामा पुरुष समाज र खासगरी जेनजी युवाहरूको दायित्व के त ? महिलाहरूले सामाजिक सञ्जाल वा कुराकानीमा पुरुष वर्गमाथि प्रश्न उठाउँदा पुरुषहरूले ‘म त त्यस्तो छैन’ भनेर व्यक्तिगत रूपमा लिएर रिसाउनुको कुनै औचित्य छैन। यदि पुरुष वर्ग आफैँ गलत छैन भने, प्रतिवाद गर्ने होइन, उनीहरूले भोगेको पीडालाई सहानुभूतिपूर्वक बुझ्ने प्रयास गर्नुपर्छ।

यसमा प्रमुख रूपमा ध्यान दिनुपर्ने कुरा भनेको उनीहरूको कुरा सुन्ने हो। हाम्रै धेरै महिला साथी वा दिदीबहिनीले आफ्ना तीता अनुभव वा सोसल मिडियामा विचार व्यक्त गर्दा गाली गरेर त्यही पितृसत्तात्मक प्रवृत्ति देखाउने र पीडितलाई दोषारोपण गर्नुको साटो उनीहरूको डर र आक्रोशको जडलाई स्वीकारिदिऔँ र उनीहरूसँगै त्यो प्रवृत्तिसँग लडाइँ गरौँ; किनकि महिला मात्र होइन, पुरुष पनि पितृसत्तात्मक समाजका सिकार हुन्।

सार्वजनिक ठाउँमा मूकदर्शक बन्नु पनि हामीले अपराध गरेजस्तै हो। सार्वजनिक बस वा बाटोमा कसैले दुर्व्यवहार गरेको देख्दा ‘मेरो काम होइन’ भनेर बस्नुको साटो तुरुन्त प्रतिवाद गरौँ र पीडितलाई आवश्यक सहानुभूति र न्याय दिलाउन प्रयत्न गरौँ। डिजिटल र सामाजिक सोच बदल्न पनि आवश्यक छ: सोसल मिडियामा कोही पीडितले कुरा निकाल्दा उल्टै गाली खाएको हाम्रो समाजमा देखिराखेकै हो; यस्तो बेला त्यो गालीलाई समर्थन गर्नुको साटो ती गालीहरूको खण्डन गरौँ।

केटीहरूलाई एकदमै वस्तुकरण गर्ने परम्परा हामीले केटाहरूको सर्कलमा देखिराखेकै छौँ; त्यसमा आफ्ना साथीभाइ वा घर-परिवारभित्रै कसैले महिलाको लुगा वा चरित्रमाथि टिप्पणी गर्छ भने त्यसलाई रोक्ने हिम्मत देखाऔँ।

जबसम्म हाम्रा चेलीहरूले बाल्यकालदेखि नै पूर्ण सुरक्षित वातावरण पाउँदैनन् अनि सार्वजनिक यातायातमा बिनाकुनै डर निर्धक्क हिँड्न पाउँदैनन्, तबसम्म उनीहरूबाट अविश्वास हट्ने छैन। भारतीय महिलाहरूले सुरु गरेको यो डिजिटल आक्रोश वास्तवमा हाम्रो पुस्ताको चेतावनी हो र पितृसत्ताविरुद्धको विद्रोहको आगो हो।

उनीहरूलाई त्यो सामग्रीलाई लिएर गाली वा रक्षात्मक तर्क गर्ने होइन, सुरक्षाको अनुभूति, सहानुभूति र सँगै सुनिदिने साथ चाहिएको हुन्छ। त्यो सुरक्षा र विश्वासको वातावरण निर्माण गर्नु नै आज सिङ्गो पुरुष समाज र जिम्मेवार नागरिकको साझा दायित्व हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?