Comments Add Comment

टेबल टेनिसमा नेपाललाई एक रजत र ३ कास्य

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ । शुक्रबार भएको पुरुषतर्फको सिंगल्समा नेपालले दुई कास्य जितेको हो । नेपालका दुई खेलाडी सेमिफाइनल पुगे पनि दुवै जना पराजित भएपछि कास्यमा सीमित भएका हुन् ।

सोमबारदेखि लैनचौरस्थित टीटीहलमा भएको प्रतियोगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत, महिला टिम इभेन्टमा कास्य तथा पुरुष सिंगल्समा स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक हात पारेका हुन् ।

शुक्रबार भएको सेमिफाइनलमा नेपाल खेलाडी स्यान्टु र पुरुषोत्तम भारतीय खेलाडीसंग पारजित भएपछि टेबलटेनिसको सिगल्सतर्फ फाइनल पुग्न सकेनन् ।

शुक्रबार बिहान भएको सेमिफाइनलमा युवा स्टार स्यान्टु श्रेष्ठ भारतीय खेलाडी अमलराज एन्थोनिसँग ४–० को सेटमा पराजित भए । उनी एन्थोनीसँग ११–४, १२–१०, ११–८, ११–२ को सेटमा पराजित भए ।

यता अर्को सेमिफाइनलमा भारतीय खेलाडी हर्मित देशाईसँग अनुभवी खेलाडी पुरुषोत्तम बज्राचार्य ४–० को सेटमै पराजित भए । उनी ११–५, ११–४, ११–१ र ११–४ को सेटमा पराजित भए ।

सागमा नेपाल टेबलटेनिसले पुरुष टिम इभेन्टमा जितेको रजत पदक पनि ऐतिहासिक बन्यो । शिव सुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठ टिममा रहेको नेपाल पहिलो पटक टिम इभेन्टको फाइनलमा पुगेको थियो ।

तर, फाइनलमा भारतसँग पराजित भएपछि घरमै भएको सागमा स्वर्ण जित्नबाट नेपाली टोली चुकेको थियो ।

टेबलटेनिसमा चौथो पदक महिला टिम इभेन्ट्समा नेपालले कास्य जितेको थियो । नविता श्रेष्ठ, रविना महर्जन र सिक्का सुवाल टोलीमा रहेको टिमले कास्य जितेको थियो ।

महिलातर्फ सिंगल्समा भारतले स्वर्ण र रजत जितेको छ भने श्रीलंकाले दुई कास्य जितेको हो । पुरुषतर्फ कास्य नेपालले जिते पनि स्वर्ण र रजत भारतले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment