Comments Add Comment

दोस्रो प्रतिस्पर्धामा किन चुकिन् कीर्तिमानी सन्तोषी ?

थकान र दबाबले प्रभाव पर्‍यो : प्रशिक्षक

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार १० हजार मिटर दौडमा स्वर्ण जितेपछि धाविका सन्तोषी श्रेष्ठ चर्चित बनिन् । एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला भएका कारण उनको चर्चा स्वाभाविक पनि थियो ।

यसअघि श्रीलंकामा भएको सागमा कान्छीमाया कोजुले जितेको कास्य नै नेपालका लागि ठूलो पदक थियो । त्यसैले मंगलबार सन्तोषीले ऐतिहासिक स्वर्ण जित्दा देशले नै सन्तोष मान्यो । र, उनीबाट थप पदकको आशा पनि राखिएको छ ।

उनै सन्तोषीले शुक्रबार पाँच हजार मिटर दौडमा भाग लिइन् । सन्तोषी र उनका प्रशिक्षक रघु वन्त पनि अर्को स्वर्ण थपिनेमा ढुक्क देखिन्थे । तर, यसमा भने सन्तोषी असफल भइन् ।

सन्तोषीले निर्धारित दूरी १७ मिनेट १३.६८ सेकेण्डमा पूरा गर्दै चौथो स्थानमा रहिन् जुन अपेक्षित थिएन । ‘हामीले स्वर्णकै आश गरेका थियौं र उनले पनि अरु सोचेकी थिइनन्’ प्रशिक्षक वन्त भन्छन्, ‘तर बीचमा तलमाथि भइरह्यो र अन्तिममा जसरी स्वाट्ट लिड गर्छु भन्ने सोचेकी थिइन्, त्यो भएन ।’

सन्तोषीले पनि पहिलो प्रतिस्पर्धामा जस्तै शुरुमा अरु सँगैसंगै कुद्ने र पछि लिड गर्ने आफ्नो योजना भएको सुनाइन् । तर प्रतिस्पर्धीहरु सुरुमा ढिला दौडिए । त्यसपछि सन्तोषी आफ्नो गतिमा दौडिनुपर्‍यो ।

तर अन्तिम ल्यापमा श्रीलंकन र भारतीय खेलाडी छिटो दौडिए । सन्तोषी पछि परिन् । यद्यपि आफ्नो प्रदर्शनबाट निराश नरहेको उनले बताएकी छन् ।

थकान र दबाब

प्रशिक्षक वन्तको भनाइमा शुक्रबार दौड सुरु गर्दैगर्दा सन्तोषी थकान र दबाबको चपेटामा थिइन् । १० हजार मिटरमा स्वर्ण जितेकाले यसमा पनि जित्ने दबाब थियो उनलाई । अनि अस्तिको थकाई मेटिएको थिएन । त्यसले पनि आज उनको प्रदर्शनलाई प्रभाव पारेको वन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment