Comments Add Comment

क्रिकेटमा जित मिल्यो, धित मरेन (फोटो फिचर)

२० मंसिर, काठमाडौं । सामान्यतया नेपाली क्रिकेट टिमले घरेलु मैदानमा अन्तर्राष्ट्रिय म्याच खेल्दा दर्शकको अभाव हुँदैन । तर, १३ औं साग अन्तरगत आज भएको नेपाल र माल्दिभ्सविरुद्धको खेलमा भने त्रिवी क्रिकेट मैदान न्यून संख्यामा दर्शक उपस्थित भए ।

आजको म्याचमा नेपालको जित फगत औपचारिकता मात्रै हुने पूर्वानूमानका कारण पनि दर्शक आकर्षित नभएका हुन् । किनकी नेपालको तुलनामा माल्दिभ्स क्रिकेटमा निकै पछाडि छ । यद्यपि, नेपालको ब्याटिङ हेर्नका लागि केही दर्शक आएका थिए । तर, उनीहरुले सोचेजस्तो मनोरञ्जन पाएनन् ।

अघिल्लो म्याचमा भुटानविरुद्ध शानदार ब्याटिङ गरेको नेपालले आज पनि त्यही अपेक्षाका साथ टस जितेर ब्याटिङ नै रोज्यो । तर, सुरुमै पारस खड्का आउट भएपछि नेपालले आक्रामक रुप धारण गर्न सकेन । लगातार विकेट झरिरहँदा अन्तिम ओभरसम्म सम्हालिएर खेल्न बाध्य हुनुपर्‍यो ।

यो पनि पढ्नुहोस नेपालले माल्दिभ्सलाई ८४ रनले हरायो

आठौं नम्बरमा आएका करण केसीले अन्तिम ओभरमा विष्फोटक रुप धारण नगरेको भए नेपाल मामुली स्कोरमा समेटिन सक्थ्यो । करणको अन्तिम ओभरमा छक्का र चौकाको वर्षा गर्दै २४ रन जोडे । उनको इनिङले नेपालको लाज ढाक्यो । र, यही नै नेपाली दर्शकका लागि म्याचको सर्वोत्कृष्ट क्षण थियो र उनीहरुले खुलेर हुटिङ गर्ने मौका पाएका थिए ।

नेपालले दिएको १ सय ६४ रन माल्दिभ्सका लागि पहाडसरह हुनेवाला थियो र भयो पनि । उनीहरुले यो स्कोर चेज गर्नेतिर भन्दा पनि पूरा २० ओभर खेल्नेमा ध्यान केन्द्रित गए । सफल पनि भए । नेपालले मालदिभ्सको ६ विकेट मात्रै लिन सक्यो । ती सबै विकेट स्पिनरले बाँडेका थिए । फास्ट बलरहरु विकेटविहीन रहे ।

तीन म्याचको प्रदर्शन हेर्दा नेपालले ब्याटिङमा मात्रै नभएर बलिङमा पनि निकै सुधार गर्नुपर्ने देखिएको छ । खासगरी नेपालको फास्ट बलिङ तीनवटै म्याचमा प्रभावहीन बनेको छ । नेपालले समुह चरणको अन्तिम खेल नेपालले बंगलादेशविरुद्ध खेल्ने छ । सो खेलमा जित हासिल गरेमा मात्रै नेपालको फाइनल यात्रा सुनिश्चित हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment