Comments Add Comment

बोष्टनको स्कुलमा नेपाल एकीकरणको नाटक

बोष्टन । अमेरिकामा सञ्चालित नेपाली भाषा स्कुल ‘नेपाली क्लास, बोष्टन’ले पाँचौ अभिभावक दिवस मनाएको छ । समरभिल सिटीस्थित अल्बर्ट एफ अर्जेनसियानो स्कुलमा आयोजित कार्यक्रममा विद्यार्थी शिक्षक, अभिभावक, स्वयंसेवक गरी करिब चार सय जनाको सहभागीता थियो ।

२०१९ शैक्षिक वर्षमा अध्ययनरत ५ देखि १५ वर्ष उमेरका १६० जना बालबालिकालाई सिकाइएको नेपाली भाषा, सँस्कृति, अनुशासन, नृत्य, नाटक, अभिनय अनि उदघोषण कार्यक्रममा प्रस्तुत गरिएको थियो । उनीहरुको प्रस्तुति देखेर कार्यक्रममा सहभागीहरु दंग परेका थिए । कार्यक्रममा बालबालिकाहरु चौबन्दी चोली, छिटको सारी, पटुकी, मजेत्रो, दौरा सुरुवाल, ढाका टोपीलगायतका नेपालको मौलिक पहिरनमा थिए ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको सन्दर्भमा उनीहरुले नेपाल एकीकरण सम्बन्धी नाटक प्रदर्शन गरेका थिए । पृथ्वीनारायण शाहले कसरी नेपाल एकीकरण गरे, नेपाद देश कसरी बन्यो, देशलाई कसरी रक्षा गर्न सकिन्छ सन्देशमुलक यो नाटकले सबैको मन छोयो ।

कार्यक्रमका १६ वटा प्रस्तुतिमध्ये १४ वटामा बालबालिकाले नै उदघोषण गरेका थिए । उनीहरुले नेपालीमै उदघोषण गरेका थिए ।

त्यसैगरी ‘जे हुन्छ राम्रैको लागि हुन्छ’ शिर्षकमा अकबर र बिरबलको रमाइलो अर्को नाटक पनि देखाइएको थियो । कार्यक्रममा बालबालिकाहरुले आठ थरी सामूहिक नृत्य देखाएका थिए । सबै बालबालिकाहरुले ‘यो मन त मेरो नेपाली हो’ गीत गाएका थिए । बोष्टन नेपाली क्लासका अभिभावक, स्वयंसेवक टिमको र शिक्षक टिमको फरक-फरक रमाइलो नृत्य पनि कार्यक्रममा समाबेस थियो ।

अमेरिकाको ब्यस्त जीवनमा आफ्ना छोराछोरीलाई चाहेर पनि नेपाली भाषा पढाउन, लेखाउन, नेपाली कला, सँस्कृति, भेषभुषा, चाडबाड सिकाउन निकै गाह्रो हुने सन्दर्भमा नेपाली क्लास बोष्टन स्थापना गरिएको हो । बोष्टन तमु समाजको पहलकदमीमा सन् २०१४ मा वाटरटाउनस्थित बाल पुस्तकालयमा जम्मा ७ जना विद्यार्थीबाट शुरु भएको थियो नेपाली क्लास । पछि विश्वप्रसिद्ध एमआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समूह ‘मितेरी’सँगको सहकार्यमा जुन २०१४ देखि जुलाई २०१९ सम्म एमआईटीकै सुबिधा सम्पन्न भवनमा रहयो । हाल जुलाईदेखि मात्र समरभिल सिटीको अर्जेनसियानोमा सरेको हो ।

बढि जाडो हुनु अगावै अबिभावक दिवस मनाएर डिसेम्बरदेखि मार्चसम्म नेपाली क्लास बन्द गरिन्छ । पुनः अपि्रलदेखि नोभेम्बर सम्म स्कुल खुल्छ । स्कुलले बेलाबखत नेपाली चाडपर्व जस्तै दशैंमा टीका लगाउने, भानु जयन्तीमा नाटक देखाउने, क्यान्सर पीडितको लागि परोपकारी कोष स्थापना गर्ने लगायतका गतिविधि गर्दै आएको छ ।

अमेरिकी कानुनअनुसार वैधानिकता दिइ सञ्चालन गरिएको यस स्कुलमा १० जना शिक्षक, एक जना प्रशासक, २ जना सहयोगी, ५ जना युवा स्वयंसेवक छन् । अविभावकको तर्फबाट ८ जनाको प्यारेन्ट एलाइन्स कर्नर र २५ जना समाजका अग्रजहरुको भोलन्टियर एलुम्नी समेतको टिम क्रियाशिल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment