Comments Add Comment

अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको तयारी

जनवरी १ मै दर्जनौं नेपाली काठमाडौं आउने योजना

सिड्नी । नेपाल सरकारले तय गरेको नेपाल भ्रमण वर्ष २०२० को अस्ट्रेलियामा विशेष तयारी सुरु भएको छ । अस्ट्रेलियामा भएका नेपाली कुटनीतिक नियोगहरु आ-आफ्नो अनुकूलतामा नेपाल भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम गर्ने तयारीमा छन् भने गैरआवासीय नेपाली संघसहित अष्ट्रेलियाका नेपाली सामाजिक संघसंस्था र व्यवसायीहरु ती नियोगका कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी हुँदैछन् ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आफ्ना सदस्य खेम शर्माको संयोजकत्वमा ‘नेपाल भ्रमण वर्षको पहिलो दिनमै नेपाल पुगौं’ भन्ने अभियान सुरु गरेको छ ।

आफ्ना करिब १२ हजार सदस्यहरु तथा अष्ट्रेलियाको नेपाली समुदायलाई अपिल गर्दै गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले भनेका छन्- हामी यो ऐतिहासिक अवसरमा जनवरी १ को बिहान ११ः२५मा काठमाडौं आइपुग्ने पहिलो जहाजमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन सबै सदस्यहरुलाई आह्वान गर्दछौं ।

‘अष्ट्रेलिया-नेपाल गौरवमय यात्रा २०२०’ नामाकरण गरेर यो अभियानका संयोजक खेम शर्माले सबै सामाजिक संघ संस्था, व्यवसायी, अष्ट्रेलियन मित्रहरु र कूटनीतिक नियोगहरुलाई सोही दिन काठमाडौं पुग्न अनुरोध गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै संयोजक शर्माले भने-विभिन्न बिपत तथा दुःखका बेला प्रवासी नेपालीहरु एकजुट भएजस्तै राष्ट्रिय समृद्धिको अभियानमा पनि हामी जनस्तरबाट एकजुट हुन आवश्यक छ । त्यसैले हामी कम्तिमा एकसय नेपाली र हाम्रा अष्ट्रेलियन मित्रहरु जनवरी १ मा काठमाडौं पुगेर भिजिट नेपाललाई सफल पार्ने सन्देश दिने छौं ।

यो अभियानको तयारीकै क्रममा जुटेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका पूर्वयुवा संयोजक विजय पोखरेलले अनलाइनखबरलाई भने-नेपाल सरकारले तय गरेको राष्ट्रिय अभियानलाई सफल पार्ने हामी बाहिर भएका नेपालीको स्वतःस्फूर्त जिम्मेवारी, कर्तव्य र भूमिका हुन आउछ ।

उनले यो सुरुवातको अभियान मात्रै भएको र यसको प्रभाव विश्वभरिका नेपालीमा पर्ने बताए । नेपाल बाहिर हुर्केको दोस्रो पुस्तालाई उनले आफ्ना एक साथि पनि नेपाल लिएर जाऊ भन्दै उत्प्रेरित गर्नु पर्ने बताए । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिले पनि जनवरी १ मै नेपाल पुगौं भन्ने अभियानलाई सम्मान गर्ने उनले बताए ।

दीपक खड्का

यो अभियानको क्रममा जोडिएका सिड्नीका व्यवसायी युवराज भट्टराईले जनवरी पहिलो दिनमै नेपाल पुगेर राष्ट्रिय अभियानमा सामेल हुने सकारात्मक योजना मन परेर तत्काल निर्णय लिएको बताए । उनी सिड्नीमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने इलाका रक्डेलमा बिगत दुई दशकदेखि स्थापित र अष्ट्रेलियाको बहुसाँस्कृतिक समुदायसँग बलियो सम्बन्ध भएका नेपाली मूलका अष्ट्रेलियन हुन् ।

यो अभियानमा हालसालै नेपाली चेलीसँग बिहे गरेका भिक्टोरिया निवासी अष्ट्रेलियन नागरिक स्टेब बेट्टी पनि सहभागी भएका छन् । उनी आफू जनवरी १ को अघिल्लो साँझ काठमाडौं पुग्ने तयारीमा छन् ।

प्रवासमा क्रियाशील एक नेपाली साहित्यकार सपरिवार जनवरी १ मै सिड्नीबाट उडेर सोही साँझ नेपाल पुग्दैछ । उनी यस पटकको नेपाल बसाइ आफ्ना छोरीहरुलाई नेपाली सस्कृतिसँग गहिरो गरी घुलमिल गराउने तयारीमा छन् ।

आमसञ्चार माध्यममा आफ्नो नाम उल्लेख गर्न नचाहने ती साहित्यकारले अनलाइनखबरलाई भने, ‘नेपाल बसाइँ हाम्रा छोरीहरुलाई हामी दुवै तिरका रक्त सम्बन्धका नाता गोताहरुसँग नजिकबाट परिचित गराउन सदुपयोग गर्ने छौं ।’ उनले सामूहिक रुपमा एकैदिन अष्ट्रेलियाबाट नेपाल पुग्ने अभियानप्रति आफ्नो शुभेक्षा रहेको बताए ।

नेपाली अष्ट्रेलियन युथ एसोसियसनका पूर्वमहासचिव भिष्म भण्डारी गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको जनवरी १ मा नेपाल जाऔं भन्ने अभियानबाट उत्साहित छन् । उनी अष्ट्रेलियाबाट जनवरी १ तारिखमा नेपालमा पुग्ने टिमसँगै भिजिट नेपाल २०२० को कार्यक्रममा सामेल हुनेछन् । र, फिनल्याण्डबाट नेपाल आउने अर्को टोलीसँग नेपालका पर्यटकीय नगरहरु घुम्ने योजना छ ।

उनले भने- प्रवाशमा भएका नेपालीले पहिले राष्ट्रिय अभियानलाई सफल पार्न आफैं सहभागिता जनाउनु पर्छ । गैरआवासीय नेपाली संघ ओसियाना संयोजक होम पाण्डेले जनवरी १ मा नेपालमै पुगेर भिजिट नेपालमा सहभागी हुने टिमलाई अग्रिम शुभकामना दिँदै अन्तर्राष्ट्रिय समितिसँग आवश्यक समन्वय गराइदिने बताए ।

जनवरी ७ मा सिड्नीबाट भिजिट नेपालको सुरुवात

आगामी जनवरी ७ मा सिड्नीमा भिजिट नेपाल २०२० को मुख्य प्रवर्धनात्मक कार्यक्रम हुने न्यू साउथ वेल्सस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयले बताएको छ ।

महावाणिज्यदूत दीपक खड्काको नेतृत्वमा भव्यतापूर्वक तयारी चलिरहेको छ । अनलाइनखबरलाई जानकारी दिँदै महावाणिज्यदूत खड्काले भने-आगामी जनवरी ७ मा बिहान सिड्नीका झण्डै चालीस वटा बस्तीमा नेपाल भ्रमण गर्न जाऔं भन्दै बहुसाँस्कृतिक अष्ट्रेलियन समुदायलाई झण्डै बीस हजार निमन्त्रणापत्र वितरण गरिने छन् ।

महावाणिज्यदूत खड्काका अनुसार बिहान ११ बजे सिड्नीको मुख्य शहरभित्र नेपाली कला सँस्कृति, भेषभुषा सहितको परेड हुने छ, जसले मुख्य सिड्नीको ध्यान त्यो दिन नेपालतर्फ आकर्षित गर्ने छ । सोही साँझ न्यू साउथ वेल्सको राज्य संसदमा रात्रिभोजसहित विशेष समारोह आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा अष्ट्रेलियाका चर्चित सेलिब्रिटीहरु, ट्राभल राइटरहरु र ट्राभल एजेन्टहरु सहभागी हुनेछन् । साथै सोही दिनदेखि सिड्नीका सार्वजनिक यातायातमा नेपाल भ्रमण वर्ष २०२० का पोष्टरहरु राख्ने तयारी भैरहेको छ ।

ब्रिसबेनमा पनि विशेष कार्यक्रम

नेपाल पर्यटन बोर्डका अष्ट्रेलियास्थित प्रतिनिधिसमेत रहेका पत्रकार चिरञ्जीवी देवकोटाले अष्ट्रेलियाको सार्वजनिक यातायातमा प्रचार सामग्री राख्नु प्रभावकारी हुने बताए ।

पहिलो चरणमा सिड्नीमा र त्यसपछि सबै मुख्य शहरका सार्वजनिक यातायातका साधनमा पर्यटन वर्ष २०२० को प्रचार सामग्री राख्नेबारे नेपालको पर्यटन बोर्ड सकारात्मक रहेको उनले बताए ।

नेपाल पर्यटन बोर्डका कुइन्स्ल्याण्ड प्रतिनिधि स्वतन्त्र प्रताप शाहका अनुसार आगामी जनवरी ७ मा ब्रिसबेनमा नेपाल भ्रमण वर्ष २०२०को विशेष समारोह आयोजना हुँदैछ । उक्त दिन कुइन स्ट्रिट मलमा ब्रिसबेनका स्थानीय सांसद, नगर प्रमुखलगायत राजनीतिक नेताहरुको सहभागितामा कार्यक्रम हुनेछ ।

सिड्नीका पर्यटनदूत नेपालमा सहभागी हुने

जनवरी १ नेपालमा हुने भिजिट नेपाल २०२०को कार्यक्रममा सहभागी हुन नेपाल पर्यटन बोर्डका न्यू साउथ वेल्स प्रतिनिधि बद्री अर्याल काठमाडौं जाने भएका छन् । उनले पर्यटन मन्त्रलायको मुख्य कार्यक्रमलाई जनस्तरमा हुने ऐक्यबद्धतामा आफू पनि सामेल हुने बताए ।

स्मरण रहोस् दुई वर्षअघि नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ गरेर फर्किएका युवा खेम शर्मालाई एनआरएनले भिजिट नेपाल २०२० को लागि नेपाल तर्फको मुख्य सम्पर्क व्यक्ति तोकेको छ । उनले नै जनवरी १ मा नेपाल आउने टोलीको नेतृत्वको गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment