२४ मंसिर, पोखरा । महिला फुटबलर मनमाया लिम्बुले विराटनगरमा भएको साफ च्याम्पियनसिपसँगै सन्यास लिने तयारी गरेकी थिइन् । तर मेसो मिलेन । त्यसबेला उनी आफैंलाई भनेकी थिइ्न्, ‘अबको १ वर्षभित्र कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर सन्यास घोषणा गर्छु ।’
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा मनमाया टिममा परिन् । नेपालले फाइनलसम्म यात्रा पनि गर्यो । तर भारतसँग २–० ले पराजित भएपछि स्वर्ण पदक जित्ने सपना पुरा हुन सकेन ।
सागसँगै उनले सन्न्यासको घोषणा गरिन् । उनीसँगै सन्यास घोषणा गर्नेमा थिइन्, कप्तान निरु थापा ।
सशस्त्र प्रहरी क्लब (एपीएफ)बाट कन्ट्रयाक्टमा खेलिरहेकी मनमाया केही समयपछि त्यहाँबाट पनि बिदा लिने सोचमा छिन् । ‘अहिले राष्ट्रिय टिमबाटमात्रै सन्यास लिएकी छु,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘केही समयपछि क्लबबाट पनि बिदा हुन्छु । त्यसपछि के गर्छु थाहा छैन ।’
०००
०६३ सालदेखि फुटबल खेल्न थालेकी मनमायाले सुरुकै दिनहरुमा सोचेकी थिइन् देशका लागि खेल्ने । त्यो सपना सन् २०१४ मा आएर पूरा भयो । ‘पहिलो पटक राष्ट्रिय टिममा पर्दाको खुसी त भन्नै सक्दिनँ । राष्ट्रका लागि खेल्न पाउनु कम्ता गौरवको कुरा होइन !’ उनी भन्छिन् ।
उनले साग महिला फुटबलमा उपाधिसँगै सुखद सन्यास चाहेकी थिइन् । त्यो चाहना पूरा हुन पाएन ।
तर, आफ्नो र टिमले प्रतियोगिताभर देखाएको प्रदर्शनबाट भने सन्तुष्ट छिन् । ‘पाएको अवसरलाई सदुपयोग गर्न सकेनौं । तर अघिल्ला खेलहरुभन्दा सागमा हामीले खेलेको खेलमा धेरै सुधार देखियो’ उनले भनिन् ।
सक्दो कोशिष गर्दा पनि उपाधि चुम्न नसक्दा भने केही खिन्नता बाँकी नै रहेको उनले सुनाइन् ।
आगामी योजनाबारे सोधिएको प्रश्नमा २७ वर्षीय मनमाया भन्छिन्, ‘सन्यास लिनुभन्दा अघि र पछि पनि मेरो लगाव भनेको फुटबल नै हो । गोल्ड मेडल नपाएको पीडा मेटाउन पनि फुटबलमै लागिपर्ने छु र केही गर्नेछु ।’
तस्वीर : युनिश गुरुङ/अनलाइनखबर
प्रतिक्रिया 4