Comments Add Comment

कमजोर नेतृत्वका कारण फुट्यो ‘कार्टुन क्रु’

के सरोज र आश्माले एकलौटी ढक्कले ग्रुप चलाएका हुन् ?

डान्स ग्रुप ‘कार्टुन क्रु’ स्थापना भएको १ दशक भइसक्यो । यो समुहको नाम, परिकल्पना र स्थापना सविन कार्की ‘विष्ट’ले गरेका थिए । यो समुहको लिडर थिए, सविन । समुहमा ७ जना थिए । जसमा सविन, सरोज अधिकारी, आश्मा विश्वकर्मा, विकाश राई, राम गुरुङ, लाक्पा लामा र सुविन चौहान थिए ।

त्यो बेला कार्टुन क्रुले प्रायः कभर भिडियोहरु गर्दै आएको थियो । त्यसको निर्देशन सविनले गर्थे । भिडियो खिच्ने र सम्पादनको जिम्मा पनि उनी आफैले लिन्थे । करियोग्राफीमा उनलाई  सरोजले सघाउँथे ।
कभर भिडियो निर्माण गर्दै आएको यो ग्रुप चाडै नै दर्शकको नजरमा बस्यो । सोही समयमा उनीहरुले तयार गरेको ‘फन्टास्टिक’ बोलको गीतको कभर भिडियो बम्पर हिट भयो । यसले उनीहरुको करिअरमा थप उचाई दियो ।

उक्त भिडियोको सफलतापछि यो समुहले चलचित्र ‘पूरानो डुंगा’को गीत ‘नीर जहिल्यै रिसाउने’को कभर भिडियोको तयारी गरिरहेको थियो । सविनले नै चलचित्र निर्माण कम्पनी सिनेमा आर्टसँग सहमति गरेरर लोकेशनको लागि हुपी ल्याण्ड पक्का गरिदिएका थिए । तर, परिक्षा परेकाले सविन उक्त भिडियोमा देखिएनन् ।

कार्टुन क्रुबाट ‘रातो र चन्द्र सूर्य’ बोलको गीतको कभर बनाउने तयारीमा थिए, सविन । सबै फाइनल जस्तै भएको थियो । सोही समय सविनलाई नराखेर सरोजले नयाँ भिडियो बनाउने भए । उक्त गीत थियो, चलचित्र ‘रोमियो’को ‘ल्याङ्ग ल्याङ्ग’ ।

सविनलाई उक्त भिडियो खिचिदिन सरोजले भनेको बताएका छन् । सविनले भनेका छन्–‘उक्त भिडियो मलाई खिचिदेउ भनेपछि म आफै छक्क परेँ । म त नाच्थेँ जस्तो लाग्थ्यो, लिडर हुँ जस्तो लाग्थ्यो । तर, उनीहरुले त मलाई भिडियो खिचिदिन भनेपछि अप्ठ्यारो लाग्यो र मैले यो ग्रुप छाडेँ ।’

सविन समुहबाट निस्किएपछि ६ जना बाँकी रहे । सरोजको नेतृत्वमा आश्मा, लाक्पा, राम, विकाश र सुविन समुहमा रहे । उनीहरुले निरन्तर भिडियोमा काम गर्दै आएका पनि थिए । कार्टुन क्रुबाट उनीहरुले आफूलाई डान्स क्रुको रुपमा स्थापित गर्दै गए । अफिसियल भिडियोमा पनि उनीहरु फिचर हुन थाले । डान्सिङ समुहको रुपमा उनीहरुले आफ्नो गज्जब क्रेज बनाए ।

तर, समुह स्थापित हुँदै गर्दा विकास टिमबाट निस्किए । उनले पनि पढाईको बहाना बनाएर टिमबाट बाहिरिएका थिए । विकाशको ठाउँमा साजन चौहान आए ।

क्रुले राम्रै क्रेज बनाइरहेको थियो । उनीहरुको हरेक भिडियोले युटुबमा लाखौ भ्यूज कमाइरहेको थियो । तर, सोही समयमा आश्मा र सरोजले क्रुबाट बाहिर रहेर काम गर्न सुरु गर्न थाले ।

उक्त कुराबाट अन्य सदस्यहरु सन्तुष्ट भएनन् । उनीहरुले आफूहरु अहिलेसम्म ब्याकग्राउण्ड डान्सरमा नै सिमित भएको बुझे । र, कार्टुन क्रुबाट विदा लिने सोचे ।

सबैभन्दा पहिला क्रुका लाक्पा डी लामाले समुह छाडे । उनले आफ्नो युट्युब च्यानलबाट एक भिडियो पोष्ट गर्दै क्रु छाडेको जानकारी दिए । त्यहाँ उनले आफूलाई आफूलाई समुहको कुनै साथ नभएको र आफू ब्याकग्राउन्ड डान्सरको रुपमा सिमित रहेकाले गु्रप छाडेको उल्लेख गरेका छन् ।

उक्त भिडियो सार्वजनिक भएपछि सरोज र आश्माले भिडियो बनाएर कार्टुन क्रुको युट्युब च्यानलमा पोष्ट गरे । जहाँ उनीहरुले लाक्पा, राम, सुविन र साजनले समुह छाडेको उल्लेख गरेका छन् । सरोज र आश्माले उनीहरुलाई कोरसको रुपमा मात्र नराखेको पनि भिडियोमा बोलेका छन् । बाहिरी भिडियो गर्नु परेको कारणबारे पनि उनीहरुले बताएका छन् ।

तर, कमेन्टमा धेरैले सरोज र आश्मालाई गाली गरेका छन् । लिडरसिप राम्रो गर्न नसक्दा र स्वार्थी बन्दा समुह फुटेको धेरैले बताएका छन् । आफूमात्र भिडियोमा अगाडि देखिनाले पनि उनीहरुले छोडेर प्रतिक्रिया दर्शकको छ ।

क्रु छोडेका ४ जनाले एउटा भिडियो तयार गरेका छन् । लाक्पाकै च्यानलबाट सार्वजनिक भएको भिडियोमा लाक्पा, राम, सुविन र साजनले सरोज र आश्माप्रति निकै रिस पोखेका छन् । युट्युब कमाइदेखि डान्स स्टुडियोबाट आएको पैसाको हिसाब आफूहरुलाई नदेखाएको उनीहरुले आरोप लगाएका छन् ।

सार्वजनिक भिडियोमा भनिएको छ–‘हामीले पैसाको हिसाब माग्यो भने अनेक बहाना बनाउथ्य । स्टुडियोबाट आएको पैसा माग्यो भने रिसेप्सनलाई सोध भन्थे । रिसेप्सनको काम त पैसा उठाउने मात्र हो नि । आखिर लिने त सरोज नै हुन् नी । उनले कहिल्यै पैसाको हिसाब देखाएनन् ।’ यत्रो डेढ वर्षसम्मको कमाई आफूले ५० हजार मात्र पाएको उनले गुनासो गरेका छन् ।

लाक्पाले बाहिरबाट क्रु जति राम्रो देखिएपनि भित्र–भित्रै खोक्रो भइसकेको बताएका छन् । उनले भनेका छन्–‘बाहिरबाट हेर्दा जती राम्रो सामिप्यता देखिन्छ त्यो छैन । भित्र भित्रै खोक्रो भइसकेको थियो । सरोज र आश्माको मात्र बोन्डिङ थियो ।’

भिडियोमा सविनको विषयमा पनि बोलेका छन् । उनीहरुले भनेका छन्, ‘सविन दाई हाम्रो समुह लिडर हुनुहुन्थ्यो । तर, उहाँलाई छोडेर अरुको विश्वास गर्नाले हामीबाट गल्ती भएको हो ।’ उनीहरुले भिडियोमा सविन र कार्टुन क्रुलाई धन्यवाद पनि भनेका छन् ।

सरोज र आश्माले बनाएको भिडियोमा क्रु छोड्दै गर्दा हरेकले पैसा पाएको उल्लेख छ । हरेक भिडियोबाट आएको पैसा बराबर बाडेको सरोज र आश्माले बताएका थिए । तर, छुट्टिएका ४ जनाले उक्त कुरा पनि गलत भएको उल्लेख गरेका छन् । सुविनले भनेका छन्, ‘भिडियोबाट आएको पैसा जम्मा गरेर नै हामीले स्टुडियो बनाएका हौँ । जुन अहिले हाम्रो रहेन ।’

उनीहरुले भिडियोमा आफूले रहरले कार्टुन क्रु नछोडेको बताएका छन् । भनेका छन्–‘हामीले सरोज र आश्माको कारण बाध्य भएर क्रु छाडेका हौं ।’ भिडियोमा धेरै दर्शकले राम्रो भविष्यको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment