
२७, मंसिर, काठमाडौं । अब मोवाइलबाटै ट्याक्सी खोज्न सकिने भएको छ । काठमाडौंमा ‘फील सेफ राइड अन टाइम’ स्लोगनकासाथ ट्याक्सीमाण्डु एप्स सञ्चालनमा आएसँगै चाहिएको बेला मोवाइलबाटै ट्याक्सी बोलाउन सकिने भएको हो ।
प्रविधिको प्रयोग गरी सहज रुपमा ट्याक्सी चालक र यात्रुबीच समन्वय गराउने उद्देश्यले यो एप सञ्चालनमा ल्याइएको हो ।
एप सञ्चालनमा आएपछि ट्याक्सी चालक ग्राहक खोज्दै भौतारिनु पर्ने र यात्रुलाई ट्याक्सी खोज्न सडकमा भौतारिनु पर्ने समस्याबाट मुक्त हुने विश्वास गरिएको छ ।
एपको माध्यमबाट यात्रुले आफू भएको ठाउँबाटै ट्याक्सी बुक गर्न सक्नेछन् । यसका लागि ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टा छुट्टै एप संचालनमा ल्याइएको छ ।
चालकले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नु पर्नेछ ।
त्यस्तै भिजिट नेपाल २०२० का लागि पनि ट्याक्सीमाण्डु एपले पूर्णरुपमा सहयोग पुग्ने संचालकले बताएका छन् ।
उपत्यका आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले ट्याक्सीको प्रयोग गर्ने भएकाले त्यसका लागि ट्याक्सीमाण्डु भरपर्दो माध्यम बन्ने एपका सञ्चालक स्वीटी खत्रीले जानकारी दिए ।
चालक र यात्रु दुवैको सुरक्षा
यो एप सुरक्षाका दृष्टिकोणलेे एकदमै संवेदनशील रहेको छ । यो एपको प्रयोगबाट ट्याक्सीमा हुन सक्ने सम्भावित अपराधको घटनामा नियन्त्रण गर्न सकिने सञ्चालक स्वीटीले बताइन् ।
उनले भनिन्, ‘यस एपमा दर्ता हुने ट्याक्सी चालक र यात्रुहरुको नागरिकता, सवारी चालक अनुमतिपत्र तथा फोन नम्बरसहितको सम्पूर्ण अभिलेख राखिन्छ । यसले चालक वा यात्रुहरुबाट हुनसक्ने गैर कृयाकलापको अनुगमन गर्न र नियन्त्रणमा लिन प्रशासनलाईसमेत सहज हुन्छ ।’
ट्याक्सी चालक र यात्रुलाई विशेष सुविधा
ट्याक्सीमाण्डु एपले आफ्नो औपचारिक घोषणासँगै हृयाम्स अस्पताल र इसेवाबीच सम्झौता पनि गरेको छ । जसले ट्याक्सी चालकलाई विभिन्न सेवा उपलब्ध गराउने ट्याक्सीमाण्डु एपका प्रबन्ध निर्देशक अर्जुन केसीले जानकारी दिए ।
उनले भने, ‘हामीले चालकको सेवा सुविधाका लागि हृयाम्स अस्पताल र इसेवासँग पनि सम्झौता गरेका छौं । सम्झौताअनुसार ट्याक्सीमाण्डुमा दर्ता हुने चालकहरुले हृयाम्स अस्पतालमा उपचारमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट पाउनेछन् ।’ उनले अगाडि थपे, ‘त्यस्तै यो एपको प्रयोग गर्ने चालक र यात्रुले इसेवाबाट पे गर्दा ५ प्रतिशत क्यासब्याक पाउनेछन् ।’
त्यस्तै एक महिनामा धेरै यात्रु बोक्ने ट्याक्सीलाई पेट्रोल हालिदिने र वर्षमा धेरै यात्रु बोक्ने ट्याक्सीको कर तिरिदिने प्रबन्ध निर्देशक केसीले बताए ।
प्रतिक्रिया 4