Comments Add Comment

काठमाडौं महानगरले घोषणा गर्‍यो ‘सडक मानव मुक्त’ अभियान

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक मानवमुक्त सहर अभियान घोषणा गरेको छ । काठमाडौंलाई सडक मानव मुक्त बनाउनका लागि भन्दै ३ महिने अभियान घोषणा गरिएको हो ।

महानगरको २५ औं वार्षिकोत्सवका अवसरमा आइतबार बसन्तपुरमा आयोजित समारोहमा महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले अभियानको घोषणा गरे । यो अभियान ३ महिनासम्म चल्नेछ ।

बेसहराहरुलाई आश्रय दिदै आएको मानव सेवा आश्रमको सहयोगमा अभियान सुरु गरिएको हो । ३ महिनासम्म अभियान चलाइने र त्यसपछि महानगरलाई सडक मानवमुक्त महानगर घोषणा गरिने मेयर शाक्यले बताए ।

सडक मानवमुक्त बनाउन सबै पक्षसँग सहयोगका लागि उनले अपिल समेत गरे । ‘सडकमा कोहि बेसहरा देख्नु भयो भने तत्कालै सम्पर्क गर्नुहोस, यो अभियानमा सबैको सहयोग आवश्यक छ’ उनले भने, ‘सञ्चारकर्मीको त यसमा झन ठूलो भूमिका छ, सहयोग गर्नुहुन म आग्रह गर्न चाहन्छु ।’

यसअघि भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त सहर घोषणा गरिएको थियो । आइतबारदेखि नै काठमाडौं महानगरपालिका २४ वर्ष पूरा गरेर २५ औं वर्षमा प्रवेश गरेको छ । २०५२ साल मंसिर २९ गते तत्कालिन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । महानगरपालिका २५ वर्ष पुगेको अवसरमा आइतबार विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाइएको छ ।

२५ वर्ष प्रवेश गरेको अवसरमा आइतबार वसन्तपुरमा आयोजना गरिएको भव्य समारोहकाबीच विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरियो । समारोहमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गरिएको छ ।

त्यसैगरी मखन टोल र किलागल टोलमा विराजमान परम्परागत दुई जीवित देवी कुमारी लगायत इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसी, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । गत वर्ष जस्तै यसपटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गरिएको छ ।

त्यस्तै महानगर दिवसका अवसरमा आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना गरेर उत्कृष्टलाई महानगरले पुरस्कृत समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment