Comments Add Comment

आजका पत्रपत्रिका : चीनका लागि नेपाली राजदूत पौड्यालसँग सीआईबीले लियो बयान

३० मंसिर, काठमाडौं । सिन्धुपाल्चोक बस दुर्घटना र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एक वर्षपछि सुरु स्थायी समिति बैठक आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक कांग्रेसभित्रको किचलो, उत्तर कोरियालीले नेपालमा गरेको लगानी, नेपाल–भारत सीमा नाकामा सुरक्षाकर्मीले गर्ने ज्यादतिलगायत विषयबारे पनि पत्रपत्रिकाहरूले समाचार बनाएका छन् ।

सिन्धुपाल्चोकमा आइतबार १५ जनाको ज्यान जानेगरी भएको दुर्घटनालाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, चालकको जबर्जस्तीले दुर्घटना भएको हो । उनले नौलो सडकमा ओभरटेक गर्दै तीव्र गतिमा बस हाँकेका थिए ।

आइतबारदेखि सुरु नेकपा स्थायी समिति बैठकको चर्चा पनि कान्तिपुरले गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले एकीकरणमा भएको ढिलाइका कारण पार्टीमा गुटहरू झाँगिँदै गएको र यसको असर सरकारमा समेत देखिएको निष्कर्ष निकालेका छन् ।

अध्यक्षद्वयलले तयार पारेको प्रतिवेदनमा एकीकरण प्रक्रियामा भएको ढिलाइले उत्पन्न अन्योल, आशंका र निराशा तथा सरकारको कामकारबाहीमा प्रभावकारिताका लागि पार्टीले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाको कमीले उत्पन्न समस्यालाई पार्टी नेतृत्वले उचित समीक्षा, आत्मालोचना र जिम्मेवारी लिनुपर्ने उल्लेख छ ।

कान्तिपुरकै भित्री पृष्ठमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बयान लिएको खबर पनि छापिएको छ । बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले पौड्यालसँग बयान लिएको हो ।

कान्तिपुरका अनुसार करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णयमा संलग्न रहेको आरोपमा व्युरोले पौड्यालसँग इमेलमार्फत बयान लिएको हो ।

पूर्वमुख्य सचिवसमेत रहेका पौड्याललाई व्युरोको ३ नम्बर पिलरले मंसिर १५ गते इमेलमार्फत जग्गा हिनामिना प्रकरणमा तपाईंको भूमिका के थियो ? सरकारी जग्गामा मोही कायम नहुने कानून हुँदाहुँदै किन मोही कायम हुने गरी निर्णय गरियो ? त्यसबेला के के भएका थिए ? जस्ता आधा दर्जन प्रश्न गरेको थियो । व्युरोले पौडेलको निजी इमले ठेगानामा प्रश्न पठाएर जानकारी मागेको थियो ।

पत्र पठाएको १२ दिनपछि मंसिर २७ गते पौड्यालले व्युरोलाई इमेलमार्फत नै करिब २ पाना लामो जवाफ दिँदै जग्गा हिनामिनामा आफू संलल्ग्न नभएको दाबी गरेको कान्तिपुर समाचारमा उल्लेख छ ।

पौड्यालले बयानमा मुख्य सचिवको भूमिका कार्यकारी नभएको र तत्कालीन सचिवबाट टिप्पणी उठेर आएको फाइल आफूले सदरमात्र गरेको जिकिर गरेका छन् । पौड्यालले तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीले टिप्पणी उठाएको पत्र मन्त्रिपरिषद्मा पेस गर्नका लागि मात्रै आफूले सहजीकरण गरेको बताएका छन् ।

अन्नपूर्णले कांग्रेसभित्रको किचलोबारे समाचार बनाएको छ । समाचार अनुसार तीन दिनदेखि लगातार वार्ता भए पनि सहमति नजुटेपछि सभापति शेरबहादुर देउवा बहुमतबाटै अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment