Comments Add Comment

राष्ट्रिय सम्मानका साथ केशव भट्टराईको अन्त्येष्टि गरिने

३० मंसिर, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।

भट्टराईको पार्थिव शरीरलाई सोमबार दिउँसो श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिने र अपरान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी भइरहेको सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

आइतबार राति ओम अस्पताल ल्याउँदा ल्याउँदै अध्यक्ष भट्टराईको निधन भएको थियो । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पतालतर्फ लगिँदै थियो, बाटैमा उनको निधन भयो ।

निर्माता तथा कलाकारसमेत रहेका भट्टराईले चलचित्र क्षेत्रमा उदाहरणीय योगदान गरेकाले उनलाई राष्ट्रिय सम्मान दिन लागिएको बास्कोटाले अनलाइनखबरलाई बताए ।

स्वर्गीय भट्टराईलाई राष्ट्रिय सम्मान दिइयोस् भन्ने बोर्डको प्रस्ताव मन्त्रालयबाट स्वीकृत भइसकेको छ । सो प्रस्तावलाई अपरान्ह बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुनेछ । तर, त्यसअघि नै प्रधानमन्त्री र मुख्यसचिवसँग सल्लाह गरेर भट्टराईलाई राष्ट्रिय सम्मान दिइने सरकारको तयारी छ ।

यो पनि पढ्नुहोस चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराईले केही राम्रा कामको सुरुवात गरेका थिए । उनी भट्टराई तीनको दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायत छन् । भट्टराईले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

भट्टराईको निधनले चलचित्र क्षेत्रलाई ठूलो क्षति भएको बताउँदै मन्त्री गोकुल बास्कोटाले भने, ‘भट्टराईले चलचित्र क्षेत्रमा देशलाई ठूलो योगदान दिएका छन् । यस क्षेत्रका नक्षत्रको अन्त्य भयो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशले प्रतिभावान कलाकार गुमाएको बचाउँदै ट्विटबाट समवेदना व्यक्त गरेका छन् ।

‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं’ प्रधानमन्त्रीले भनेका छन्, ‘उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment