Comments Add Comment

होटलमा वेश्यावृति गराएको आरोपमा तीन जना पक्राउ

३० मंसिर, चितवन । चितवनको एक होटलको अण्डरग्राउण्ड कोठामा युवतीहरुलाई जर्वजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा चितवन प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२९ जुगेडीस्थित खोटाङ्ग सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक ५० वर्षीय जंगबहादुर क्षेत्री, ३९ वर्षीया निर्मला थापा क्षेत्री र सुनसरी धरान–८ लेटाङकी २४ वर्षीया रोशिका राई रहेका छन् । उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

काठमाण्डौंबाट हराएका भनिएका १४ वर्षीया र २२ वर्षीया युवतीहरुलाई होटलमा ल्याएर जर्वजस्ती यौन कार्यमा लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी रोशिकाले ती युवतीहरुलाई काठमाडौंबाट फकाएर जुगेडीसम्म ल्याएकी थिइन् । काठमाण्डौंमा डेरा गरी बस्ने उनीहरु गत कात्तिक २८ गतेदेखि हराएका थिए । उनीहरुलाई चितवन ल्याएको आंशकामा प्रहरीले खोजी कार्य तीव्र पारेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

‘उनीहरुको मोबाइल फोनको लोकेसन खोज्दै जाँदा जुगेडीमा रहेको एउटा होटलमा बसेको फेला प र्यो प्रहरी प्रमुख एसपी मल्लले भने ‘होटलबाट पनि उम्काएर उनीहरुलाई अन्यत्र लैजान खोजेका बेलामा प्रहरीले उनीहरुको उद्दार ग र्यो ।’ जुगेडीको सो होटलमा यौन गतिविधि हुने भूमिगत कोठा पनि रहेको मल्लले बताए । एसपी मल्लका अनुसार पक्राउ परेका क्षेत्री चेलीबेटी सप्लाई गर्ने गिरोहको नामुद नाइके रहेको पाइएको छ । ‘उनीहरुलाई एक ढंगले वन्धक नै बनाएर वेश्यावृतीमा लगाएको पाइयो’ एसपी मल्लले भने ।

होटलमा गोप्य अण्डरग्राउण्ड कोठा बनाइ भुइँतला जाने बाटो बनाएको र सो बाटोलाई टायलले छोपी सो माथि अन्य सामान राखेर सामान्य भुइँजस्तो देखाएको पाइएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा किटानी जाहेरी परेको छ । आफन्तकै जाहेरीलाई प्रमाणित गर्ने गरी पीडितहरुले बयान दिएकाले निज तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कानूनमा मानिसलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउनेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद सजाय र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment