Comments Add Comment

‘आमा’को ट्रेलरले दर्शकलाई रुवायो

चलचित्र ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनालले यसपछि जती पनि चलचित्र निर्देशन गरे, ती चलचित्रमा उनले व्यवसायिकता बढी खोजे । यसैले, उनको चलचित्रमा कथाको अभाव देखियो । दीपेन्द्रबाट दर्शकले गहन चलचित्रको अपेक्षा गरिरहेका छन् । बिहिबार सार्वजनिक भएको चलचित्र ‘आमा’को ट्रेलरले दीपेन्द्रबाट गहन कथाको अपेक्षा गर्ने दर्शकलाई खुशी बनाएको छ ।

एउटा गहन नाममा चलचित्र बनाएका दीपेन्द्रले यसपटक आमाको माया, वेदना र सहनशिलतालाई पर्दामा उतारेका छन् । सार्वजनिक भएको एक दिनमा ३ लाख भ्यूज पाएको चलचित्रको यो ट्रेलर युटुब ट्रेन्डिङमा पकड जमाइसकेको छ ।

भ्यूज र ट्रेन्डिङ भन्दा पनि यसले दर्शकबाट पाएको प्रतिक्रिया उत्साहजनक छ । चलचित्रको ट्रेलर दर्शकलाई हलसम्म तान्ने सवैभन्दा ठूलो हतियार हो । ‘आमा’लाई स्टार भन्दा पनि कथाले चलाउन आवश्यक छ । सायद, यसपटक दीपेन्द्रको कथा भन्ने शैलीले काम गर्ने अपेक्षा गर्न सकिन्छ ।

यो चलचित्रको छायांकनको समयमा पानी कुरेर यसको टिमले दिनभर समेत छायांकन नगरेका उदाहरण धेरै छन् । पानीको आवश्यकता किन थियो भनेर ट्रेलरमा केही झलक देखाउन खोजिएको छ ।

छोराको लागि मरिहत्ते गर्ने बाबु–आमाका लागि छोरीले समेत कस्तो भूमिका निर्वाहा गर्न सक्छन् भन्ने भाव समेत ट्रेलरमा झल्किएको छ । चलचित्रको ट्रेलरमा आएका प्रतिक्रिया हेर्दा, धेरै दर्शकलाई यसले भावुक बनाएको छ । चलचित्रको ट्रेलर हेरेरै रोएका प्रतिक्रियादेखि आफ्नी आमालाई लामो समयपछि फोन गरेको प्रतिक्रिया युटुबमा देख्न सकिन्छ । एउटा ट्रेलरले यो खालको शक्ति समेत बोल्न सक्छ ।

शर्मिला पाण्डे निर्मित यो चलचित्रको ट्रेलरमा मिथिला शर्माको प्रशंसा अझै बढी गर्न सकिन्छ । किनकी, मिथिला शर्माका हरेक संवाद र अभिनयले दर्शकको मन कटक्क बनाएको छ ।

दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले दर्शकलाई हलसम्म कती तान्छ, यो फागुण ९ गते भन्न सकिन्छ । तर, चलचित्रको ट्रेलरले दर्शकलाई चलचित्र हेर्न आकर्षित गरेको छ भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment