Comments Add Comment

मध्यतराईमा शीतलहर : ५ दिनदेखि घाम लागेन, विद्यालय बन्द

१३ पुस, रौतहट । शीतलहरका कारण बढेको अत्यधिक चिसोका कारण मध्य तराईको रौतहटलगायतका जिल्लामा जनजीवन प्रभावित भएको छ ।

यहाँका वासिन्दाले ५ दिनदेखि घाम देख्न पाएका छैनन् । शीतलहरले आइतबार रौतहट सदरमुकाम गौरको जनजीवन नै ठप्प बनाएको छ । यहाँको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ ।

चिसोकै कारण सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । बाक्लो हुस्सु र शीतलहरले गर्दा यातायातका साधन पनि धेरै कम सञ्चालन भएको छ ।

आइतबार तापक्रम निकै घटेका कारण बजार तथा सार्वजनिकस्थलमा समेत चहलपहल घटेको छ । अत्यावश्यक काममा बाहेक मानिसहरु घर बाहिर निस्किएका छैनन् ।

रौतहटका केही स्थानीय तहले सार्वजनिक स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला दैवी प्रकोप उद्घार समितिले न्यानो कपडा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले भने ‘विभिन्न संस्थामार्फत पनि न्यानो कपडा वितरण र स्वास्थ्य शिविरको कार्यक्रम गर्दैछौं ।’

विद्यालय बन्द

चिसो बढेका कारण कतिपय स्थानीय तहले विद्यालयमा  विदा दिएका छन् । गौर, राजपुर, गरुडा र वृन्दावन नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ । निजी विद्यालयहरु पनि बन्द गरिएको छ । विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुने र काम्ने समस्या देखा परेका कारण निजी विद्यालयको संगठन प्याबसनले गौरमा सबै संस्थागत विद्यालय विदा दिन सूचना जारी गरेको प्याब्सन गौर नगर कमिटीका अध्यक्ष मुन्ना पटेलले बताए ।

चिसोका कारण बालबालिका तथा वृद्धवृद्धा बढी समस्यामा परेका छन् । चिसोले खासगरी दम, स्वासप्रश्वास,  उच्च रक्तचाप, मुटु तथा दीर्घरोगी बढी समस्यामा पर्ने चन्द्रपुर अस्पतालका डा. सुवास चौधरीले बताएका छ्न् । डा. चौधरीका अनुसार अस्पतालमा पुराना रोग भएका वृद्धवृद्धाको संख्या धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment