Comments Add Comment

पोखरामा कहाँकहाँ बन्ला साइकल लेन ?

१३ पुस, पोखरा । ललितपुर महानगरपालिकाले सडकमा रंग पोतेरै भए पनि साइकल लेन बनाउन थालिसक्यो, काठमाडौं महानगरले पनि साइकल लेन बनाउने घोषणा गर्‍यो । यसको प्रभाव पोखरा महानगरपालिकामा पनि देखिएको छ ।

पोखरामा साइकल लेन बनाउनुपर्ने माग नयाँ होइन । नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीलगायतको टोलीले ८ वर्षअघि ‘साइकल सिटी पोखरा’ संस्था खोलेरै यसको वकालत गर्दै आइरहेको छ ।

साइकल सिटीले शनिबार मात्र ‘टुर दी पोखरा’ गर्‍यो, जसमा सयौं साइकल यात्री सहभागी बने । कार्यक्रमको प्रमुख अतिथिमा थिए, पोखरा महानगरका मेयर मानबहादुर जिसी ।

पोखरा साइकल सिटी, नेपाल साइकल एसोसिएसन र महानगरबीच आइतबार ‘साइकल संवाद’ भयो । संवाद कार्यक्रममै मेयर जिसीले साइकल लेनबारे सम्भाव्यता अध्ययनका लागि ३ सदस्यीय समिति गठन गरिदिए । पोखरा साइकल सिटीका निर्वतमान अध्यक्ष प्रकाश बज्राचार्यको संयोजकत्वमा गठित समितिले केही दिनमै महानगरलाई प्रतिवेदन बुझाउने छ ।

साइकल संवाद कार्यक्रममा विश्व साइकल मञ्चका शैल श्रेष्ठले साइकल लेनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनकाअनुसार १५ प्रतिशत पोखरेली साइकल चढिरहेका छन् । ‘त्योभन्दा बढी २८ प्रतिशतले मोटरसाइकल चढ्छन् । त्यसलाई समयमै कम गर्न सकियो भने एक त वातावरण प्रदुषण पनि कम गर्न सकिन्छ,’ उनले भने ।

नेपाल साइकल सोसाइटी अध्यक्ष तथा साइकलयात्री अधिकारकर्मी रत्नराम श्रेष्ठ पोखरालाई साइकलमैत्री बनाउन उपयुक्त रहेको बताउँछन् । उनकै भनाइलाई आधार मान्ने हो भने पोखरा साइकल लेनमात्रै होइन, साइकल हाइवे बनाउन सकिन्छ ।

महानगरको कहाँ कहाँ साइकल लेन बनाउने योजना छ ?

महानगरपालिकाको ट्राफिक व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले पोखराका ‘डाउनटाउन’ क्षेत्रमा साइकलका लागि छुट्टै व्यवस्था गर्न लागिएको बताए । उनले पोखराका सडक अन्य ठाउँभन्दा फराकिला भएकाले सडक पार्किङलाई हटाएर साइकल लेन बनाउन सकिने योजना अघि सारे ।

‘अहिले पोखराको न्युरोड क्षेत्रमा दुईतर्फी पार्किङ एकतर्फी पार्किङ सुरु गरेका छौं । यसले साइकल यात्रीलाई सहज हुने अनुमान गरेका छौं,’ इन्जिनियर पौडेलले भने, ‘मुख्य समस्या भनेको लेकसाइडमा हो । त्यहाँ पनि गाडी पार्किङका लागि छुट्टै ठाउँ तोकेर साइकल यात्रीलाई सहज बनाउने प्रक्रियामा छौं ।’

मेयर जिसीले पोखरामा लेक टु लेक (तालदेखि तालसम्म) जोड्ने साइकल लेन बनाउने योजना पनि सुनाए । ‘हामीले धेरै गर्न सकेका छैनौं, तर यहाँ साइकल चढ्नेहरुलाई कोरियाको साइकल एक्स्पोमा पनि महानगरबाट पठाएका थियौं,’ उनले भने, ‘अब बन्ने महानगरको भौतिक पूर्वाधारहरु साइकल चढ्न लायक हुन् भन्ने विषयमा हामी गम्भीर छौं ।’

मेयर जिसीले विजयपुरदेखि कालिका माझठाना हुँदै मोहरिया, बेगनास ताल हुँदै विजयपुर, हल्लनचोक लेकसाइड हुँदै भदौरै रुटमा साइकल लेन बनाउनेबारे ध्यान दिएर अघि बढिरहेको जानकारी दिए ।

‘सडक मिलाएर मात्रै होइन । साइकल लेन नै बनाएर अघि बढ्नुपर्छ भन्ने विषयमा महानगरले गृहकार्य गरिहेको छ,’ उनले भने, ‘साइकल चढ् चढ् मात्रै होइन । भोलिका दिनमा साइकल सिटीका रुपमा पोखरालाई लैजान महानगर सकारात्मक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment