Comments Add Comment
खोलामा एक्साभेटरको चाबी खोसाखोस :

सिडिओले खोसेको चाबी जनप्रतिनिधिले ठेकदारलाई बुझाए

अनुमतिपत्रमा वा छुट्यो, त्यसको फाइदा ठेकेदारले लुट्यो

२८ पुस, वीरगञ्ज । बाराको पसाहा खोलामा शुक्रबार एकैसाथ दुईवटा एक्साभेटर लगाएर उत्खनन चलिरहेको थियो । जीतपुर सिमरा उपमहानगरपालिकाले खोलामा एउटा मात्रै एक्साभेटर चलाउन अनुमति दिएको जानकारी पाएका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले ना १ क ४९७७ र बा १ ग ६७९० नम्बरको एक्साभेक्टरको साँचो खोसे ।

उनले जिल्लाको प्राकृतिक स्रोत उत्खननको अनुगमन गर्ने निकाय जिल्ला समन्वय समितिमा चाबी बुझाए । तर, जिल्ला समन्वय समितिले कारबाही प्रक्रिया अगाडि नै नबढाई ठेकेदारलाई चाबी फिर्ता दियो । यो विषय बारा जिल्लामा अहिले चर्चामा छ ।

जिससले चाबी फिर्ता दिएकोमा प्रजिअ पोखरेल अचम्मित छन् । चाबी फिर्ता दिएकोबारे आफूले सोधे पनि जवाफ नपाएको पोखरेलले बताए ।

अनुमति लिएको कागज देखियो : समन्वय समिति

जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहले भने अनुमति लिएरै एक्साभेटर चलाएकाले साँचो फिर्ता दिएको बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार नै उपमहानगरपालिकाले ठेक्का लगाएको हो । ठेक्का सम्झौतामा आवश्यक परेको समयमा मेशिन प्रयोग गर्न सक्ने भनी सम्झौता गरेको छ,’ उनले भने ‘त्यसका आधारमा चाबी हामीले राख्न मिल्ने स्थिति देखिएन, सम्झौतामा अनुमति एउटाको मात्रै दिए पनि आवश्यकता भएको बेलामा अर्को पनि प्रयोग गर्न सकिन्छ भन्ने उल्लेख रहेछ ।’

आवश्यक स्रोत र साधन नभएका कारण जिल्ला समन्वय समिति कमजोर देखिएको उनको तर्क छ । ‘खोलाको अनुगमन आँखाले हेरेर मात्रै गर्न सकिन्न, प्रमाणित गर्ने आवश्यक प्राविधिक कर्मचारी र साधन स्रोत पनि छैन । यसैकारण हामी कमजोर देखिएका छौं’ सिंहले भने ।

अनुमतिपत्रमा वा छुट्यो, त्यसको फाइदा ठेकेदारले लुट्यो

पसाहा खोला आसपासका स्थानीयले खोलामा चरम दोहन भइरहेको बारे भन्दै वडा कार्यालयको ध्यानाकर्षण समेत गराएका थिए । जितपुर-सिमरा उपमहानगर वडा नं १६ का वडाध्यक्ष केदार बझगाँई पनि ठेकदारले अवैधानिक ढंगले खोला उत्खखनन गरिरहेको बताउँछन् ।

नगरपालिकाले गठन गरेको अनुगमन समितिले ठेकेदारलाई कारबाही गर्न पनि भनेको छ । नगरपालिकाले मौखिक स्पष्टिकरण सोध्ने बाहेक अरु कारबाही प्रक्रिया अगाडि बढाएको छैन ।

जीतपुर-सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाइँले प्रजिअले चाबी खोसेको जानकारी आफूले नपाएको बताए । तर, ओम सप्लायर्सले मेसिन प्रयोगका लागि अनुमति दिने कागजमा सामान्य त्रुटी हुँदाको फाइदा उठाएको बताए ।

‘एउटा मात्रै एक्साभेटर प्रयोग गर्ने अनुमति दिएका हौं, त्यो बिग्रदा अर्को प्रयोग गर्न मिल्ने हुनुपर्छ, नत्र प्रक्रियामै समय जान्छ भनेर ठेकेदारले भनेपछि विकल्पमा अर्को प्रयोग गर्न सक्नेगरी पत्र तयार पारेका थियौं’ उनले भने ‘तर पत्र तयार पार्दा ‘वा’ छुटेछ । दुईवटै प्रयोग गर्न मिल्ने गरी बनेछ । त्यो थाहा पाएपछि हामीले अर्को पत्र तयार पारेर ठेकेदार पक्षलाई दिएका हौं । तर उसले बुझ्न इन्कार गरेको छ ।’

दोस्रो पत्र नबुझेको विषयमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

नगर प्रमुख कृष्ण पौडेलले विवादित बनेको पसाहा खोलोको ठेक्काको विषयमा केही दिनमै टुंगोमा पुगिने बताए । ‘पसाहामा माथिल्लो भागमा माटो छ, तीन/चार मिटर नखनी बालुवा भेटिएको छैन भनेर ठेकेदार पक्षबाट गुनासो आएको छ ।’ पौडेलले भने ‘केही दिनमा एउटा टुंगोमा पुग्छौं ।’

बारामा दुधौरा, बालगंगा, पसाहा, धन्सार र बकैया गरी ५ ओटा नदी तथा खोलामा नदीजन्य पदार्थ ढुंगा गिट्टी बालुवाको उत्खनन् भइरहेको छ । जसमध्ये दुधौरा, बालगंगा र पसाहा खोला जीतपुरसिमरा नगरपालिकामा पर्छ ।

नगरपालिकाले छुट्टाछुट्टै वातावरणीय प्रभाव मूल्याकंन गरेर एउटा खोला झण्डै ३ करोड रुपैयाँमा ठेक्का दिएको छ ।

पसाहा खोलाबाट गिट्टी, ढुंगा, बालुवा आदी खोलाजन्य पदार्थ उत्खनन, संकलन घाटगद्दी तथा बिक्री गर्ने जिम्मा कलैया-६ स्थित ओम सप्लायर्सले पाएको छ ।

ठेकेदारले उपमहानगरपालिकासँग स्वीकृति प्राप्त सवारी साधन, मेसिन औजार प्रयोग एवं कामदार मात्र उत्खननमा प्रयोग गर्न मिल्ने सहमति गरेको छ ।

तर, ठेकेदारले तोकिएभन्दा बढी एक्साभेक्टरको प्रयोग गरेर खोलाको प्राकृतिकस्वरुप बिगार्ने गरी दोहन गरिरहेको दावी प्रशासन कार्यालयको छ ।

पसाहा खोलामा जथाभावी उत्खनन् हुँदा निमार्णाधीन निजगढ अन्तराष्ट्रिय विमानस्थलको ४ किलोमिटरको तटबन्ध समेत जोखिममा पर्छ । गतवर्षको बाढीले ३० मिटर तटबन्ध भत्काइसकेको छ । खोला आसपासका बस्ती जोखिममा छन् ।

सम्झौतामा खोला ‘च्यानलाइज’ गर्ने प्रायोजनका लागि मात्र मेसिन औजार प्रयोग गर्न पाईने उल्लेख छ । ठेकेदारले खोलामा ठूला-ठूला खाल्डा बनाएर उत्खनन गरिरहेको छ ।
सम्झौता विपरीत ठेकदारले तोकिएभन्दा बढी एक्साभेक्टरको प्रयोगमात्रै गरेको छैन । ९ फिट गहिरो खाल्डो बनाएर बालुवा निकाल्दासमेत सम्बन्धित निकाय मौन बसेको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment