Comments Add Comment

अपराध अनुसन्धानमा प्रभावकारी बन्दै सीसी क्यामेरा

१ माघ, विराटनगर । राजमार्गमा जडान गरिएका सीसी क्यामेरा अपराध अनुसन्धानका लागि प्रभावकारी बनेका छन् । गत भदौमा मोरङका विभिन्न स्थानमा जडान गरिएका सीसी क्यामेरा राजमार्गमा हुने घटनाको अनुसन्धानका लागि प्रभावकारी बनेका हुन् ।

विराटनगर महानगरपालिको सिमावर्ती क्षेत्र रानीदेखि–ढाटसम्म र पूर्व पश्चिम राजमार्गको इटहरी पूर्व बुढीखोला चोकदेखि उर्लाबारीसम्म ५० वटा सीसी क्यामेरा जडान गरिएको छ । भदौमा जडान गरिएका क्यामराको मद्धतले राजमार्गमा भएका १३ वटा सवारी दुर्घटनाका घटनामा संलग्नलाई पहिचान गरी कारबाहीको दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

उनका अनुसार मोटरसाइकल चोरी र अन्य चोरीका चार घटनामा संलग्नको पहिचान पनि सीसी क्यामेराको माध्ययबाट भएको थियो । ड्यूटीमा खटिएको प्रहरीको निगरानी सीसी क्यामेराबाट हुने उनले बताए ।

गत भदौमा मोरङ प्रहरीले सीमावर्ती क्षेत्र रानीबाट तीन जना प्रहरीलाई जिल्ला तानेर कारबाही गरेको थियो । आचरण विपरीत काम गरेको क्यामरामा रेकर्ड भएपछि उनीहरु कारबाहीमा परेका थिए ।

सीसी क्यामेराकै मद्दतमा भदौ पहिलो साता विराटनगरमा भएको श्रृंखलावद्ध चोरीमा संलग्न तीन भारतीयसहित सातजना भारतीय नम्बर प्लेटको जीपसहित गत भदौ १२ गते पक्राउ परेका थिए ।

राजमार्गमा हुने धेरै जसो ‘हिट एण्ड रन’ प्रकृतिका दुर्घटनामा संलग्नहरुको पहिचान गर्न क्यामेराले सहज भएको उनले बताए ।

६० किलोमिटर फाइबर

१ नम्बर प्रदेश सरकारको एक करोड १४ लाख लागतमा गत भदौमा राजमार्गको मोरङ खण्डमा ६० किलोमिटर फाइबर तार राखेर ५० वटा क्यामेरा राखिएको थियो ।

मोरङ प्रहरीले विराटनगर महानगरपालिको सिमावर्ती क्षेत्र रानीदेखि–ढाट चोकसम्म ३२ वटा क्यामेरा जडान गरेको छ । जसको निगरानी जिल्ला प्रहरी कार्यालयबाट हुन्छ ।

त्यस्तै पूर्व पश्चिम राजमार्गको इटहरी पूर्व बुढीखोला चोकदेखि भाउन्ने चोकसम्म १३ वटा क्यामेरा छन् । सो खण्डको निगरानी इलाका प्रहरी कार्यालय बेलबारीबाट हुन्छ । इलाका प्रहरी कार्यालयबाट निगरानी हुनेगरी पथरी बजारदेखि उर्लाबारी बजारसम्म १३ वटा सीसी क्यामेरा जडान  गरिएको अधिकारीले बताए ।

सीसी क्यामेरा जडान गर्दा ६० किलोमिटर क्षेत्रमा ‘६ कोर’ का आधुनिक फाइबर बिछ्याइएको छ । ती मध्ये सीसी क्यामेराकालागि ‘२ कोर’ प्रयोग भएको छ । बाँकी चार कोरमा ‘फेस डिटेक्सन क्यामेरा’, राडर गन र ट्राफिक लाइट जडान गर्न अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment