Comments Add Comment

ओमानमा पनि सुरु भयो नेपाल भ्रमण वर्ष

ओमान । ओमानमा पनि नेपाल भ्रमण वर्षको सुरुआत गरिएको छ । राजधानी मस्कटस्थित नेपाली राजदूतावासले ओमानको इस्ति भिलेजमा एक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरेको हो ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै ओमानस्थिन नेपाली दूतावासले पनि विविध कार्यक्रम गरी यसलाई सफल बनाउने तयारीसहित शुभारम्भ गरेको हो ।

कार्यक्रम राजधानीभन्दा टाढा गरिएको थियो । ओमानी सभ्यताको पहिचान दिने यो प्राचीन बस्तीले कार्यक्रमका सहभागीहरूलाई ओमानको इतिहाससँग साक्षात्कार हुने मौका प्रदान गरेको दूतावासले जनाएको छ ।

करिब एक हजार जनाको बसोबास रहेको उक्त बस्तीमा कार्यक्रमले ओमानी जनतासँग नजिकको सम्बन्ध स्थापित गर्दै पर्यटन प्रबर्द्धनमा लक्षित समूहसँग नजिक हुने वातारणको सिर्जना गरेको दूतावासको दाबी छ ।

कार्यक्रममा राजदूत शर्मिला पराजुली ढकालले नेपाली पर्यटनका विविध आयामहरूबारे जानकारी गराएकी थिइन् । उनले नेपाली कला, संस्कृति तथा प्राकृतिक सौन्दर्यको अलावा नेपाल किन घुम्ने भन्ने कुरामा विशेष जोड दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि शेख खलिफा अलि अल हार्थीज्यूले नेपाल आफूलाई धेरै मन पर्ने बताउँदै नेपाली दूतावासको निमन्त्रणा स्वीकार गरी नेपाल सरकारले सुरू गरेको कार्यलाई साथ दिन र ओमानी पर्यटकहरूलाई नेपाल भ्रमणमा जान प्रेरित गर्न सहभागी भएको बताए ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेकी पहिलो ओमानी महिला नदिरा अल हार्थीले आफूले नेपाल भ्रमण तथा सगरमाथा आरोहण गर्दाको रोमाञ्चकारी अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा नेपाली गीत गाउने पहिलो अरबिक गायक हाइथम मोहम्मद रफिले नेपाली कला संस्कृतिबारे आफ्नो भनाइ राख्दै एक नेपाली तथा एक अरबिक गीत गाएका थिए ।

ओमानका लागि नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त संगीत तथा संस्कृतितर्फ अरबिक गायक हाइतथम मोहम्मद रफि, साहसिक पर्यटनतर्फ नादिरा अल-हार्थी र सामाजिक अभियन्ता तथा प्राज्ञिक व्यक्तित्व डा. चिथ्रा नारायणलाई राजदूतद ढकालले नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गरिन् ।

विशिष्ट नेपाली खानाका परिकारहरू (सेलरोटी, मःम, ढिक्री, भक्का, दालको फुरौला, गुन्द्रुकको अचार, चुकाउनीलगायत) प्रदर्शन गरिएको कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभगिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment