Comments Add Comment

उपाधि होडमा आर्मी अघिअघि, पछ्याउँदै मछिन्द्र र मनाङ

७ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सातौं चरणमा अहिलेसम्मकै धेरै २१ गोल भएको छ । यस चरणमा एउटा खेल अझै गोलरहित बराबरीमा सकिएको थियो । पाँच खेलमा स्पष्ट जित हारको नतिजा आएको थियो ।

त्रिभुवन आर्मी पाँचौं जित हात पार्दै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सफल भएको छ । मछिन्द्र क्लबको अपराजित यात्रामा यसै चरण ब्रेक लाग्यो । यस्तै मनाङ मर्स्याङ्दी क्लब र थ्रि स्टारले बराबरी खेले ।

छैटौं हारपछि सरस्वति युथ क्लबलाई रेलिगेसनको दबाव बढेको छ ।

सातौं चरणको खेलपछि विभागीय टोली आर्मी ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । अर्को रोमाञ्चक के छ भने दोस्रो देखि छैटौं स्थानसम्म रहेका ५ क्लबबीच जम्मा २ अंकको मात्र फरक छ । मछिन्द्र र मनाङको समान १३ अंक रहँदा एनआरटी थ्रि स्टार नेपाल पुलिसको समान ११ अंक छ ।

यस्तै, ललितपुरको फ्रेण्ड्सले लगातार दोस्रो जित हात पार्ने क्रममा सरस्वतीलाई ४–१ ले हरायो र ८ अंक जोड्न सफल भयो ।

सातौं चरणको पहिलो खेलमै शीर्ष स्थानको मछिन्द्रको अपराजित यात्रा ब्रेक लगाउँदै हिमालयन शेर्पाले पहिलो जित हात पार्‍यो । मछिन्द्रको उपाधि यात्रामा यसले धक्का पुग्यो । शेर्पालाई जितेको भए मछिन्द्र शीर्ष स्थानमै रहने थियो तर हारपछि आर्मीसँग गोलअन्तरमा पछि पर्‍यो ।

त्यसपछि नेपाल पुलिसले जावलाखेललाई हराउँदै तेस्रो जित हात पार्‍यो । यही दिन चर्चित दुई क्लब मनाङ र थ्री स्टारले दशरथ रंगशालमा २–२ को बराबरी खेल्दै अंक बाँडे । यसले दुवैको लागि घाटा भए पनि आर्मीलाई भने फाइदा पुग्यो ।

तेस्रो दिन कूल १० गोल हुँदा दुवै खेलमा ५–५ गोल भयो । एनआरटीले एपीएफमाथी ३–२ को रोमाञ्चक जित हात पार्दा फ्रेण्डस्सले सरस्वतीमाथि ४–१ को शानदार जितसहित अंकतालिकामा फड्को मार्‍यो । लिगको मध्यतालिकामा रहेका संकटा र ब्रिगेडले गोलरहित बराबरी खेल्यो । अन्तिम खेलमा आर्मीले च्यासललाई ३–० ले सहजै हराउँदै सिजनको पाँचौं जित हात पार्‍यो र शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनायो ।

च्यासलका सन्तोष साहुखल र एपीएफका आशिष लामा ५ गोलसहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । दुवैले दुई पटक २–२ गोल गरेका थिए । यस्तै उनीहरूलाई पछ्याउँदै नेपाल पुलिसका सुमन लामा र आर्मीका नवयुग श्रेष्ठले ४–४ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment