
७ माघ, पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कुटपिट गरेका हुन् । गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले हातपात गरेका थिए ।
एन्फा कास्कीका अध्यक्ष गुरुङकाअनुसार मनाङबाट आएको टिमको खेल भोलिबाट छ । अघिल्लो दिन मंगलबारबाट मात्र होटलमा राख्ने व्यवस्था मिलाइएको थियो । ‘उहाँको टिमलाई ५/६ दिन अगाडिको भत्ता दिनुपर्यो भनेर विवाद गर्नु आउनुभयो तर हामी नियमअनुसार बाहिर जानसक्ने भएन । त्यसो भन्दा ममाथि हातपात भएको हो’ गुरुङले भने । प्रमुख अतिथि आउनै लागेको र कार्यक्रम भाँडिने भएकाले आफू संयमित भएको उनले सुनाए ।
प्रदेशसभा सदस्य मनाङ्गेले पनि झपड हानेको स्वीकार गरे । तर व्यवस्थापनप्रति असन्तुष्टि जनाए । सहभागी टिमलाई खबर नै नगरी अन्तिम समयमा प्रतियोगिताको मिति सारेको, मनाङबाट आएको टिमलाई बस्ने व्यवस्था समेत नमिलाएको भन्दै उनले भने, ‘८/९ घन्टा हिँडेर आएको खेलाडीहरुसँग जोक गर्ने ?’
एन्फा मनाङका अध्यक्ष निरज गुरुङले पनि प्रतियोगिताको व्यवस्थापन राम्रो नभएको गुनासो गरे ।
प्रदेश सरकारको आर्थिक सहयोगमा मुख्यमन्त्री कप प्रतियोगिता लेखनाथको भण्डारढिकमा सुरु भएको छ । तर सहभागी टिमलाई बस्ने खाने तथा अभ्यास गर्ने उचित व्यवस्था नै नगरिएको एन्फा मनाङका अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतिक्रिया 4