Comments Add Comment

प्रदेश राजधानी बुटवलबाट सार्न नखोजौं : कांग्रेस नेता खाँण

१० माघ, बुटवल । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र नसार्न आग्रह गरेका छन् । बुटवललाई लहडका भरमा अस्थायी राजधानी नतोकिएको भन्दै उहाँबाट सार्ने प्रयत्न भए असहज परिणाम आउने चेतावनी दिए ।

‘हुन त यो प्रदेशसभाको अधिकार क्षेत्रको कुरा हो, तर दलको निर्णयका आधारमा हुने भएकाले प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रदेश सांसदहरुलाई आग्रह गर्छु, अहिलेको राजधानी बदल्न नखोजौं’ रुपन्देहीको मणिग्राममा दोस्रो औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै खाँणले भने ।

उनले बुटवलबाट राजधानी सार्न खोजिए त्यसले सहज परिणाम नल्याउने पनि बताए । अन्तर्राष्ट्रिय पहिचान बोकेको लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल, यातायातको सुगमता आदि पूर्वाधारका आधारमा बुटवल नै प्रदेश राजधानीका लागि उपयुक्त भएको खाँणले बताए ।

अन्य प्रदेशहरुले स्थायी राजधानी पाइसकेकाले अब प्रदेश ५ ले पनि ढिला नगरी बुटवललाई स्थायी राजधानी तोक्नुपर्ने उनको भनाइ छ । ‘अब जनतालाई अल्मल्याउने काम गर्न हुंदैन’–खाँणले भने–‘ यसले जनता, प्रदेश र देशलाई नै हित गर्दैन ।’

भूगोलका आधारमा मध्य भागमा नै राजधानी हुनुपर्छ भन्ने मान्यता उचित नभएको र अन्य प्रदेशको पनि मध्य भागमा राजधानी नभएकाले प्रदेश ५ का हकमा पनि बुटवलबाट दायांबाया नगर्न खाँणले आग्रह गरे ।

अर्को प्रसंगमा खाँणले सम्पत्तिको हक, गोपनीयताको हक, मानवअधिकारलगायत जनताका मौलिक हक कुण्ठित गर्ने खालका विधेयकहरु ल्याएर सरकार निरंकुश बन्न खोजेको आरोप लगाए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा क्षेत्र लगानीका लागि भर्जिन ल्याण्ड रहेको उल्लेख गर्दै लगानीकर्तालाई रोजगारी र लगानीका आधारमा कर छुट लगायत सुविधा दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment