Comments Add Comment

क्रिकेट रंगशालामा धनधान्याचल महोत्सव सुरु, ५० करोड उठाउने लक्ष्य

१९, माघ, चितवन । ५० करोड रुपैयाँ रकम उठाउने लक्ष्यसहित चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा धनधान्याचल महायज्ञ सुरु भएको छ ।

माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माण परिसरमा नै वृहत धनधान्याचल महोत्सवको मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित २१ विधाका २१ जना ख्याती प्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गरेका थिए । उद्घाटनअघि भरतपुर महानगरपालिकाको वडा नं. १५ र १६ को गाविसचोकबाट झाँकीसहितको वृहत शोभायात्रा निकालिएको थियो ।

जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको रंगशालालाई थप आर्थिक सहयोग जुटाउन र क्रिकेट रंगशाला निर्माणमा सबैलाई अपनत्व हुने गरी माहोल बनाउन महोत्सव आयोजना गरिएको हो । पण्डित दीनबन्धु पोखरेलबाट वाचन हुने श्रीमद्भागवत माहापुराणमा भजन कीर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ ।

प्रमुख बाचक दिनबन्धु पोखरेलले भागवत निशुल्क बाचन गर्ने यसअघि नै घोषणा गरिसकेका छन् । पोखरेलले आफूले समेत रंगशालाका लागि केही आर्थिक सहयोग गर्ने जनाएका छन् ।

महोत्सवलाई सफल पार्न एक हजार एक सय ११ सदस्यीय मूल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न समिति र २८३ सदस्यीय सचिवालय गठन गरी गरिएको छ ।

चितवनका ७ र नवलपुरको एक स्थानीय तहका प्रमुखहरुको नेतृत्वमा स्थानीय तह स्तरीय समिति, हरेक वडामा वडाध्यक्षको नेृतृत्वमा वडास्तरीय समिति, टोल विकास संस्थाका अध्यक्षहरुको नेतृत्वमा सहयोग समिति गठन गरी हरेक घर र हरेक ब्यक्ति समक्ष रंगशाला निर्माणको प्रचारप्रसार र सहयोगको लागि अपिल गरिएको संयोजक विजय सुवेदीले जानकारी दिए ।

देशभरका ७५३ स्थानीय तह र ७७ वटै जिल्लालाई सहयोगका लागि अनुरोध पठाइएको छ । ५० करोड रुपैयाँ रकम उठाउने लक्ष्य राखिएको महोत्सवमा ७६ लाख खर्च हुने अनुमान गरिएको छ ।

वृहत धनधान्याचल महोत्सवलाई सहयोग गरी सफल पार्न चितवन जिल्लामा क्रियाशील ९ राजनीतिक दलले अपील गरेका छन् । उनीहरुले यो अवधिमा कुनै पनि राजनीतिक कार्यक्रम नगर्ने घोषणासमेत गरेका छन् ।

चितवनमा निर्माण हुने रंगशालाले देशकै गरिमालाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको महोत्सव संयोजक सुवेदीले बताए ।

भरतपुर महानगरपालिका वडा नं. १५ मा बनिरहेको रंगशाला करिव ३० हजार जना अट्ने क्षमताको हुनेछ । यहाँ क्रिकेट रंगशालाका अलवा फुटवल मैदान र स्टेडियम, अन्तर्राष्ट्रियस्तरको अन्तरकक्ष पौडी पोखरी, भलिवल, बक्सिङ, जुडो, कराँते, तेक्वान्दो, सुटिङ, एथलेटिक्स लगायत २२ विधाका खेल खेल्न मिल्ने फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसले जानकारी दिए ।

७ प्रदेशको प्रतिनिधित्व झल्कने गरी कमल फूल पत्तासहित ७७ वटै जिल्लाको पहिचान झल्किने कक्षहरूको निर्माण गर्ने योजना छ । करीव ३ अर्बको लागत अनुमान गरिएको रंगशालाको अहिले प्याराफिटको पिलर उठाउने र मैदानको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment