Comments Add Comment

ढोरपाटन महिला भलिबलको उपाधि एपीएफले जित्यो

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । बुधबार डबल राउन्ड रोविनको लिगको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले अपराजित रहेर उपाधि रक्षा गरेको हो ।

यस्तै एपीएफले लगातार तीनपटक च्याम्पियन बन्दै रनिङ शिल्ड कब्जा गरेको छ । ढोरपाटन लिगमा ७ पटकको च्याम्पियन बनेको एपीएफले १३औं र १४औं संस्करणको च्याम्पियन बनेको थियो । त्यसअघि एपीएफले आठौं देखि ११औं संस्करणसम्म च्याम्पियन बन्दै रनिङ शिल्ड कब्जा गरेको थियो ।

एपीएफपछि पोखराको ज्ञानुबाबा स्कुलले सर्वाधिक ५ पटक ढोरपाटन लिग जितेका छन् । ज्ञानुबावा दोस्रो देखि छैटौ संस्करणसम्म च्याम्पियन बनेको थियो । त्यसपछि सातौंमा पुलिस च्याम्पियन बनेको थियो । १२औं संस्करणमा भारतीय खेलाडी सम्मिलित रिड मोडल च्याम्पियन बनेको थियो । पहिलो संस्करणमा पुरुषको प्रतिस्पर्धा हुँदा आर्मीले बाजी मारेको थियो ।

लिगको १४ खेलपछि अपराजित रहेको एपीएफले ४१ अंक जोड्यो । उति नै खेलबाट ३७ अंक जोडेको पुलिसले दोस्रो स्थानमा चित्त बुझायो । एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट पनि एपीएफ २५–२१ ले नै विजयी हुन सफल भयो । तेस्रो सेटमा २५–१९ को जित निकाल्दै एपीएफ च्याम्पियन बन्न सफल भयो ।

त्यसअघि तेस्रो भइसकेको त्रिभुवन आर्मी क्लबले होङ्ग्वान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । मुख्य स्पाइकर प्रतिभा मालीको अनुपस्थितिमा टोली आर्मीसँग २५–२१, २५–१४ र २५–१४ ले पराजित भयो ।

उपाधिसँगै एपीएफले ४ लाख ५ हजार रुपैया हात पार्‍यो । दोस्रो भएको पुलिसले २ लाख ५ हजार तथा तेस्रो भएको आर्मीले १ लाख ५ हजार रुपैयाँ तथा चौथौ भएको डायमन्डले ७५ हजार रुपैयाँ हात पार्‍यो । पाँचौ भएको चितवनले ५५ हजार तथा छैटौं भएको बुलबुले रारा भलिबल क्लबले ३५ हजार रुपैयाँ पायो ।

त्रिभुवन आर्मी क्लबकी साफिया पुन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुलिसकी उषा भण्डारी उदियमान खेलाडी चुनिइन् । डायमण्डकी सलिना श्रेष्ठ वर्ष खेलाडी तथा एपीएफकी कप्तान विनिता बुढाथोकीले ग्रेट अचिभमेन्ट अवार्ड प्राप्त गरिन् । उनीहरु सबैले युएम स्कुटर हात पारिन् । यस्तै लक्की ‘ड्र’ बाट चितवनका अनिल बुढाथोकीले भाग्यशाली दर्शक बन्दै एक थान मोटरसाइकल हात पारे ।

व्यत्तिगत विधातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, न्यू डायमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट सर्भर, सोही क्लबकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्स घोषित भइन् । एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान ७ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतयोगिताको विजयी टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, नेदरल्यान्ड भलिबलकबा डेभलपमेन्ट म्यानेजर पिटर भान तरेल, ढोरपाटन क्लबका अध्यक्ष तथा संघका सचिव मनवीर छन्त्याललगायतले पुरस्कृत गरे ।

माघ १६ बाट सुरु भएको प्रतियोगितामा १० टोलीले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्ध गरेका थिए । दोस्रो राउन्डमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment