Comments Add Comment

हिमाली जिल्लामा नयाँ शैक्षिक वर्ष सुरु, पुस्तकबारे अन्योल

१ फागुन, काठमाडौं । बिहीबारदेखि पाँचवटा हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । पुस्तकको मूल्य निर्धारण प्रक्रियामा ढिलाइ हुँदा नयाँ कक्षामा पढाइ सुरु गरेका ती जिल्लाका विद्यार्थीले पुस्तक कहिले पाउने हो अन्योल भएको छ ।

हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकोले हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङमा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । मुगु र कालिकोट जिल्लाको केही क्षेत्रमा समेत फागुन १ गतेदेखि नयाँ शैक्षिक वर्ष सुरु हुन्छ ।

ती जिल्लाहरुमा विद्यार्थी भर्नाको लागि १५ दिनको समय तोकिएको छ । अहिलेसम्म पुस्तक पठाउने तयारी समेत भएको छैन । जसका कारण कक्षा सुरु हुने समयमा पुस्तक नपुग्ने हो कि ? भन्ने चिन्ता सरकारी अधिकारीहरुले नै गरेका छन् ।

उपत्यका बाहिर विभिन्न स्थानमा गएको शिक्षा विभागको टोली अनुगमन गरी फर्किएको छ । काठमाडौं उपत्यकामा छपाइको अवस्थाबारे अध्ययन गरेपछि मात्रै प्रतिवेदन सार्वजनिक गरिने विभागका शैक्षिक योजना तथा विकास महाशाखाका प्रमुख एवं उपमहानिर्देशक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

पछिल्लो सातामात्रै पुस्तकको मुल्यसम्बन्धी शिक्षा विभागबाट प्रस्तुत गरिएको प्रतिवेदन मन्त्रालयबाट स्वीकृत भएकोले पनि पुस्तक छपाइमा ढिलाइ भएको बताइएको छ ।

अधिकारीका अनुसार विभागले अनुगमनको लागि खटाएको टोलीले उपत्यकाबाहिर विभिन्न ठाउँहरुमा अनुगमन गर्दा हिमाली जिल्लाहरुमा कक्षा सुरु हुने बेलामा नै पुस्तक पुग्न कठिन हुने अवस्था देखिएको थियो ।

तर, निजी मुद्रक तथा वितरक संघका अध्यक्ष दीपक भण्डारी भने कक्षा सुरु हुने बेलासम्म सबै हिमाली जिल्लाहरुमा पुस्तक पुग्ने दाबी गर्छन् । ‘बिहीबारदेखि सुरु हुने शैक्षिक वर्षको कक्षा सुरु हुने दिनसम्म सबै जिल्लामा पुस्तक पुग्छ’ उनले भने ‘केही ढिलाइ भए पनि हामीहरुको सबै जिल्लामा संयन्त्र भएकोले जसरी पनि कक्षा सञ्चालन हुने दिनसम्म पुस्तक विद्यालयमा पुर्‍याउने तयारीमा छौं ।’

संघले कक्षा एकदेखि ४ सम्मको पुस्तक छपाउने जिम्मा लिएको छ भने ५ कक्षादेखि माथिको किताब जनक शिक्षा सामग्री केन्द्रले नै छाप्ने गरेको छ । भण्डारीले २, ३ र ४ कक्षाको किताब छापेर पनि सम्बन्धित ठाउँको लागि पठाइसकिएको भन्दै जनक शिक्षा सामग्री केन्द्रको किताब पुग्ने बेलासम्ममा ४ कक्षासम्मको पुस्तक पनि पुग्ने दाबी गरे ।

उता जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेशप्रसाद तिमल्सिनाले जनक शिक्षाले छपाइको जिम्मा पाएका सबै पुस्तकहरु सम्बन्धित गाउँमा पुर्‍याउन नेपालगञ्ज विमानस्थलमा राखिको जानकारी दिए ।

कर्णालीका कतिपय ठाउँहरुमा हवाइजहाज मार्फत् नै पुस्तक पुर्‍याउनुपर्ने भएकोले विमानस्थलमा पुस्तक राखिएको उनले जानकारी दिए । शैक्षिक सत्रको सुरुमा नै पुर्‍याउनुपर्ने भए पनि कक्षा सुरु हुने बेलासम्म भने पुस्तक पुग्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment