Comments Add Comment

कमजोर बजेट खर्च, सुधारिएको सूचकांक !

२९ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटको अर्थमन्त्रालयले अर्धवार्षिक समीक्षा गरेको छ ।

बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको समीक्षा गर्दै बजेटको आकार घटाइएको जानकारी दिए । चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार १० प्रतिशतले घटाइएको छ । राजस्व संकलनको लक्ष्य पनि ९५.५ प्रतिशत मात्रै हासिल हुने मन्त्रालयले बताएको छ ।

तर बजेटको अर्धबार्षिक समिक्षा गर्दै अर्थमन्त्री खतिवडाले विभिन्न कारणले बजेट खर्च हुन नसकेको तर अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक रहेको बताए ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा आर्थिक क्रियाकलापहरू विस्तार भएर उच्च आर्थिक वृद्धिको निरन्तरता कायम हुने समीक्षामा उल्लेख छ । तथापि कृषि क्षेत्रको वृद्धिदरमा केही कमी आउने र गैह्रकृषि क्षेत्र अन्तर्गत पर्यटनमा पछिल्लो समय केही प्रतिकूलता देखिएको मन्त्रालयले बताएको छ ।

प्रदेश तथा स्थानीय तहबाट आर्थिक क्रियाकलाप विस्तार भइरहेको, पुनर्निर्माण कार्य उत्साहजक रहेको तथा वित्तीय पहुँचमा उल्लेखनीय प्रगति भएको समिक्षा छ ।

मूल्य वृद्धि बढेको स्वीकार गरिएको बजेटको अर्धबार्षिक समीक्षामा अर्थतन्त्रका केही सूचकहरु सन्तोषजनक र केही सूचक कमजोर अवस्थामा रहेको उल्लेख छ ।

बजेट खर्च गर्नै सकस

सरकारले समीक्षा अवधिमा ४ खर्ब २२ अर्ब ५५ कुरोड ६ लाख खर्च गरेको छ । यो कुन विनियोजित बटेटको २७.६ प्रतिशत हो । यो अवधिमा ३ खर्ब ९ अर्ब ६० कुरो चालु खर्च भएको छ, जुन चालुतर्फको विनियोजित बजेटको ३२.४ प्रपतशत रकम हो ।

६ महिनमा ६२ अर्ब ७६ करोड विकास बजेट खर्च भएको छ । ६ महिनामा १५.४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको हो । ५० अर्ब १७ कुरोड वित्तीय बजेट खर्च भएको छ । वित्तीयतर्फ २९.९ प्रतिशत वित्तीय खर्च भएको छ ।

अर्थमन्त्रालयले बजेट खर्च कम भएको र यसलाई बढाउनुपर्ने आफ्नो मूख्य चुनौतीका रुपमा लिएको छ । बजेट खर्च गर्न सकस परेपछि सरकारले ९ खर्ब ४ अर्ब ४६ करोड (कुल विनियोजनको ९४.५ प्रतिशत) मात्रै बजेट खर्च गर्ने लक्ष्य राखेको छ । पुँजीगत खर्चको आधार पनि घटाएर ३ खर्ब ३२ अर्ब ५० करोड (कुल विनियोजनको ८०.१ प्रतिशत) मा सीमित गरिएको छ ।

राजस्व संलकन साढे ५५ अर्ब घट्ने

चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा लक्ष्यभन्दा झण्डै १ खर्ब कम संकलन भएपछि सरकारले लक्ष्य नै संशोधन गरेको छ । अर्थ मन्त्रालयकाअनुसार एक वर्षमा कूल १० खर्ब ५६ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन हुनेछ ।

यो बजेटले राखेको कूल लक्ष्यको तुलनामा ९५.६ प्रतिशत हो । अर्थात ११ खर्ब १२ अर्ब ३ करोड राजस्व संकलनको लक्ष्य राखेको सरकारले ५५ अर्ब ३३ करोड रुपैयाँ राजस्व कम हुने अहिले नै स्वीकार गरेको छ । सरकारले संशोधित अनुमानमा भन्सार महशुल उल्लेख्य घटाएको छ । गैरकर राजस्व भने लक्ष्यभन्दा पनि संशोधित अनुमान बढी राखिएको छ । आयातको परिणाममा आएको गिरावटबाट भन्सार विन्दुमा संकलन हुने राजस्वमा कमी आएका कारण भन्सार महशुल संकलन कम हुने अनुमान अर्थ मन्त्रालयको छ ।

यद्यपि उत्पादन नै बन्द गरेका मदिरा उद्योग संचालनमा आएका कारण आगामी ६ महिनामा मदिराबाट संकलन हुने अन्तःशूल्क संकलन बढ्ने सरकारको अपेक्षा छ । आन्तरिक राजस्वमा देखिएको सुधारले समेत समग्र राजस्व संकलन सकारात्मक हुने अर्थ मन्त्रालयको दाबी छ ।

मूल्यवृद्धि बढ्यो

चालु आर्थिक वर्षको ६ महिनामा मूल्य वृद्धि बढेको सरकारले औपचारिक रुपमा स्वीकार गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा. खतिवडाले ६ महिनासम्म मूल्यवृद्धि दर (मुद्रास्फीति) ६.४ प्रतिशत रहेको जानकारी दिए । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो मूद्रास्फीति ४.२ प्रतिशतमात्रै थियो ।

बजेटमा सरकारले मुद्रास्फीतिलाई ६ प्रतिशतको सीमाभित्र राख्ने बताएको थियो । तर ६ महिनामा तोकिएको भन्दा धेरै पुगेको छ । यस अवधिमा छिमेकी मुलुकहरू खाद्य वस्तुमा उच्च मूल्य वृद्धिमा भएकाले त्यसको प्रभावस्वरूप खाद्य वस्तुहरूको मूल्य वृद्धिमा चाप परेको अर्थमन्त्री खतिवडाले बताए ।

खाद्य वस्तुहरूको मूल्य वृद्धिमा चाप परेको कारण समग्रमा मूल्यवृद्धि धेरै भएको उनको तर्क छ । यद्यपि, आर्थिक वर्षसम्मको अन्त्यमा लक्षित सीमाभित्र रहन्छ कि भन्ने अपेक्षा गरिएको अर्थमन्त्री डा. खतिवडाले बताए ।

वैदेशिक व्यापारमा सुधार हुँदै

लामो समयदेखि ठूलो व्यापारघाटा झेलिरहेको नेपाललाई केहि राहत मिल्दै गएको ६ महिनाको तथ्यांकले देखाएको छ । यस अवधिमा कुल वस्तु निर्यात अघिल्लो वर्षको तुलनामा २६.१ प्रतिशतले वृद्घि भएर ५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्घि भएको थियो ।

यो अवधिमा कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आयात ३०.५ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वे्दिक औषधि र दालको निर्यात उत्साहजनक रूपमा बढेको छ ।

यस वर्ष आयात घटेका प्रमुख वस्तुहरूमा एमएस बिलेट्स, पेट्रोलियम पदार्थ, चामल, सिमेन्ट क्लिङ्केर, सुन, सवारी साधन लगायतका वस्तुहरू छन् । आयातमा ह्रास र निर्यात वृद्धिका कारण समीक्षा अवधिमा कुल व्यापार घाटा ६.१ प्रतिशतले घटी ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँमा सीमित रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ३२ प्रतिशतले बढेको थियो ।

चालु खातामा सुधार हुँदै, शोधनान्तर बचतमा

अर्थतन्त्रको अर्का दुई सूचकहरु चालु खाता तथा शोधानान्तर स्थिति सकारात्मक देखिएका छन् ।

अर्थमन्त्रालयका अनुसार यस अवधिमा चालु खाता असन्तुलनमा उल्लेख्य सुधार भएको छ । पुस मसान्तसम्म ८२ अर्ब १ करोड चालु खाता घाटामा रहेको मन्त्रालयले बताएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता१ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो छ महिनामा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा थियो ।

रेमिट्यान्समा झिनो सुधार

विप्रेषण आप्रवाहमा केहि सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो, तेस्रो तथा चौथो महिनामा समेत घटेको रेमिट्यान्स ६ महिनासम्म आइपुग्दा ०.९ प्रतिशतले वृद्धि भएको छ । ६ महिनामा ४ खर्व ४७ अर्व २६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको मन्त्रालयले बताएको छ ।

चालु आर्थिक वर्षको चौथो महिना अर्थात कात्तिक मसान्तसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा २ दशमलव ३ प्रतिशतले कमी आएर ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

तेस्रो महिनामा पनि ४.९ प्रतिशतले घटेर २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ भित्रिएको थियो भने चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि रेमिट्यान्स आप्रवाह ०.३ प्रतिशतले गिरावट आएर १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँमात्रै भित्रिएको थियो ।

दशैंको मूख्य सिजनमा समेत घटेको रेमिट्यान्स थोरै भए पनि मंसिर महिनामा बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो । पछिल्ला महिनाहरूमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि हुँदै गएकोले आगामी महिनामा विप्रेषण आप्रवाहमा सुधार हुने अनुमान छ ।

वैदेशिक लगानी वृद्धि

चालु आवको पहिलो ६ महिनामा उद्योग विभाग र लगानी बोर्डमार्फत भित्रने प्रत्यक्ष वैदेशिक लगानीमा उल्लेख्य वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।

६ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता गत आर्थिक वर्षको ४५ अर्ब ८३ करोड ३६ लाख रुपैयाँको तुलनामा ३१५.३ प्रतिशतले वृद्धि भई १ खर्ब ९० अर्ब ३६ करोड २० लाख रुपैयाँ लगानी आएको छ । लगानी बोर्डमार्फत १ खर्ब ६२ अर्ब ३७ करोड ७० लाख र उद्योग विभागमार्फत रू. २७ अर्ब ५८ करोड ५० लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ ।

विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको छ । विनिमय सञ्चिति २०७६ असार मसान्तमा.१० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ थियो । यो बढेर ५७ अर्ब ६ करोडले बढेर १० खर्ब ९५ अर्ब ९८ करोड पुगेको छ ।

विद्यमान विदेशी विनिमय सञ्चितिको ९.६ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने मन्त्रालयले बताएको छ ।

कृषि क्षेत्रमा मौसमको भर, औद्योगिक विस्तार

चालु आर्थिक वर्षमा धानको उत्पादन १.१ प्रतिशतले घट्ने र मकैको उत्पादन ५.७ प्रतिशत र कोदोको उत्पादनमा सामान्य वृद्धि हुने अनुमान मन्त्रालयको छ ।

अनुकूल मौसमका कारण गहुँ लगायतका हिउँदे बालीको उत्पादन बढ्ने अनुमान गरिएको छ ।

गत वर्ष धानको उत्पादन ९.५ प्रतिशत र गहुँको उत्पादन १ प्रतिशतले बढेको थियो भने मकैको उत्पादन ०.९ प्रतिशत तथा कोदोको उत्पादन ०.६ प्रतिशतले घटेको थियो ।

औद्योगिक तथा सेवा क्षेत्रको विस्तार भने निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ । विद्युत आपूर्तिमा नियमितता, असल श्रम सम्बन्ध, वित्तीय सेवा र बजारको सुधार तथा विस्तारबाट औद्योगिक एवम् सेवा क्षेत्रमा लगानी वृद्धि भइरहेको मन्त्रालयले बताएको छ । जलविद्युत आयोजना, सडक, विमानस्थल जस्ता भौतिक पूर्वाधारको निर्माण तथा पुरातात्विक भवन, निजी आवास, विद्यालयलगायत भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणले तीब्रता पाएको छ । पुनर्निर्माणको कार्य चालु वर्ष ८० प्रतिशत सम्पन्न हुने अनुमान गरिएको छ ।

पुँजी बजारमा सुधारको संकेत

अर्थमन्त्रालयले गरेको अर्धवार्षिक समीक्षाले पुँजी बजार पनि सुधार हुने क्रममा रहेको देखाएको छ । अर्थतन्त्रको ऐना मानिने पुँजी बजार केहि वर्षयता ओरालो यात्रामा छ । अब भने क्रमशः सुधार हुने संकेत देखिएको छ ।

यस अवधिमा सेयर बजारमा ५३ अर्ब १३ करोड ७६ लाख रुपैयाँ बराबरको ९० करोड ९३ लाख कित्ता शेयर निष्काशन भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ३३ अर्ब ३८ करोड ३९ लाख रुपैयाँ बराबरको ३१ करोड ७४ लाख कित्ता शेयर निष्काशन भएको थियो । सेयर मूल्य मापन गर्ने नेप्से सूचकांक २०७६ असार मसान्तको १२५९.० विन्दुबाट २०७६ पौष मसान्तमा ०.३ प्रतिशतले वृद्धि भई १२६३.४ विन्दुमा पुगेको छ ।

गत पुससम्ममा बजार पुँजीकरण १६ खर्ब १० अर्ब ६९ करोड रुपैयाँ कायम भएको मन्त्रालयले बताएको छ । शेयर बजारमा प्रविधिको प्रयोग बढ्दो छ र बजारको गतिशीलता पनि सन्तोषप्रद रहेको मन्त्रालयले बताएको छ ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट १६ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी भएको छ । गत वर्षको यही अवधिमा ५ अर्ब ८३ करोड बराबरको ऋणपत्र जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment