+
+
Shares

एमालेमा पुग्ला कांग्रेसको सन्देश ?

कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिबाट विश्राम लिँदै पार्टी पुनर्गठनको बाटो खोले । नेतृत्व परिवर्तनको चर्को माग उठिरहेको एमालेमा पनि अध्यक्षलाई यही बाटोमा जान भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले दबाब देला ? नेताहरू भन्छन्– कुरा त उठ्ला, तर ओली ‍गल्दैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते २२:१९
जेनजी आन्दोलनको अघिल्लो दिनसम्म चलेको एमाले विधान महाधिवेशन ।

२८ असोज, काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमित भएका दुई दल एमाले र कांग्रेस पार्टी पुनर्गठनको तीव्र दबाबमा छन् । यो दबाबकाबीच कांग्रेसले भने पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बाटो पक्रेको संकेत देखिएको छ ।

केन्द्रीय समितिको मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले अहिलेको राजनीतिक परिस्थितिको समीक्षा मात्र गरेनन् । उनले अब आफू कार्यकारी भूमिकामा नरहने स्पष्ट सन्देश दिए ।

त्यही सन्देश स्वरुपमा केन्द्रीय समितिमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

राजनीतिक रुपमा कांग्रेसभित्र देउवाको कमजोर नहोलान् तर उनले अहिलेको परिवर्तनपछि उठेको मागलाई सम्बोधन गर्ने बाटो पक्रेको छनक देखिएको छ ।

कांग्रेसले लिएको यही बाटोमा तत्कालीन सत्ताको नेतृत्व गरेको एमाले जान्छ कि जाँदैन ?

भोलिबाट सुरु हुने एमाले केन्द्रीय कमिटीको बैठकतर्फ यतिबेर सबैको ध्यान सोझिएको छ ।

ललितपुरको एक पार्टी प्यालेसमा बस्न लागेको एमाले केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुनेछ ।

बैठकमा भाग लिन जाने तयारीका रहेका केन्द्रीय कमिटीका नेताहरूका अनुसार एमालेमा पनि कांग्रेसमा जस्तो नेतृत्व परिवर्तनको माग चर्को छ ।

त्यो माग अनुसारको निर्णय भने एमालेको केन्द्रीय समितिबाट हुने कुनै सम्भावना छैन ।

एमालेको संस्थापन पक्ष नेतृत्वलाई कायम राख्दै महिधवेशनमा जाने र महाधिवेशनबाट फरक मत राख्नेहरूलाई वैधानिक रुपमै पार्टी कमिटीमा आउन नदिने योजनामा रहेको सचिवालयका एक नेताले बताए ।

‘तीन दिनका लागि केन्द्रीय कमिटी बैठक राखिएको छ । सबैलाई बोल्न दिने र नेतृत्व ठीक छ भन्ने माहोल बनाउन खोजिएको छ,’ ती नेताले भने, ‘सचिवालयमा धेरै प्रश्न उठेपछि केन्द्रीय कमिटीबाट आफू सही छु भन्ने देखाउने प्रयास देखिन्छ ।’

भोलिको बैठकमा अध्यक्ष ओलीले वर्तमान घटनाक्रमको समीक्षासहित लिखित प्रस्ताव राख्ने तयारी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलन नेपालका युवाहरूको मौलिक विद्रोह थियो भन्ने मान्न तयार छैनन् ।

उनले यो कुरा सचिवालय बैठकमा पटक पटक र सार्वजनिक कार्यक्रममा पनि बताउँदै आएका छन् । यही कुरा केन्द्रीय कमिटीबाट पनि स्थापित गराउन चाहिरहेका छन् ।

‘यस्तै खालको प्रतिवेदन आउनसक्छ,’ अर्का एक नेताले भने, ‘पार्टीमा परिवर्तन चाहिन्छ भन्ने आवाज नै छैन भन्ने देखाउने कोसिस छ ।’

एमालेमा सचिवालयका बहुमत सदस्यहरूले जेनजी आन्दोलनपछि पार्टीका कमजोरीहरू सच्चाएर नेतृत्व परिवर्तनको बाटोमा जानुपर्ने धारणा राखेका थिए ।

यस्तो धारणा राख्ने नेताहरूलाई अध्यक्ष ओलीले मैले देशका लागि घात हुने के गरेको छु ?  भ्रष्टाचार गरेको छु ? भन्दै आफूले सक्दासम्म नछोड्ने जवाफ दिएका थिए ।

सचिवालय बैठकमा एमाले नेतृत्व नछोड्ने ओलीको अडानमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितका पदाधिकारीको समर्थन थियो । बाँकी बहुमत पदाधिकारी नैतिक जिम्मेवारी लिँदै ओलीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका थिए । यसअघि ओलीलाई साथ दिँदै आएका विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले समेत यथास्थितिमा एमाले अगाडि जान नसक्ने अडानमा थिए । तर सचिवालय बैठकमा सबै नेताका कुरा सुनेर ओलीले अन्त्यमा नेतृत्व छोड्ने कुरा गरेनन् । महाधिवेशनमा जाने निर्णय गरे ।

त्यही अडानको विस्तारित रुप केन्द्रीय कमिटीमा आउने नेताहरूले बताएका छन् ।

सचिवालयमा बैठकमा बहुमत नेताहरूले नेतृत्वको असफलताको कुरा उठाए पनि अन्त्यमा महाधिवेशनमा जाने, संसद् पुनर्स्थापना गर्ने लगायतमा निर्णय ओलीले सुनाएका थिए ।

यो विषयमा नै अब केन्द्रीय कमिटीमा धारणा बनाउने प्रयास हुनेछ ।

एक नेताका अनुसार, सचिवालयमा भएकै जस्तो फरक मत केन्द्रीय कमिटीमा पनि आउने छ । ‘तर अध्यक्षले भनेको भन्दा फरक निर्णय होला भन्ने छैन,’ एक  केन्द्रीय सदस्यले भने, ‘कांग्रेसका सभापतिले गरे जत्तिको निर्णय हाम्रोमा आउने कल्पना भन्दा बाहिरको कुरा हो ।’

एमाले पनि यदी परिवर्तनलाई आत्मसात् गर्ने हो भने तत्काल ओलीले पद छोडेर कार्यवाहकको जिम्मेवारी अन्य नेतालाई दिनुपर्ने आवाज नउठेको होइन ।

तर, ओली समूहले यो कुरा सन्नै चाहेको छैन । सचिवालयमा बहमुत नेताहरूले पद छोड्न दबाब दिएपछि बाध्यतावश एक वर्ष कार्यकाल बाँकी रहँदै महाधिवेशनमा जाने बाटोसम्म ओलीले अपनाए ।

‘अब महाधिवेशन नेतृत्व हस्तान्तरणका लागि होइन, यही नेतृत्व नै ठीक थियो भन्ने पुन:पुष्टि गर्नका लागि हो,’ एक नेताले आशंका गरे ।

अहिले पनि एमालेका केन्द्रीय तहका धेरै नेताहरू खुला रुपमा ओलीका कदमको विरोधमा बोल्न चाहँदैनन् ।

खुला रुपमा बोल्दा नेतृत्वको निशानामा परिने भय उनीहरूमा छ ।

भोलिबाट सुरु हुने बैठका पनि उनीहरूले समय पाए छुट्टाछुट्टै धारणा राख्नेछन् । सदस्यहरूले मिलेर लिखित रुपमा संगठित धारणा राख्ने पक्षमा कोही पनि छैनन् ।

जस्तो कांग्रेसमा नेतृत्वलाई दबाब राख्नका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रस्ताव गरेर देशव्यापी रुपमा हस्ताक्षर अभियान चलाएका थिए । ५० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर बुधबार पार्टीमा बुझाउने तयारी छ । तर, त्यो अघि नै मंगलबार देउवाले पार्टीको नेतृत्वबाट विश्राम लिने निर्णय गरेर कार्यबहाकको जिम्मेवारी दिए ।

तर, एमालेमा नेतृत्वलाई दबाब दिनका लागि यो खालको बाहिरी गतिविधि केही भएको छैन । एमालेलाई सत्ताबाट बाहिर ल्याउन देशीविदेशी षड्यन्त्र भएको भन्दै यो भाष्य मात्र तल्लो तहसम्म स्थापित गराउने प्रयास भइरहेको छ ।

त्यस्तै, चुनाव भन्दा पनि प्रतिनिधि सभा पुनर्स्थापनालाई जोड दिइरहेको छ ।

कांग्रेस सभापति देउवाले चुनावमा लोकतान्त्रिक व्यवस्थालाई ट्रयाकमा ल्याउने बाटो भनेका छन् । संसद् विघटन असंवैधानिक भए पनि निर्वाचनमा जाने कुरालाई अन्यथा मान्न नहुने सन्देश छ ।

तर एमाले अध्यक्ष ओली यो दिशामा छैनन् । निर्वाचनमा जाने भन्दा संसद् पुनर्स्थापनातर्फ जाने पक्षमा छन् ।

सचिवालयमा उनले यो निर्णय सुनाएपछि अहिले सभामुख समेत प्रतिनिधि सभा पुनर्स्थापनामाको पक्षमा राजनीतिक सहमति जुटाउने परामर्शमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?