Comments Add Comment

दिल्लीमा केजरीवाललाई दुईतिहाई, बीजेपीको दुई रुपैयाँ किलो आँटा बिकेन !

बीजेपी र कांग्रेसको कन्तबिजोग, घृणाको राजनीतिलाई बाईबाई

२८ माघ, काठमाडौं । ‘यी सबै सर्वेक्षण गलत हुनेछन्, मेरो यो ट्विट सम्हालेर राख्नुहोला, भारतीय जनता पार्टीले ४८ सिटसहित दिल्लीमा सरकार गठन गर्नेछ । कृपया इलेक्ट्रोनिक भोटिङ मेशिनलाई दोष दिने बहाना नखोज्नुहोला ।’

भारतीय जनता पार्टी (भाजपा) दिल्ली अध्यक्ष मनोज तिवारीले गत शनिबार विधानसभाका लागि मतदान भएकै दिन गरेको ट्विट हो, यो ।

लोकसभा सदस्यसमेत रहेका तिवारीले भनेजस्तै दिल्लीमा कम्तीमा ४८ सिटसहितको सरकार बन्ने पनि पक्कापक्की भयो, तर भाजपाको होइन, आम आदमी पार्टी (आप) को ।

मंगलबार साँझसम्म ५८ स्थानको परिणाम सार्वजनिक हुँदासम्म आपले ५२ र भाजपाले ६ स्थानमा जित हासिल गरेका छन् । सन् २०१५ को विधानसभामा ६७ स्थानमा जितेको आपले केही सिट कम जिते पनि आगामी पाँच वर्ष सत्ताको बागडोर हाँक्ने सुनिश्चित भइसकेको छ ।

कुल ५४५ सदस्यीय लोकसभामा भाजपाका ३०३ सांसद छन् । २०१९ मा सम्पन्न लोकसभा चुनावमा दिल्लीका सात मध्ये सातै स्थानमा भाजपाले जीत हासिल गरेको थियो । तर, विधानसभाको चुनावमा आम आदमीले बाजी मार्‍यो ।

कामलाई भोट ?

अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानको जगमा २०१२ मा स्थापना भएको आपले दिल्लीमा के त्यस्तो गर्‍यो ? जसका कारण भाजपाको राप र ताप त्यहाँ चलेन ?

दुई रुपैयाँ किलो आँटा उपलब्ध गराउने भाजपाको नारालाई मतदाताले विश्वास गरेनन् । जसले गर्दा मनोज तिवारीले भनेजस्तो बीजेपीलाई ४८ सिट पनि आएन, आपलाई बहुमतबाट रोक्न पनि सकेन ।

विधानसभा निर्वाचनअघि मुख्यमन्त्री अरविन्द केजरीवालले मतदातालाई सम्बोधन गर्दै भनेका थिए, ‘कामका लागि भोट दिनुस्, यदि हामीले काम गरेका छैनौं भने भोट नदिनुहोस् ।

आधाआधी मतगणना सकिएपछि केजरीवाल ट्विट गरे– आज दिल्लीवालाले नयाँ राजनीतिलाई जन्म दिएका छन्– कामको राजनीति ।

‘आफ्ना छोरोलाई यति धेरै माया दिनुभएकोमा दिल्लीवासीलाई ह्रदयदेखि नै धन्यवाद । आज दिल्लीवालाले नयाँ राजनीतिलाई दन्म दिएका छन्–कामको राजनीति’ उनले ट्विटरमा लेखेका छन् ।

केजरीवाल सरकारको काम

‘मेरो भोट कामलाई, सिधै केजरीवाललाई’ आपले विधानसभा चुनावमा यस्तै नारा लगायो । स्वास्थ्य, शिक्षा, बिजुली, पानी, फोहोर व्यवस्थापन जस्ता क्षेत्रमा गरेको कामको आधारमा आपले यस्तो नारा लगाउने हिम्मत गरेको हो ।

दिल्लीमा २०० युनिटसम्म प्रयोग गर्नेलाई बिजुली निशुल्क छ । २०१९ अगस्तदेखि लागु भएको व्यवस्थाले मतदाताको ठूलो हिस्सालाई प्रभावित गरेको विश्लेषण गरिएको छ ।

आपको सरकार बनेपछि सार्वजनिक यातायात पनि सुधार देखियो । कतिपय सार्वजनिक यात्रा निःशुल्क गरे ।

२० हजार लिटरसम्म पानी प्रयोगकर्ताले पनि शुल्क तिनुपर्ने पर्दैन । पछिल्लो छ महिनामा केजरीवाल नेतृत्वको सरकारले ४०० भन्दा बढी स्वास्थ्यचौकी स्थापना गर्‍यो ।
यो पनि पढ्नुहोस दिल्लीमा आम आदमीलाई बहुमत, भाजपाको सिट बढ्ने

सामुदायिक विद्यालयको २० हजार नयाँ भवन बनाएको आपको दाबी छ । आपले यो योजना अन्य राज्यमा पनि लागु गर्ने आश्वासन दिएको थियो ।

झण्डै पौने दुई करोड जनसंख्या रहेको दिल्लीवासीलाई निःशुल्क सेवा दिने रकम कहाँबाट आयो ? धनीसँग उठाएको करले करिब पोस्न मिल्छ ? भन्ने प्रश्नमा केजरीवालको जवाफ छ– मेरो सरकार बनेपछि एक रुपैयाँ कर बढेको छैन, यो सबै पैसा भ्रष्टाचार नियन्त्रण हुँदा संकलन भएको हो ।

‘घृणा र हिंसाको राजनीतिलाई बाईबाई’

सुरुवाती गणनामै आपको विजय र भाजपा पराजय हुने रुझान देखिएपछि भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीले घृणा र हिंसाको राजनीतिलाई दिल्लीवासीले सुहाउँदो जवाफ दिएको प्रतिक्रिया जनाए ।
यो पनि पढ्नुहोस मोदीको घृणाको राजनीतिलाई दिल्लीका मतदाताको सुहाउँदो जवाफ : येचुरी

कांग्रेस सांसद अधीर रञ्जन चौधरी भाजपाको हार र आपको जितबाट सन्तुष्ट देखिन्छन् । ‘आपको जित अपेक्षित नै हो, काँग्रेसको पराजयले राम्रो सन्देश दिएको छैन’ उनले भनेका छन्, ‘तर भाजपाको साम्प्रदायिक एजेण्डामाथि आपको जित महत्वपूर्ण छ ।’

केजरीवाललाई बधाई दिने क्रममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि भाजपालाई अस्विकार गरेका जनताले सीएए, एनआरसी र एनपीआरलाई पनि नस्विकार्ने धारणा राखिन् ।

बिकेन दुई रुपैयाँ किलो आँटा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवाल सरकारले दिल्लीवासीको आकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । आपलाई बधाइ दिँदै उनले लेखेका छन्, ‘दिल्ली विधानसभा चुनावमा जितका लागि आप र अरविन्द केजरीवाललाई बधाई । दिल्लीवासीको आकांक्षा पूरा गर्नका लागि शुभकामना छ ।’

दुई रुपैयाँ किलो आँटा उपलब्ध गराउने भाजपाको नारालाई मतदाताले विश्वास गरेनन् । जसले गर्दा मनोज तिवारीले भनेजस्तो बीजेपीलाई ४८ सिट पनि आएन, आपलाई बहुमतबाट रोक्न पनि सकेन ।

गत निर्वाचनमा तीन सिटमा खुम्चिएको भाजपाले आठ स्थान जित्नु भनेको झण्डै दुई सय प्रतिशत बढी सफलता प्राप्त गर्नु हो । तर, लोकसभा निर्वाचन र विधानसभाकै विगतको परिणाम केलाउँदा भने यो चर्चा योग्य उपलब्धी होइन ।
यो पनि पढ्नुहोस दिल्ली विधानसभा : झाडूले बढार्ला कि कमल फूल्ला ?

२०१३ मा ३१ सिट जितेको भाजपा विधानसभामा सबैभन्दा ठूलो दल बनेको थियो । २००८ मा २३, २००३ मा २० र १९९८ मा १५ सिट सहित दिल्लीमा भाजपा प्रमुख प्रतिपक्षी दल थियो । १९९३ को चुनावमा भाजपाले ४९ स्थानमा जित हासिल गरेको थियो ।

काँग्रेसलाई दिल्ली दूर

आपले २०० युनिट बिजुली निःशुल्क गरेको देखेपछि कंग्रेसले ३०० युनिट बिजुलीको शुल्क नलिने घोषणा गर्‍यो । आपको नक्कल गरिएको यो नाराले मतदाता आकर्षित भएन ।

लगातार दुई वटा विधानसभामा खाता खोल्न नसकेको काँग्रेसको अघिल्लो निर्वाचनमा भन्दा झण्डै आधा भन्दा बढी मत घटेको छ । अघिल्लो निर्वाचनमा १० प्रतिशत भोट पाएको कंग्रेसको भागमा यसपटक ४ प्रतिशत भोट आएको छ ।

यसले देखाउँछ, १९९८ मा यता लगातार १५ वर्ष शासन गरेको कंग्रेसका लागि दिल्ली अझै दुर छ । १९५१ म पनि कंग्रेसले ३९ स्थानमा जित हासिल गरेको थियो ।

आपको भविष्य भने भारी बहुमतले केजरीवाल हौसिन्छन् कि मोदीले भनेजस्तै दिल्लीवासीको आकांक्षा पुरा गर्नमा लाग्छन् भन्नेमै निर्भर गर्दछ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment