Comments Add Comment

सर्वेन्द्रको विदाइमा हेडक्वार्टर गएनन् तीन एआईजी

२८ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले आयोजना गरेको विदाइ समारोह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुले ‘बहिस्कार’ गरेका छन् ।

मंगलबारबाट ३० वर्षे सेवा हदका कारण तीन एआईजी र १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । अवकाश पाउने अधिकृतलाई विदाइ गर्ने प्रहरीको परम्परा अनुसार मंगलबार साँझ औपचारिक समारोह राखिएको थियो ।

समारोहमा उपस्थित भइदिन प्रहरी प्रधान कार्यालयले एक साताअघि नै सबैलाई पत्राचार गरिसकेको थियो । तर, विदाइमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यात देखिएनन् ।

त्यस्तै, केही डीआईजी पनि अनुपस्थित भए । प्रदेशमा कार्यरत् डीआईजीको पनि त्यहीँ विदाइ भयो ।

खनालको कार्यकालभरि प्रतिस्पर्धी एआईजी कार्कीसँग सुमधुर सम्बन्ध बनेन । राई र बस्न्यातलाई पनि उनले साथ लिएर अघि बढ्न सकेनन् ।

अधिकांश डीआईजीसँग पनि खनालको राम्रो सम्बन्धित थिएन । उनका सहकर्मीले खनालले एकलौटी ढंगबाट संगठन चलाएको आरोप लगाउँदै आएका थिए ।

क–कसले पाए अवकाश ?

अवकाश आउनेमा निवर्तमान आईजीपी खनाल र तीन एआईजीसहित डीआईजी राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी र महेन्द्रकुमार पोखरेल छन् ।

त्यस्तै, डीआईजी महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाएका छन् ।

उनीहरुमध्ये डीआईजी बस्न्यात बागमती, घिमिरे गण्डकी, शाह ५ नं प्रदेश र जोशी कर्णाली प्रदेश प्रमुख थिए । उनीहरुको विदाइ त्यहीँ भयो ।

डीआईजी श्रेष्ठचाहिँ प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारत छन् । तत्कालीन कोशी अञ्चल प्रहरी कार्यालय, धरानमा कार्यरत एसएसपी श्रेष्ठ १५ साउन २०७३ मा एक्कासी अचेत भएर लडेका थिए ।

अचेत अवस्थामा रहेका बेला विशेष पद सिर्जना गरेर उनलाई आईजीपी प्रकाश अर्यालले डीआईजी पदको दज्र्यानी चिन्ह लगाइदिएका थिए ।

काठमाडौंमै भए पनि डीआईजी पीताम्बर अधिकारी, दिनेश अमात्य, महेशविक्रम शाह लगायत पनि विदाइ समारोहमा देखिएनन् ।

खरिद प्रक्रियाको आरोप मिथ्या भएको दाबी

विदाइ समारोहमा सञ्चारकर्मीलाई भने प्रवेश निषेध गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै निवर्तमान आईजीपी खनालले खरिद प्रक्रियाका क्रममा लगाइएको आरोप मिथ्या भएको दाबी गरे । बर्दी, जुत्ता र सवारीसाधन खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उजुरीपछि आयोगले प्रहरी प्रधान कार्यालयबाट कागजपत्र पनि लगेको थियो ।

विदाइ समारोहमा खनालले भने, ‘आफू अनुकुलको स्वार्थ भएन भने संगठनकै मान्छे पनि सल्बलाउँदा रहेछन् । खरिद प्रक्रियाको आरोप मिथ्या मात्र थियो ।’ उनले समग्र प्रहरी अधिकृतको साथबाट सफलता हात परेको जनाए ।

आफूले नेतृत्वमा रहँदा भएका कामको फेहरिस्त प्रस्तुत गर्दै खनालले कार्यकाल सफल भएको पनि दाबी गरे ।

नवनियुक्त आईजीपी ठाकुर संगठनमा आँच नआउने गरी काम गर्ने बताए । उनले भने, ‘बाँकी रहेका अनुसन्धानलाई पनि टुंगोमा पुर्‍याउनुपर्नेछ । संगठनमा आँच नआउने गरी काम गर्छु ।’

उनले खनालले ल्याएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको पनि प्रशंसा गरे ।

अन्तिम दिन उद्घाटनमै व्यस्त

खनाल आफ्नो कार्यकालको अन्तिम दिन मंगलबार भवन उद्घाटनमै व्यस्त रहे ।

आइजीपीबाट विदा हुनुभन्दा केही घण्टाअघिको समयलाई सदुपयोग गर्दै खनालले प्रहरी प्रधान कार्यालयमा अडिटोरियम हलको उद्घाटन गरे । त्यसपछि महानगरीय प्रहरी पहरा गण, सामाखुशीको ब्यारेक भवनको पनि उद्घाटन गरे ।

ताम्रपत्रमा नाम लेखियोस् भन्ने मनसायबाट प्ररित भएर विदा हुने दिन भवन उदघाटन गरेको भन्दै केही प्रहरी अधिकारीहरु भने उद्घाटन समारोहमा सरिक भएनन् ।

अडिटोरियम हल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पनि खनालले आफ्नो कार्यकाल सफल भएको दाबी गरे । संगठनको सुधार एवं आन्तरिक सुदृढीकरणका लागि सदैव लागिपरेको उनले स्मरण गरे । आन्तरिक शुद्धीकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट भएको पनि खनालले बताए ।

आइजीपी खनालले आफ्नो कार्यकालमा प्रहरी प्रधान कार्यालयभित्र भौतिक संरचना निर्माणमा पनि थुप्रै काम भएको बताए ।

‘कालिकोट, रोल्पासहित १४ जिल्लाका अधिकृत जवानको मोरल उच्च बनाउनलाई म आफैं छाउपढीविरुद्धको अभियानमा सरिक भएँ’, उनले सुनाए, ‘जब–जब संगठनमा अप्ठ्यारो आउँछ, सर्वेन्द्र कहाँ छ भनेर पूर्वप्रहरी महानिरीक्षकलाई खोज्नुहोला ।’

पूर्वआईजीपी र नागरिकको हैसियतले प्रहरीले गर्ने राम्रो काममा पूर्ण समर्थन रहने पनि उनले बताए । उनले सबै प्रहरीले निष्ठापूर्वक, इमान्दारिताका साथ काम गर्नुपर्ने पनि बताए ।

यो पनि पढ्नुहोस झिम्रुकको पानी खाएका आईजीपी : ‘लो प्रोफाइल’का भाग्यमानी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment