Comments Add Comment

प्रहरी मुख्यालयमा किन पस्यो अख्तियार ?

बर्दी, जुत्ता र सवारी साधन खरीदमा भ्रष्टाचार भएको दाबी

७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट दुई वर्षयताका महत्वपूर्ण कागजात उठाएको एक महिना बितिसकेको छ । प्रहरीका जुत्ता, बर्दी र सवारी साधन खरीदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा परेको उजुरी यतिबेला प्रमुख आयुक्त नवीन घिमिरेको टेबलमा छ ।

आखिर प्रहरी हेडक्वार्टरमा किन पस्यो त अख्तियार ? यसबारे हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतबाट केही कागज फेला पारेका छौं । अख्तियार दुरुपयोग अनुसन्धानले प्रहरी मुख्यालयका कागजपत्र नियन्त्रणमा लिनुपूर्व आयोगमा दुईवटा लिखित उजुरी दर्ता भएका थिए । सो उजुरीपछि अख्तियारले प्रहरी हेडक्वार्टरबाट खरीदसम्बन्धी कागजपत्र झिकाएको हो ।

प्रहरीले बन्दोबस्तीका विभिन्न सामान किन्दा घोटाला भएको उजुरी परेपछि अख्तियारले प्रहरी प्रधान कार्यालयबाट पछिल्लो दुई आर्थिक वर्षको कागजात हेरेको हो । आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट खरिदसँग सम्बन्धित कागजपत्र लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

प्रहरीबाट कागजपत्र झिकाए पनि दुई अर्बभन्दा बढी मूल्यका सामान खरिदमा अनियमितता भएको भन्ने उजुरीमाथिको अनुसन्धानमा अख्तियारले अहिले तीव्रता दिन नसकेको अख्तियारका एकपूर्व आयुक्त बताउँछन् । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरे आफैंले हेरिरहेको यो विषयमा पर्याप्त ध्यान नपुगेको उनको भनाइ छ ।
ती पूर्वआयुक्त भन्छन्, ‘विस्तृत विवरणसहितको उजुरीमा यदि अख्तियारले चाहेको भए अनुसन्धान प्रक्रिया योभन्दा धेरै अगाडि पुगिसक्ने थियो, तर अहिले किन रोकिएको छ, थाहा भएन ।’

तर, प्रहरी प्रधान कार्यालय स्रोत भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्र नियन्त्रणमा लिएको नभएर पत्राचार गरेपछि प्रहरीबाटै आयोगलाई डकुमेन्टहरु उपलब्ध गराइएको बताउँछ । प्रहरीको उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आयोगले कागजपत्र नियन्त्रणमा लिएको भन्ने चर्चा सही होइन, आयोगबाट भएको पत्राचारपछि हामीले आफैं आयोगलाई कागजात उपलब्ध गराइदिएका हौं ।’

प्रहरी मुख्यालयविरुद्ध आयोगमा भ्रष्टाचारसम्बन्धी उजुरी परेता पनि आइजीपी सर्वेन्द्र खनालको नेतृत्वमा त्यस्तो कुनै गडबडी नभएको प्रहरी स्रोतको दाबी छ । प्रहरीको उच्च स्रोतले अनलाइनखबरसँग दाबी गर्‍यो, ‘आयोगमा उजुरी परेपछि कागजात जाँच गर्नु स्वाभाविकै हो, तर, अहिलेको प्रहरी नेतृत्वले कुनै गडबडी नगरेको हुँदा त्यो उजुरी खासै अगाडि बढ्ने स्थिति देखिँदैन ।’

तर, अख्तियार स्रोत भने यो उजुरीमाथि प्रारम्भिक अध्ययन र छानविन भइरहेको बताउँछ ।

अख्तियारमा परेको उजुरीमा के छ ?

नेपाल प्रहरीले एउटै मोटरसाइकल ४५ लाख रुपैयाँमा किनेको बिल पेश गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । त्यो पनि एउटा, दुईवटा होइन, ४८ वटा मोटरसाइकल । गत आर्थिक वर्षमा सवारी साधनमा विनियोजित ८० करोडमध्ये सबैमा ठूलो कमिशनको रकम लिई सेटिङमा सवारी साधन खरिद गरिएको र त्यसको सबैभन्दा बलियो प्रमाण एउटा मोटरसाइकलको मुल्य नै ४५ लाखमा खरिद गरिएको कागजात मिलाइएबाट पुष्टि हुने उजुरीमा भनिएको छ ।
प्रहरीले विभिन्न सामाग्री खरिद गर्दा कम्तिमा दुई अर्ब ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको उजुरीमा अख्तियारमा पुगेको छ । अख्तियार स्रोतका अनुसार मेशिन औजार, लत्ता कपडा, खुद्रा सामान, वर्षादी, स्लिपिङ ब्याग, सवारी साधनलगायतका सामग्री खरिदमा कम्तिमा २४ पटक भ्रष्टाचार भएको देखिन्छ । प्रहरीमाथि बिनाटेन्डर सामान खरिद गरिएको, मोटो कमिशन असुलेको, कमसल सामानलाई महँगोका खरिद गरेको, सामानै खरिद नगरी नक्कली बिल बनाएर राज्यकोष दोहन गरेको आरोप लागेको छ ।

राज्यको रकम जसरी पनि सिध्याउन अनावश्यक शीर्षकमा खर्च गरिएको, सवारी साधन मर्मतै नगरी भुक्तानी लिएको अख्तियारले जानकारी दिएको छ । उजुरीमा भनिएको छ, ‘मर्मत गर्नुपर्ने पुराना सवारी साधनहरू लिलामी गरेको र मर्मतै नगरेको सवारी साधनहरू मर्मत गरेको भनी ४ करोड ४५ लाख रुपैयाँ नक्कली बिल भर्पाई बनाई सो रकम अनियमितता गरेको ।’

बर्दीलाई प्रहरीको शानका रुपमा लिइन्छ । तर, कमिसन कुम्ल्याउन प्रहरी बर्दी खरिदमा समेत अनियमितता गरेको उजुरीमा उल्लेख छ । आर्थिक वर्ष २०७५/०७६ को खरिदमा यस्तो अनियमितता देखिएको दाबी गर्दै उजुरीमा भनिएको छ, ‘…चुस्ता, कटन पेन्ट, वर्षादी, स्लिपिङ ब्याग, उलन सर्ट लगायतका सामग्री खरिद गरिएकोमा सामान बुझाउनुपर्नेमा समय सीमाभित्र नबुझाई ४० प्रतिशत मात्र सामान बुझाई प्रधान कार्यालय प्रबन्ध शाखाबाट आईजीपीको निर्देशनमा सम्झौता रकम भुक्तानी गरी स्पेसिफिकेशन अनुसार पास नै नभएको सामानहरूको भुक्तानी गरी भ्रष्टाचार गरेको ।

त्यसैगरी प्रहरीले प्रयोग गर्ने पाल, फरेश क्याप, ट्राफिकले प्रयोग गर्ने वर्षादी , गम बुट, नाईलन पटी खरीद गर्दा ३५ लाख ७५ हजार ५३१ भ्रष्टाचार गरेको उजसरी अख्तियारमा दर्ता छ । जय सलिना ईन्टरप्राईजेज/ जय श्री सप्लायर्सबाट ३८ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको २१ ल्ाख ५२ हजार मिटर सर्ट पाइन्टका लागि कपडा खरिद गर्दा ठूलो रकम चलखेल भएको दाबी छ ।

लत्ता कपडा शीर्षकमा विनियोजित ५० करोडमध्ये अधिकांश रकम किन्दै नकिनेको कपडा खरिद गर्दा २० प्रतिशत लत्ता कपडा भण्डारण भए पनि १०० प्रतिशतकै भुक्तानी लगेको बताइएको छ ।

त्यसैगरी समुदाय प्रहरी साझेदारी अन्तर्गतको कार्यक्रमको कोटेशनबाट २ करोड ५० लाख रुपैयाँ चेकबाट भुक्तानी भएको देखिन्छ । तर, त्यसको जम्मा ४५ प्रतिशतको मात्रै सामान खरिद गरिएको उजुरीमा छ । समुदाय प्रहरी साझेदारीअन्तर्गत नै स्पिकर नै खरिद नगरी सो बापतको बिनियोजित रकम अनियमितता भएको दाबी गरिएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा खरिद गरिएको जुत्ता गुणस्तरहीन भएपछि गुणस्तर समितिले परीक्षणका लागि भारतको एसजीएसमा पठाउने निर्णय गर्‍यो । आर्थिक वर्ष २०७५/०७६ मा निकालेको टेण्डर एसके ट्रेडर्सले ३ करोड २१ लाखमा पायो ।

तर, एसके ट्रेडर्सले गोदाम मक्किएर बसेको जुत्ता बुझाएर भुक्तानी लग्यो । उसले नयाँ जुत्ता भित्र्याएको प्रज्ञापन पत्र बुझाउन सकेन । ‘एसके ट्रेडर्सका ठेकदारँग फसेको जुत्ता खरिद गरी ५० लाख घुस लिई भ्रष्टाचार गरेको’ उजुरीमा उल्लेख छ । फुटकर शाखाबाट लेखा भुक्तानीका लागि पठाएको बिलमा पनि अधीक बिजकीकरण, खरिद गरिएको कम्पनीको नक्कली नाम र फोटोकपी गरिएको बिल प्रयोग भएको उजुरीमा उल्लेख छ । फुटकर शाखाले जेनेरेटर बिगि्रँदा १५ लाखको सामान फेरेको बिल पेश गरेको उजुरीमा उल्लेख छ ।

अख्तियारमा परेको उजुरीका केही बुँदाहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment