Comments Add Comment

विदा भए सर्वेन्द्र खनाल, नयाँ आईजीपी नियुक्त गरिँदै

२७ माघ, काठमाडौं । कुनै अड्चन आएन भने नेपाल प्रहरीले आजै नयाँ नेतृत्व पाउनेछ । मन्त्रिपरिषदको आजकै नियमित बैठकले नयाँ आईजीपी नियुक्त गर्ने सम्भावना रहेको एकजना मन्त्रीले बताए । सम्भवतः हालका डीआईजी ठाकुर ज्ञवाली नयाँ आईजीपी नियुक्त हुनेछन् ।

प्रहरी नियमावलीबाट ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने अन्तिम कसरत असफल भएपछि नेपाल प्रहरीमा अब ९० औं ब्याजको वैकल्पिक टोलीबाटै महानिरीक्षक नियुक्ति हुने देखिएको छ ।

यो समूहका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरी नेतृत्व बन्ने दौडमा छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले उपत्यकाका सबै प्रहरी युनिटलाई स्वागतको तयारी थाल्न निर्देशात्मक पत्राचार गरिसकेका छन् । २९ माघका दिन नवनियुक्त प्रहरी महानिरीक्षकको स्वागत, पदवहाली तथा निर्देशन सम्बोधनको कार्यक्रम राखिएको भनिएको छ

हालका आईजीपी सर्वेन्द्र खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले सेवा अवधिका कारण २९ माघमा अवकाश पाउँदैछन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाउनेछन् ।

यदि नियमावलीबाट सेवाहदको प्रावधान हटेको भए हालका आईजीपी खनालको कार्यकाल लम्बिने थियो भने खनालकै समकक्षी केदार रिजाल उनका उत्तराधिकारी बन्ने थिए । यद्यपि, सेवाअवधि नहट्ने संकेत प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले वैकल्पिक टोलीबाट नियुक्त हुने नयाँ आईजीपीको स्वागतको तयारी थालेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले उपत्यकाका सबै प्रहरी युनिटलाई स्वागतको तयारी थाल्न निर्देशात्मक पत्राचार गरिसकेका छन् । बिहीबारै गरिएको पत्राचारमा २९ माघका दिन नवनियुक्त प्रहरी महानिरीक्षकको स्वागत, पदवहाली तथा निर्देशन सम्बोधनको कार्यक्रम राखिएको भनिएको छ ।

पत्रमा ड्यूटीमा परेका बाहेक सबै सिनियर प्रहरी अधिकृतलाई अनिवार्य रुपमा उपस्थित हुन भनिएको छ । ‘वहालवाला प्रहरी महानिरीक्षकज्यूको विदाइ र भावी आइजी सा’बको स्वागतका लागि एक साता अघिबाटै तयारी थाल्ने हाम्रो पहिल्यैदेखिको परम्परा हो’, प्रहरी नायब महानिरीक्षक (डीआइजी) क्षेत्रीले अनलाइनखबरसँग भने, ‘स्वागत विदाइको हाम्रो आफ्नै शैली भएकाले पनि अगाडिबाटै तयारी थालिन्छ ।’

५ महिने आईजीपी

ठाकुर र तारिणीमध्ये एक जना सेवाअवधि कायमै रहे पाँच महिनासम्म प्रहरीको नेतृत्व सम्हालेछन् । सेवाहदका कारण उनीहरुले २४ असारमा अवकाश पाउनेछन् ।

वरियतामा ठाकुर अगाडि रहेकाले उनी नै महानिरीक्षकका प्रबल दाबेदार हुन् । विगतमा जस्तो यसपटक महानिरीक्षकका लागि तीब्र प्रतिष्पर्धा पनि देखिँदैन ।

सत्तारुढ नेकपा निकट मानिने ठाकुर केही दिन काठमाडौं बसेर आफ्नो कार्यक्षेत्र १ नंं. प्रदेश प्रहरी कार्यालय, विराटनगर फर्किसकेका छन् ।

सुदूपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालिरहेका लम्साल भने काठमाडौंमा छन् । यद्यपि, उनी त्यति सक्रिय छैनन् । भन्छन्, ‘अब केही गर्नुले अर्थ पनि राख्दैन । हामी दुवै जनाले बाहिर नबोल्ने निर्णय गरेका छौं ।’

उनीहरु २७ असार २०४७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । यो टोलीका सूर्यप्रसाद उपाध्याय डीआईजी बढुवा हुँदा ९१ औं ब्याचका शैलेश थापा क्षेत्री, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीभन्दा पछि परेपछि प्रतिष्पर्धामा छैनन् ।

ठाकुर र तारिणीमध्ये एक जना सेवाअवधि कायमै रहे पाँच महिनासम्म प्रहरीको नेतृत्व सम्हालेछन् । सेवाहदका कारण उनीहरुले २४ असारमा अवकाश पाउनेछन्

उनीहरु छोटो समयका लागि आईजीपी बन्ने भएकाले अहिले एआईजी बढुवाका लागि दौडधुप बढेको छ । आईजीपी नियुक्तिभन्दा एआईजी बढुवाका लागि भइरहेको प्रतिष्पर्धा रोचक छ ।

१९ वैशाख २०४९ मा भर्ना भएका थापा, पाल, शाही, कार्कीसहित वैकल्पिक टोलीका डीआईजी विश्वराज पोखरेल एआईजी बढुवाका लागि प्रतिष्पर्धामा छन् ।

काभ्रेमा डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि रिक्त रहेको एउटा पदमा पोखरेल बढुवा भएका थिए । उनका ब्याजी धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनीलगायत अहिले डीआईजी बढुवाको लाइनमा छन् ।

हाल एक जना डीआईजीको दरबन्दी खाली रहे पनि तीब्र लबिइङका कारण बढुवा हुन सकेको छैन । त्यसो त पोखरेलभन्दा अगाडिका पुरुषोत्तम कँडेल, गणेश ऐर, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, देबबहादुर बोहोरा र वसन्तकुमार पन्त पनि एसएसपी नै छन् ।

तर, डीआईजी बढुवामा वरिष्ठ भएपछि उनी पनि एआईजीका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । यदि पोखरेल अहिले एआईजीमा बढुवा भए, पाँच महिनापछि हुने आईजीपी नियुक्तिमा पनि दाबेदारी प्रस्तुत गर्नेछन् ।

बढुवाको प्रावधान

प्रहरी नियमावलीमा एआईजी वा एआईजी नभएको अवस्थामा डीआईजीबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने उल्लेख गरिएको छ ।

नियमावलीको परिच्छेद ४ को बढुवासम्बन्धी व्यवस्थाको दफा ४१ मा भनिएको छ, ‘प्रहरी नायब महानिरीक्षक मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ ।’

विगतमा प्रकाश अर्याल र सर्वेन्द्र खनाल डीआईजीबाटै आईजीपी नियुक्त भएका हुन् । उपयुक्त करियर प्लानिङ नहुँदा सरकारले यसपटक पनि डीआईजीबाटै महानिरीक्षक नियुक्त गर्दैछ ।

एआईजीको अनुभवविनै आईजीपी बनाउँदा संगठनमा समस्या देखिएको भन्दै सुरक्षा सम्बद्ध अधिकृतले चिन्ता व्यक्त गर्दै आएका छन् । ‘विनाअध्ययन हुने गरेका जथाभावी निर्णयले संगठनलाई कमजोर बनाइरहेका छन्’, पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन् ।

यो समस्या समाधानका लागि ‘करियर प्लानिङ’ सहित ३० वर्षे सेवाअवधिको प्रावधान हटाउनु आवश्यक रहेको उनको तर्क छ । यद्यपि, कुन बेला सेवाअवधि हटाउँदा कम असर पर्छ भन्ने चाहिँ विचार गरिनुपर्ने उनको तर्क छ । ठकुरी भन्छन्, ‘अध्ययन गरेर कुनै पनि ब्याचका अधिकृतलाई अन्याय नहुने गरी निश्चित सीमा राखेर सेवाअवधिको प्रावधान हटाउनु उपयुक्त हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment