Comments Add Comment

आईजीपी ज्ञवालीको विराटनगर बसाइ : सिद्धबाबासँग थुरथुर !

सात महिनाको विराटनगर बसाइमा ज्ञवालीले केके गरे ?

२९ माघ, विराटनगर । निवर्तमान डीआइजी ठाकुरप्रसाद ज्ञवाली मंगलबार प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त हुनुअघिसम्म प्रदेश १ का प्रहरी प्रमुख थिए । गत असार ८ मा विराटनगर आएका ज्ञवालीले पूर्वको छोटो बसाईमा के–के काम गरे ?

सिंगै प्रहरी संगठनको नेतृत्व सम्हाल्न पुगेका ज्ञवालीको विराटनगर बसाइको यहाँ सामान्य समीक्षा गर्ने प्रयास गरिएको छ ।

ज्ञवालीले गरेका सुधारका प्रयास

प्रदेश १ को ७ महिने बसाइमा ज्ञवालीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा सुधारका प्रयासहरु गरे ।

सरकारबाट प्रतिबन्धित विप्लव समूहलाई नियन्त्रणमा लिन ज्ञवालीले आफ्नो कार्यकालमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरे । तथापि मोरङमा एक्साभेटर जलाउने, गाउँपालिकामा बम पड्काउने विप्लव समूहका गतिविधि जारी नै छन् ।

ज्ञवालीको नेतृत्वमा प्रदेश १ का सबै जिल्ला इञ्चार्जसहित ८६ जना विप्लव समुहका नेता कार्यकर्ता पक्राउ परेको प्रहरी स्रोत बताउँछ । विप्लव समूहलाई नियन्त्रणमा लिन प्रदेश प्रहरीको विशेष रिजनल इन्भेस्टिगेशन टिम (रिट) परिचालन भएको थियो । ‘रिट’ प्रदेश प्रहरी प्रमुखको कमाण्डमा चल्ने अप्रेशनल टिम हो ।

ज्ञवालीको कार्यकालमा पहाडी जिल्लामा गाँजाखेती विरुद्ध अभियान चल्यो । ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानमा १ लाख ८७ हजार ३९० गाँजाको बोट नष्ट गरिएको प्रदेश प्रहरीको रिपोर्ट छ ।

त्यस्तै, ज्ञवालीले आफ्नो कार्यकालमा दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक बस टाइम कार्ड लागू गर्नुका साथै राजमार्गमा सीसी क्यामेरा जडान गराए ।

ज्ञवालीले जिल्लाका प्रमुखसँग छलफलका लागि भिडियो कन्फ्रेन्स पनि सुरु गरे । प्रदेश १ का १३ वटा प्रहरीका नयाँ भवन ज्ञवालीले उद्घाटन गरे ।

पाँचथरमा गत जेठको पहिलो साता एकै परिवारका ९ जनाको हत्या भएको घटनाको उनले अनुसन्धान पूरा गरे ।

यो पनि पढ्नुहोस झिम्रुकको पानी खाएका आईजीपी : ‘लो प्रोफाइल’का भाग्यमानी !

अधुरै रहेका अनुसन्धानका काम

विराटनगरका पूर्वपत्रकार जयप्रसाद दाहालको हत्या प्रकरणको उनले अनुसन्धान पूरा गरेनन् । २२ मंसिरमा विराटनगर २ स्थित आफ्नै घरमा दाहाल जलेको अवस्थामा मृत भेटिएका थिए । चक्कुले घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो । हत्यापछि आगो लगाएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरे पनि निष्कर्ष निकालेको छैन ।

त्यस्तै, विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धान पनि निष्कर्षमा पुगेन । गत ७ माघमा सिंघिया खोलामा मृत अवस्थामा भेटिएका घिमिरेको हत्या भएको आफन्तले दाबी गर्दै आएका छन् । ज्ञवाली प्रदेश १ को नेतृत्वमा रहँदा यो अनुसन्धान पूरा हुन सकेन ।

त्यसैगरी भोजपुरको अरुण गाउँपालिका– १ प्याउलीमा रहेको पोखरीमा मृत भेटिएका बालबालिकाको अनुसन्धान प्रकृया पनि अघि बढेन । १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल मृत भेटिएका थिए । हत्या भएको आशंका गरिए पनि सो घटनाको अनुसन्धान पूरा भएको छैन् । यो घटना दुई वर्ष पुरानै हो । तर, ज्ञवालीको नेतृत्वले पनि यसलाई टुंगोमा पु¥याएन ।

त्यस्तै ५ असोज ०७४ मा मोरङको कानेपोखरी गाउपालिका–३ हरकपुरमा चारजनाको ज्यान जाने गरी भएको आगलागी प्रकरणको अनुसन्धानको फाइल पनि विगतमा जस्तै ज्ञवालीको कार्यकालमा पनि खुलेन ।

कानेपोखरी गाउँपालिका–३ हरकपुरका चन्द्रकुमार राईको घरमा रहस्यमय ढंगले आगलागी हुँदा राईसहित उनकी ८६ वर्षीया आमा गंगामाया राई, ४९ वर्षीया श्रीमती पार्वता राई र ४४ वर्षीया बहिनी विष्णुमाया राईको जलेर मृत्यु भएको थियो । घटनापछि आफन्तले हत्याको दाबी गरे । तर, प्रहरीले ठोस प्रमाण नभएको बताउँदै मुद्दा प्रकृया अघि बढाएको छैन ।

सिद्धबाबासँग थुरथुर !

गत असार ८ मा प्रदेश १ मा आएका निवर्तमान डीआइजी ज्ञवालीले सिद्धबाबा प्रकरणमा बाहेक अन्य मुद्दामा खासै आलोचित हुनुपरेन । सिद्धबाबा प्रकरणमा भने उनी आलोचित बने ।

ज्ञवालीकै कार्यकालमा प्रदेश १ का दुईजना उच्च तहका व्यक्तिलाई बलात्कारको आरोप लाग्यो । सिद्धबाबा भनिने कृष्ण गिरी र एसएसपी शौरभ राणाविरुद्ध जबरजस्ती करणीको जाहेरी पर्दा ज्ञवाली नै प्रदेश प्रहरी प्रमुख थिए ।

बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी प्रहरी सुरक्षामै ९ माघमा सीमावर्ती क्षेत्र जोगवनी हुँदै भारततिर भागे । उच्च अदालत विराटनगरमा सिद्धबाबाको मुद्दामाथि सुनुवाइ चलिरहेकै बेला बाबाजी फरार हुनु प्रहरी नेतृत्वका लागि लज्जास्पद घटना थियो । बाबाजीलाई प्रहरीले भगाइरहँदा ठाकुर ज्ञवाली विराटनगरमै थिए ।

सुनसरी जिल्ला अदालतमा जबरजस्ती करणीको अभियोगपत्र दर्ता हुँदा सिद्धबाबालाई तीन सातासम्म प्रहरी हिरासतमा नराखी अस्पतालको भीआइपी रुपमा सम्मानका साथ राख्ने कार्यको नेतृत्व पनि ज्ञवालीले नै गरेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीबाट असहयोग भएको बाबाजीबाट पीडित महिलाले सार्वजनिक गुनासो गरेकी थिइन् । पीडित महिला महान्यायाधिवक्ताको कार्यालयय हुँदै सुनसरीमा न्याय माग्न आएकी थिइन् ।

बलात्कारको आरोप लागेका सिद्धबाबालाई भेट्न ज्ञवाली चतरास्थित आश्रमै पुगेका थिए । पक्राउपछि पनि सिद्धबाबाले प्रहरी हिरासतमा बस्नु परेन । मुद्दा चलिरहेका बेलामा समेत बाबाजीलाई पीएसओ उपलब्ध गराएका कारण ज्ञवालीको आलोचनाको पात्र बने ।

यो पनि पढ्नुहोस ‘प्रहरीमा गैरव्यवसायिक आचरण निर्ममतापूर्वक निर्मूल गर्नेछु’

‘रिक्स जोन’ भन्दा ‘सेफ साइट’ मा रुचि

प्रदेश प्रहरी प्रमुखको कार्यायल सीमावर्ती क्षेत्र रानीमा छ । नजिकैको खुला सीमाबाट मरिच, सुकुमेलसहितका सामाग्री तस्करी हुने क्रम ज्ञवालीको कार्यकालमा पनि रोकिएन । सीमामा पसलै थापेर तस्करी हुँदासमेत ज्ञवाली नेतृत्वको प्रहरी दर्शक झैं बनेको गुनासो सुन्ने गरिएको छ ।

‘रिक्स जोन’ मा काम गर्न नचाहेका ज्ञवालीले खुला सीमामार्फत हुने तस्करी नियन्त्रणमा नेतृत्वदायी पहल नगरेको यहाँका सुरक्षा मामिलाका जानकारहरु बताउँछन् ।

आइजीपी बन्ने लाइनमा रहेका ज्ञवालीले ‘रिक्स जोन’मा बसेर काम गर्न चाहेनन् । काम गर्दा उनी सधैं ‘सेफ साइट’मै रहे ।

प्रहरी संगठनभित्र स्वच्छ र इमान्दार छवि बनाएका ज्ञवालीले प्रदेश १ मा आफ्नो ७ महिने कार्यकाल लगभग विवादरहित बिताउने प्रयास गरे । उनी कुनै आर्थिक लेनदेनका विवादहरुमा नमुछिई विराटनगरबाट काठमाडौं फर्कन सफल भए ।

‘समय थोरै छ, विवादमा आउनुहुँदैन भनेर उहाँ सचेत हुनुहुन्थ्यो,’ एक प्रहरी अधिकृत भन्छन् ‘उहाँको पूर्व बसाइ विवादित बनेन ।’

एउटा जोगीलाई हिरासतमा हालेर अनुसन्धान गर्न डराउने उनै ज्ञवाली मंगलबारदेखि नेपाल प्रहरीको आईजीपी पदमा बढुवा भएका छन् । अब उनले प्रहरी संगठनभित्र साहासिक कामहरु गर्लान् या विराटनगरको बसाइमा जस्तै ‘सेभ जोन’ मै बसेर पाँच महिने कार्यकाल गुजार्लान्, त्योचाहिँ हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment