Comments Add Comment

छापामा आज : भ्रष्टाचार मुद्दाका ‘फरार’ गच्छदारलाई प्रहरीबाट १३ सहयोगी

चार हजार सुरक्षाकर्मी नै घरेलु कामदार

१ फागुन, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षादेखि क्रिकेटमा बुधबार नेपाली टिमले हासिल गरेको कीर्तमानी जितसम्मका खबर आजका दैनिक अखबारहरूमा छापिएका छन् । घरेलु कामदारका रूपमा प्रयोग भइरहेका सुरक्षाकर्मीबारेको सामग्री पनि आज छापिएको छ ।

नयाँ पत्रिकाले ‘चार हजार सुरक्षाकर्मी नै घरेलु कामदार’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा गरी चार हजार सुरक्षाकर्मी घरेलु कामदारका रूपमा काम गर्न बाध्य छन् । राष्ट्रको सेवा गर्न सुरक्षा निकायको जागिरे बनेकाहरूलाई तिनका हाकिमले भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा लगाउँदै आइरहेका छन् ।

नयाँ पत्रिका लेख्छ– कतिपय सुरक्षाको नाममा त केहीलाई सहयोगीकै रूपमा दुरुपयोग हुँदै आएको छ । कार्यालय सहयोगी तथा पिपाका नाममा भर्ना भएका कर्मचारी मात्र होइन, सिपाही, हवल्दार तथा असईसम्मका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको छ ।’

भ्रष्टाचार मुद्दाका फरार विजयकुमार गच्छदारलाई प्रहरीबाट १३ सहयोगी उपलब्ध गराइएको अर्को प्रसंगलाई पनि नयाँ पत्रिकाले जोडेको छ । समाचार अनुसार गच्छदारको घरमा खाना पकाउनेदेखि गाडी चलाउनेसम्म प्रहरी छन् । पूर्वगृहमन्त्रीको हैसियतमा उनले यसरी सुरक्षाकर्मीको दुरुपयोग गरिरहेका छन् । भ्रष्टाचार मुद्दा दायर भइसकेपछि पनि उनको घरमा खटिएका प्रहरीलाई गृह मन्त्रालयले फिर्ता नबोलाएको समाचारमा उल्लेखख छ ।

अन्नपूर्णले खर्च र राजस्व लक्ष्य घटेको तथ्यांक प्रस्तुत गरेको छ । यद्यपि, उच्च आर्थिक वृद्धिदरको लक्ष्य भने यथावत् राखिको छ ।

पूर्वप्रधानमन्त्रीविरुद्ध भएको मुद्दा दायरदेखि प्रदेश सरकारभित्रको बेथितिसम्मका विषयलाई अन्नपूर्णले उठाएको छ ।

कान्तिपुरले केपी शर्मा ओली नेतृत्वको सरकारको २ वर्षे कार्यकालको समीक्षा गरेको छ । प्रधानमन्त्री ओलीले कैयन वाचाहरू गरे पनि ती पूरा नभएको कान्तिपुरको निष्कर्ष छ ।

‘वाम गठबन्धनको चुनावी घोषणापत्रमा २, ५ र १० वर्षभित्र गर्ने कामका सूची थिए । तर दुई वर्षमा ठुल्ठूला महत्त्वकांक्षी योजनामा मात्र होइन, ससाना काममा समेत उत्साहजनक प्रगति छैन’, कान्तिपुरले आफ्नो निष्कर्षमा भनेको छ ।

नेपाल ट्रस्टको १७३ रोपनी जग्गा शंकास्पद मोहीका नाममा रहेको अर्को खबर पनि कान्तिपुरमा पढ्न सकिन्छ । कान्तिपुरका अनुसार बाबुराम भट्टराई नेतृत्वको सरकारले काठमाडौंको मातातीर्थ, थानकोट, सतुंगल, साविक इचंगु गाविसको १७३ रोपनी जग्गा मोहीका नाममा बाँडेको हो ।

सरकारले ट्रस्टका नाममा ल्याएको दिवंगत राजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको १७३ रोपनी जग्गा मन्त्रिपरिषद् निर्णयलाई आधार मानी मालपोत कार्यालयले ०६९ मा मोहीका नाममा जग्गा दर्ता गरिएको समाचारमा उल्लेख छ ।

ट्रस्ट कार्यालयले तत्कालीन अन्तरिम संविधान र प्रचलित कानूनको बर्खिलाप हुनेगरी ट्रस्टको जग्गा मोही र उनका हकवालामा दर्ता गरिएको भन्दै छानबिनका लागि सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोजमा निवेदन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment