Comments Add Comment

मलेसियाले भन्यो-विदेशी सुरक्षा गार्डमा नेपालीको विकल्प छैन

२९ माघ, काठमाडौं । मलेसियाको गृह मन्त्रालयले विदेशी सुरक्षा (सेक्युरेटी) गार्डका रुपमा नेपाली कामदारमात्रै राख्न सकिने स्पष्ट गरेको छ ।

मलेसियाका लागि पाकिस्तानबाट १ लाखदेखि १ लाख ५० हजार जना सुरक्षा गार्ड ल्याउने तयारीबारे खबरहरु आइरहँदा त्यहाँको गृह मन्त्रालयले त्यसको खण्डन गरेको हो ।

मन्त्रालयले स्थानीय व्यक्तिलाई नै सुरक्षा गार्डमा रुपमा राख्न सकिने भन्दै बरु स्थानीय सेक्युरेटी कम्पनीलाई त्यसका लागि प्रोत्साहित गरिने बताएको छ ।

समाचार अनुसार १ लाख २० हजार ७६७ स्थानीय व्यक्तिले सुरक्षा गार्डको तालिम पनि लिएका छन् । यसको उद्देश्य सरकारले सेक्युरेटी गार्डबारे बनाएको मापदण्ड पुरा गर्नु हो । मलेसियन सरकारले विदेशबाट सुरक्षा गार्ड ल्याउने नीति अस्थायी भएको बताउँदै आएको  छ ।

यस्तो स्थितिमा नेपालमा पाकिस्तानबाट सुरक्षा गार्ड लैजाने समाचार आएपछि नेपाली कामदारको रोजगारको बजार खोसिने चिन्ता प्रकट भइरहेको थियो ।

मलेसियाका लागि पाकिस्तानी राजदूत अम्ना बलोचले पाकिस्तानी पत्रिका द नेशनसँग नेपालसँग मलेसियाले गरेको सुरक्षागार्डको सम्झौता बदलिएकाले त्यसको फाइदा पाकिस्तानले उठाउने बताएकी थिइन् । अब पाकिस्तानले चाहेजस्तो नहुने देखिएको छ ।

नेपालबाट  पूर्वसेना वा पूर्वप्रहरीसहित आधारभूत तालिम लिएकाहरु पनि मलेसियामा सेक्युरेटी गार्डका रुपमा जाने गरेका छन् ।

मलेसियामा नेपाली सुरक्षा गार्डलाई निकै सकारात्मक रुपमा हेरिन्छ । मलेसियामा इमान्दार र बहादुर भनेर चिनिएका नेपालीको सट्टामा अरुलाई ल्याउने विषय मलेसियाका लागि असजिलो रहेको बुधबारको गृह मन्त्रालयको स्पष्टीकरणले पनि देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment