+
+

झिम्रुकको पानी खाएका आईजीपी : ‘लो प्रोफाइल’का भाग्यमानी !

गौरव पोखरेल गौरव पोखरेल
२०७६ माघ २८ गते १९:५०

२८ माघ, काठमाडौं । जतिबेला सर्वेन्द्र खनाल डीआईजीबाट सीधै प्रहरी महानिरीक्षक (आईजीपी) मा फड्को मार्दै थिए, उनलाई आम नागरिकले ‘सेलिब्रेटी’ का रुपमा चिनिसकेका थिए । मंगलबार डीआईजीबाट आईजीपीमा उसैगरी ‘जम्प’ हानेका ठाकुर ज्ञवालीका बारेमा भने धेरैलाई थाहा छैन । नवनियुक्त ज्ञवाली सर्वेन्द्र खनालजस्ता ‘सेलिब्रेटी’ होइनन् ।

‘सेलीब्रेटी’ नभएर के भो ! आईजीपी ज्ञवाली भाग्यमानीचाहिँ अवश्यै हुन् ।

विगतमा आईजीपी नियुक्त हुँदा धेरै चलखेल र मुद्दा मामिला हुने गरेको थियो । ज्ञवाली निर्विवादरुपमा, फुत्त आईजीपी हुन आइपुगेका छन् । ‘लो प्रोफाइल’ मै बसेर काम गर्दागर्दै सरल स्वाभावका ज्ञवालीले आगामी ५ महिनाका लागि आईजीपीको फुली लगाउने अवसर पाएका छन् ।

विवादको सिलसिलामा ‘ब्रेकअप’

चार वर्षअघि सरकारले आईजीपीमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल सर्वोच्च अदालत पुगे । विवाद चर्किँदै जाँदा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध पनि महाभियोग दर्ता भयो ।

उपेन्द्रकान्त अर्याल आईजीपीमा बढुवा हुँदा प्रतिस्पर्धी एआईजी राजेन्द्रसिंह भण्डारी प्रहरी प्रधान कार्यालय टेकेनन् । उनीहरुबीच बोलचालसमेत बन्द भएको प्रहरी अधिकृतहरु स्मरण गर्छन् ।

सेवाहदका कारण अनिवार्य अवकाश पाएर सोमबार घर जाँदै गरेका सर्वेन्द्र खनाल महानिरीक्षकमा नियुक्त हुँदा पनि ब्याची रमेश खरेलले सहजरुपमा लिन सकेनन् । ‘नालायक नेतृत्व भएको ठाउँमा काम गर्दिनँ’ भन्दै खरेल प्रहरी सेवाबाट बाहिरिए । खरेलले राजीनामा दिए पनि खनालको एआईजी पुष्कर कार्कीसँग सुमधुर सम्बन्ध हुन सकेन ।

तर, २८ औं आईजीपी नियुक्तिका बेला भने खासै विवाद देखिएन । सुरक्षा सम्वद्ध अधिकारीहरुका अनुसार नेपाल प्रहरी संगठनको इतिहासमा ‘निर्विवादित’ रुपमा महानिरीक्षक नियुक्ति हुनु विरलै देखिने घटना हो ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्, ‘यसपालि आईजीपी नियुक्त हुनु एक साताअघिसम्म पनि त्यस्तो कुनै चर्चा भएन । न पहिले जस्तो मिडियामै आरोप–प्रत्यारोप र प्रचारका होडबाजी चले ।’ यसअघि महानिरीक्षक नियुक्तिमा एकाअर्काबीच देखिएको तीब्र दोषारोपणले यो पटक प्रवेश नपाउनु सुखद् भएको ती अधिकृत सुनाउँछन् ।

त्यसो त हालका आईजीपी खनालसहित एआईजी र डीआईजीले ३० वर्षे सेवा हद हटाएर जागिर लम्ब्याउने प्रयत्न नगरेका भने होइनन् । यद्यपि, प्रयास सफल हुने संकेत नपाएपछि सबै मौन रहे ।

आईजीपी बन्ने प्रतिस्पर्धामा रहेका तीन जनामध्ये सूर्यप्रसाद उपाध्याय डीआईजी बढुवाका वेला ९१ औं टोलीका शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीभन्दा पछि परे । त्यसैले उनी महानिरीक्षकको दौडमै देखिएनन् ।

बाँकी रहेका दुई जनामा ठाकुर ज्ञवाली वरिष्ठ थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग पनि निकट मानिएका ज्ञवाली आफू स्वभाविक रुपमा हकदार भएकाले आईजीपी हुनेमा ढुक्क थिए । प्रतिस्पर्धी तारिणीप्रसाद लम्साल पनि ज्ञवाली आईजीपी बने फरक नपर्ने बताउँदै हिँडेका थिए ।

विगतमा कांग्रेस निकट रहेको ‘ट्याग’ लागेकाले पनि लम्साल महानिरीक्षकभन्दा अतिरिक्त महानिरीक्षक (एआईजी) को पद सुरक्षित राख्न तल्लीन देखिन्थे । आईजीपीमा आफूलाई निर्विकल्प देखेपछि ज्ञवाली बिहीबारै बिराटनगर फर्किएका थिए ।

हाल उनी १ नं. प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा थिए ।

सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हालिरहेका लम्साल भने पछिल्ला दिन काठमाडौंमै थिए । यद्यपि, त्यति सक्रिय थिएनन् । उनले अनलाइनखबरसँग कुरा गर्दै भनेका थिए, ‘अब केही गर्नुले पनि अर्थ राख्दैन । हामी दुवैजनाले एकअर्काविरुद्ध नबोल्ने निर्णय गरेका छौं ।’

इमान्दार अफिसरको छवि

प्युठानको साविक बादीकोट गाविस (हालको झिम्रुक गाउँपालिका–१) मा जन्मिएका ठाकुर मध्यमवर्गीय परिवारमा हुर्किए । स्थानीय मच्छी माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनी स्नातक तहको अध्ययन सकेर प्रहरीमा भर्ना भएका थिए ।

कीर्तिपुर क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दैगर्दा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना खुलेको सुनेपछि उनले आवेदन भरेका थिए । परीक्षा दिए, वैकल्पिकमा नाम निस्कियो । केही समयको पर्खाइपछि २७ असार २०४७ सालबाट उनले विधिवत् रुपमा सुरक्षा फौजमा प्रवेश गर्ने मौका पाए ।

परिवारका माइला छोरा ठाकुरका कान्छा भाइ श्यामलाल ज्ञवाली पनि अहिले प्रहरीमै छन्

जागिरसँगै पढाइलाई निरन्तरता दिँदै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे । पछि ज्ञवालीको परिवार पनि प्युठानबाट बसाइँ बसेर दाङमा झर्‍यो ।

द्वन्द्वकालका बेला प्रहरी निरीक्षक हुँदा उनले रुकुममा बसेर दुईपटक काम गरे । सेवा प्रवेशको ११ वर्षपछि प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भए । डीएसपी हुँदा बुटवल, अपराध महाशाखा लगायतमा रहेर कार्यसम्पादन गरे ।

प्रहरी उपरीक्षक (एसपी) का रुपमा उनले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखासहित दाङ, बारा र झापा जिल्लाको कुशल नेतृत्व गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेर पनि काम गरेको अनुभव ज्ञवालीसँग छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि ज्ञवालीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रमा काम गरे । संयुक्त राष्ट्र संघबाट शान्ति स्थापनार्थ उनी एकपटक एफपीयू (यूएन फम्ड पुलिस युनिट) र दुईपटक अनपोल मिसनमा सहभागी भएका छन् ।

यो अवधिमा उनी कुनै विवादमा परेनन् । त्यसो त कमाण्ड सम्हालेका बेला कुनै घटना वा अनुसन्धान त्यति चर्चामा पनि आएन । जति घटना भए, सफल अनुसन्धान गरिए । त्यसैले उनलाई संगठनमा ‘लो–प्रोफाइल’ अधिकृतका रुपमा चिनिन्छि ।

‘लागूऔषध नियन्त्रण ब्युरोमा उनी मसँगै थिए’, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, ‘मेरो अनुभवमा उनी इमान्दार, नैतिकवान र आफ्नो कुरा प्रस्टसँग राख्न सक्ने अधिकृत हुन् ।’

कर्मचारीलाई भेदभाव गर्ने प्रवृत्ति पनि उनमा नरहेको ठकुरी सम्झन्छन् ।

‘सिपाही, हवल्दार, इन्स्पेक्टर, डीएसपी भनेर फरक–फरक व्यवहार होइन कि सबैलाई समान व्यवहार गर्ने उनको बानी हो’, ठकुरीले अनलाइनखबरसँग भने, ‘सबैसँग उनको व्यवहार दाजुभाइको जस्तो थियो ।’

परिवारका माइला छोरा ठाकुरका कान्छा भाइ श्यामलाल ज्ञवाली पनि अहिले प्रहरीमै छन् । उनी अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

प्रहरीमा वैकल्पिक समूह सधैं दोस्रो प्राथमिकतामा परेको अधिकृतहरु बताउँछन् । ज्ञवालीले भने पहिलोपटक वैकल्पिक टोलीबाट संगठन हाँक्ने अवसर पाएका छन् । तर, उनको यो कार्यकाल चुनौतिपूर्ण रहेको अधिकृतहरु बताउँछन् ।

चुनौतीका चाङ

उनको पहिलो चुनौति भनेको समय नै हो । ठाकुरले ३० वर्षे सेवा हदका कारण २४ असारसम्म प्रहरीको नेतृत्व गर्नेछन् । पाँच महिने अवधि आफैंमा छोटो समय हो ।

यो अवधि ७६ हजारको फोर्स बुझ्दाबुझ्दै सकिनेमा सुरक्षा सम्वद्ध अधिकारीहरु चिन्ता व्यक्त गर्छन् । अझ एआईजीको समेत अनुभवविना डीआईजीबाटै महानिरीक्षक हुँदा उनले नेतृत्व तहको अनुभव गर्न पाएका छैनन् । यसले पनि समस्या सिर्जना गर्न सक्ने देखिन्छ ।

अहिले प्रहरीमा एक डीआईजी, नौ एसएसपी, १५ एसपी तथा ४५ डीएसपीको पद रिक्त छ । सर्वोच्च अदालतले तत्कालीन एसएसपी यादवराज खनालले दायर गरेको रिटमा दरबन्दी रिक्त भएको तीन महिनाभित्र बढुवा गरिसक्न सरकारलाई निर्देशन दिएको छ ।

तर, एसएसपी पद रिक्त भएको १० महिना भइसक्यो, अहिलेसम्म पदपूर्ति भएको छैन । यसले प्रहरी अधिकृतमा नैराश्यता बढाएको छ । यो स्थितिमा नयाँ आईजीपी ठाकुरको परीक्षा यहीँबाट सुरु हुन्छ । र, सुरुवातमा उनका आफ्नै समकक्षी एआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

९१ औं समूहका शैलेश थापा, हरि पाल, विश्वराज पोखरेलहरु पनि यहीबेला एआईजीमा छिरेर भावी महानिरीक्षकको स्थान सुरक्षित गर्ने होडमा छन् ।

प्रहरीको सरुवा–बढुवामा राजनीतिक शक्ति केन्द्रको पनि चासो रहने गर्छ । बढुवामा अन्यायमा परेको गुनासो हरेकपटक आउने गरेको छ । त्यसैले उनको कार्यकालको मूल्यांकन सुरुवातमै हुँदैछ ।

एसएसपी पद रिक्त भएको १० महिना भइसक्यो, अहिलेसम्म पदपूर्ति भएको छैन । यसले प्रहरी अधिकृतमा नैराश्यता बढाएको छ । यो स्थितिमा नयाँ आईजीपी ठाकुरको परीक्षा यहीँबाट सुरु हुन्छ

आफ्ना समकालीन एआईजी र डीआईजीसँग निवर्तमान आईजीपी खनालको कार्यकालभर सुमधुर सम्बन्ध भएन । नीतिगत र दूरगामी असर पार्ने निर्णयअघि बसिने पुलिस कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक खनालको कार्यकालमा अत्यन्त न्यून मात्र बस्यो । अब ज्ञवालीले कसरी संगठन हाक्लान् भन्ने पनि चासोका साथ हेरिएको छ ।

आईजीपीको मात्र होइन, प्रहरी हेडक्वार्टरको सामूहिक निर्णयबाट संगठन चलाउन सके कार्यकाल सफल हुने विगतले देखाएको छ । ज्ञवाली पनि भन्छन्, ‘म पुराना गल्ती दोहोरिन दिन्न ।’

अहिले प्रहरीमा नेतृत्व परिवर्तन हुँदैपिच्छे नयाँ सांगठानिक प्राथमिकता ल्याउने गरिएको छ । गृहमन्त्री फेरिँदैपिच्छे पनि नयाँ कार्ययोजना आउने गरेको छ । ठाकुरले पाँच महिने कार्यकालका लागि कसरी प्राथमिकता र कार्ययोजना तय गर्छन् भन्ने पनि हेर्न लायक हुनेछ ।

संगठनलाई संघीय संरचनामा लान बनेको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अहिले राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भइसकेको छ । र, राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार प्रमाणीकरण भइसकेको छ ।

यो अवस्थामा ठाकुरसामू प्रहरी समायोजनको सुरुवात गर्ने जिम्मेवारी पनि आइपर्छ । यसलाई पनि उनको अर्को चुनौतिका रुपमा हेरिएको छ ।

संगठनकै एम्बुसमा पर्न थालेपछि अहिले अनुसन्धानका लागि अधिकृतहरु डराउनुपर्ने स्थिति छ । साढे ३३ किलो सुनकाण्डदेखि निर्मला हत्या प्रकरणसम्ममा अनुसन्धान अधिकृत नै आरोपित बनाइएका छन् । यो स्थितिमा प्रहरीको गिरेको मनोबल उकास्नुपर्ने चुनौति पनि ठाकुरसामू छ ।

नवनियुक्त आईजीपी ज्ञवालीलाई उनका समकालीनहरु इमान्दार र स्वच्छ छविका प्रहरी अधिकारीका रुपमा चिन्छन् । तर, ‘फस्ट म्यान’ भएर फौजको नेतृत्व गरेको अनुभवचाहिँ उनीसँग नभएकाले यसमा चाहिँ धेरैले ‘शंकाको सुविधा’ दिनुपर्ने बताउने गरेका छन् । भलै उनको कार्यावधि ५ महिनाभन्दा लामो नहुने भएकाले प्रहरीले उनको नेतृत्वमा क्षति नै व्यहोर्ने अवस्था नरहेको विश्लेषण प्रहरी संगठनभित्र हुँदै आएको छ ।

इमान्दार एवं सादगी छविका आईजीपी ठाकुरले अब आफ्नो कार्यकाललाई सरुवा–बढुवामा मात्र सीमित राख्छन् वा छोटो समयमा पनि सम्झनलायक व्यवसायिक काम गरेर घर जान्छन् भन्ने चाहिँनिकट भविश्यले बताउला ।

लेखकको बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment