Comments Add Comment

रेडियो दिवसमा रेडियोको भूमिकाबारे छलफल

१ फागुन, काठमाडौं । नवौं रेडियो दिवसको अवसरमा बिहीबार ललितपुरमा रेडियोको भूमिकाको विषयमा छलफल गरिएको छ ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) ले आयोजना गरेको ‘रेडियो र विविधता’ विषयक छलफलमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सामुदायिक रेडियोहरुको सहभागितामा नै सञ्चार नीति ल्याउनुपर्ने बताए ।

समुदायमैत्री सञ्चार नीति ल्याउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै उनले नेपालको साँस्कृतिक विविधता र राष्ट्रिय अखण्डताका लागि सामुदायिक रेडियोले विषय उठान गर्नुपर्ने बताए ।

मुुलुकको कुनाकाप्चासम्म पुगेकाले अहिले सामुदायिक रेडियो प्रभावकारी सञ्चारमाध्यम रहेको भन्दै खनालले रेडियोले संसदमा हुने गतिविधिलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे । नेपालमा एफएम रेडियोलाई पहिलो पटक लाइसेन्स दिँदा खनाल सञ्चारमन्त्री थिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले समाचारमा विविधता ल्याउनमा रेडियोको भूमिका महत्वपूर्ण रहेको बताए । संविधानले सबैथोक दिएर पनि आवश्यक कानुन समयमा बन्न नसक्दा नागरिकले केही पनि नपाएजस्तो भएको उनको भनाइ छ ।

अध्यक्ष शर्माले सञ्चारसम्बन्धी सरकारले बनाउन लागेका कानूनले जनता त्रसित हुनुपर्ने अवस्था रहेको बताए । ‘कस्ता कस्ता विधेयक ल्यायौँ, जनता त्रसित हुनुपर्ने अवस्था छ । संविधानले लेखेका वाक्यका भावना अनुसारको काम हुन सकेन’ उनले भने ।

नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले नेपालको राजनीतिक आन्दोलनका उपलब्धीमा सञ्चारमाध्यमको भावनात्मक सम्बन्ध जोडिएको बताइन् । उनले मिडिया काउन्सिल विधेयकले अभिव्यक्ति स्वतन्त्रालाई कृण्ठित गर्ने खतरा बढेको धारणा राखिन् ।

९० प्रतिशतभन्दा बढी नागरिकको पहुँचमा रहेको रेडियोले सूचना दिन र राज्यलाई खबरदारी गर्न फरक तरिकाले काम गर्नुपर्ने भुसालले बताइन् ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) का अध्यक्ष सुवास खतिवडाले विश्वको पुरानो सञ्चार माध्यम रेडियोका लागि अहिलेको समय चुनौतीपूर्ण भएकाले त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले समाजमा रहेका र हुने गरेका गलत परम्परालाई अन्त्य गर्नमा रेडियोको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

सामुदायिक रेडियोले नागरिकका अधिकार कसरी सुरक्षित गर्न सकिन्छ भन्नेमा वकालत गर्दै आएको भन्दै उनले समाजमा भएका विविधता र बहुलतालाई समेट्न सामुदायिक रेडियोले काम गरिरहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment