+
+
Shares

यूएईले नेपालीका लागि सहज भिसा कहिले दिने ? अझै अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त अरब इमिरेट्सले सुरक्षा कारण देखाउँदै नेपालीका लागि भदौ ३० गतेदेखि भिजिट र वर्किङ भिसामा कडाइ गरेको छ।
  • यूएईले जेलबाट भागेका कैदीहरू फिर्ता नभएसम्म र सुरक्षा अवस्था सामान्य नहुँदासम्म भिसा सहज बनाउने सम्भावना न्यून देखिन्छ।
  • यूएईको भिसा कडाइका कारण दैनिक करिब ५०० भन्दा बढी नेपाली श्रमिक प्रभावित भएका छन् र वैकल्पिक गन्तव्यमा जाने संख्या बढेको छ।

३० असोज, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि वर्किङ भिसा सहज बनाउने सम्भावना हालसम्म टाढै देखिएको छ । भदौ ३० गतेदेखि यूएईले सुरक्षा कारण देखाउँदै नेपालीका लागि भिजिट भिसा र वर्किङ भिसा दुवैमा कडाइ गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा कैदीहरू जेलबाट भागेको र तिनीहरूमध्ये केही यूएईलगायत अन्य मुलुकमा प्रवेश गरेको आशंका गर्दै यूएईले नेपालीको भिसामा कडाइ गरेको हो । यस घटनापछि यूएईले नेपालबाट भिजिट र वर्किङ भिसा दुवैमा नयाँ आवेदन स्वीकृति अस्थायी रूपमा रोकेको छ।

यूएई नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य हो । भिसामा कडाइ भएपछि दैनिक करिब ५०० जनाभन्दा बढी नेपाली श्रमिक प्रभावित भएका छन् । वैकल्पिक रूपमा कतार, ओमान, बहराइन र मलेसिया तर्फ जानेको संख्या बढ्दै गएको श्रम व्यवसायी बताउँछन् ।

भिसा कडाइसँगै यूएईले नयाँ भिजिट भिसाका लागि पनि कडा मापदण्ड लागु गरेको छ । वर्किङ भिसाको हकमा यसअघि नै स्वीकृत भएका श्रमिकलाई मात्र प्रवेश अनुमति दिइरहेको छ । नयाँ भिसा आवेदन हालका लागि रोकिएको छ ।

यूएईले विगतमा अन्य मुलुकमा पनि यस्ता ध्वंसभएपछि त्यहाँका नागरिकका लागि भिसा जारीमा रोक लगाउनले गरेको देखिन्छ ।  गत वर्ष बंगलादेशमा भएको हिंसात्मक घटनापछि त्यहाँका नागरिकलाई वर्किङ भिसा रोकिएको थियो, जुन अझै पूर्ण रूपमा सहज भएको छैन ।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव तथा निलकमल ह्युमन रिसोर्स प्रालिका अध्यक्ष मेघनाथ भुर्तेलका अनुसार यूएईले नेपालीका लागि भिसा सहज कहिले बनाउने भन्ने यकिन छैन । ‘बंगलादेशका लागि झन्डै एक वर्ष बितिसक्दा पनि सहज भिसा खुलेको छैन, त्यसैले नेपालका लागि पनि छिट्टै खुल्ने सम्भावना कम छ,’ उनले भने ।

नेपाली दूतावासका अधिकारीहरूले यूएई सरकारसँग भिसा सहज गराउन पहल गरे पनि त्यहाँका अधिकारीले ‘जेलबाट भागेका कैदीहरू फिर्ता भए कि भएनन् ? लुटिएका प्रहरी हतियार बरामद भए कि भएनन् ? भन्ने प्रश्न उठाउने गरेका छन् ।

दूतावासका अनुसार नेपालभित्रको सुरक्षा स्थिति र प्रशासनिक स्थिरता पूर्ण रूपमा सामान्य नहुँदासम्म यूएईले भिसा सहज बनाउने सम्भावना न्यून देखिन्छ ।

दुबई विश्वकै प्रमुख रोजगार र पर्यटन केन्द्र हो । भिजिट भिसामार्फत नेपाली पनि ठूलो संख्यामा त्यहाँ पुग्ने गरेका छन् । तर, हालको कडाइपछि भिजिट भिसामार्फत दुबई पुग्ने नेपालीहरूको संख्या तीव्र रूपमा घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?