Comments Add Comment

फत्तेमानलाई फ्यान बनाएकी प्रविशा

पछिल्लो समय गायिका प्रविशा अधिकारी निकै व्यस्त बनिरहेकी छिन् । धेरै चलचित्रकर्मी, गीतकार तथा संगीतकारको रोजाई परिरहेकी छिन्, प्रविशा ।

प्रविशाको चर्चा अहिले सुरु भएको होइन, डेब्यु गीतदेखि नै छ । उनले पहिलो सार्वजनिक गीत चलचित्र ‘कसलाई दिउ यो जोवन’मा समावेश ‘मायामा मायामा’ बोलको थियो । यसै गीतबाट प्रविशाले धेरै प्रशंसक बटुलेकी थिइन् ।

उक्त गीत रिलिज हुदा धेरैले प्रविशाको स्वरलाई तारिफ गरे । उनको स्वरलाई कुनै विदेशी गायिकासँग तुलना भइरहेको थियो । प्रविशा खुसीले गदगद थिइन् ।

उक्त गीत सार्वजनिक भएपछि प्रविशालाई धेरै गीतहरुका अफर आए । उनी गाउनमा व्यस्त बनिन् । उनका गीतहरु हिट भइरहेका थिए । उनको स्वरमा खुसी, न बिर्से तिमीलाई न पाएँ तिमीलाई, हाम्रो माया जुनी जुनीलाई, मायाको बारीमा, इशारा, लंका, मन्जरी, नोभेम्बर रेन, होमवर्कलगायतका चलचित्रका गीत रेकर्ड भएका थिए । धेरै गीतहरु हिट थिए ।

यत्तिका गीत हिट हुँदा पनि गुमनाम थिइन्, प्रविशा । उनलाई धेरैले खोजिरहेका थिए । तर, प्रविहा न मिडियामा आइन् न कुनै कार्यक्रममा नै पुगिन् । उनी साँच्चिकै गुमनाम तर हिट गायिका सावित भइरहेकी थिइन् ।

अहिले भने प्रविशालाई दर्शकले चिन्न थालेका छन् । पछिल्लो समय मिडियामा आइरहेकी छिन् । अन्तर्वार्ताहरु दिइरहेकी छिन् । स्वरबाट मात्र चिनिएकी प्रविशा अहिले अनुहारबाट पनि चिनिन थालेकी छिन् ।

जब चलचित्र ‘रोज’मा समावेश ‘फूल हैन’ समावेश गीत गाइन् त्यसपछि मात्र प्रविशा मिडियामा आउन थालेकी हुन् । उनको पछिल्लो हिट गीतमा ‘ए मेरो हजुर ३’को शिर्ष गीत पनि हो ।

किन गुमनाम थिइन् प्रविशा ?

अहिले प्रविशालाई धेरैले सोध्ने एउटै प्रश्न छ, ‘किन गुमनाम बस्नुभयो ?’

प्रविशा आफूलाई स्टारडमको डर भएकाले गुमनाम नै बसेको बताउँछिन् । उनले भनिन्, ‘मलाई स्टार भएर आफूलाई नै गुमाउने हुँ कि भन्ने डर थियो । मलाई मेरो संसारमा बाँच्न पुगेकै थिएन । स्टार भएपछि बाँधिनु पर्ने डरले मिडियामा आउन मन लागेन ।’

प्रविशालाई खुल्ला जीवन जिउने मन थियो । उनलाई सार्वजनिक गाडीमा हिँड्ने, टेम्पो चढ्ने, बाटोमा पुगेर पानीपुरी खाने रहर हुन्थ्यो । आफू सार्वजनिक भए वा मिडियामा आए त्यो गुम्ने हो कि भन्ने कुराले उनलाई गुमनाम बनाइरहेको थियो ।

उनलाई आफू मात्तिने हो कि भन्ने अर्को डर थियो । सबैतिर हाई–हाई चलिरहदाँ मत्तिएर आफूलाई ठुलो देख्ने भ्रम पलायो भने टिक्न गाह्रो हुने उनले बुझेकी थिइन् ।

अर्को कुरा, उनलाई ‘मिडिया फेस’ गर्न सक्छु भन्ने आँट थिएन । प्रविशा भन्छिन्, ‘म त टिन एजमा नै थिए । त्यो बेला मैले मिडिया फेस गर्न सक्छु जस्तै लागेन । मेलै केही गल्ती गर्ने हुँ कि भन्ने डरले पनि अन्तरवार्ता दिइन् ।’ उनलाई नकारात्मक प्रतिक्रियाले मन दुखाउँथ्यो । त्यसैले नराम्रो कमेन्ट सुन्नु पर्ने डरले पनि उनी पछि नै हटिरहिन् ।

उनलाई लागेको थियो, ‘गीत चलिरहेका छन्, गीतसँगै म पनि चलिरहेकै छु । मेरो अनुहार मात्र दर्शकले नदेख्नु भएको हो ।’

उनी बाहिरी रुपमा खुलेर नआए पनि उनले निरन्तर काम भने गरिरहेकी थिइन् । स्टुडियो पुगिरहेकी थिइन् । उनले लामो समय संगीतबाट टाढा बस्नु पर्ने अवस्था कहिल्यै आएन । उनी भन्छिन्, ‘म जति म्युजिकबाट भाग्न खोजे पनि मलाई म्युजिकले तानिरह्यो । संगीतकारहरुले खोजिरहनुभयो । त्यो मेरो लागि सफलता थियो ।’

लुकेकोमा पछुतो छैन

उनी खुलेर बाहिर नआउदा केही गीतहरु गुमाएकी पनि छिन् । चर्चित र भाइरललाई खोज्नेहरुले उनलाई देखेनन् र भेटेनन् पनि ।

तर, प्रविशालाई यसका कुनै पछुतो छैन् । बरु राम्रो राम्रो संगीतकारहरुसँग त्यो समयमा पनि काम गर्न पाएकोमा खुसी छिन्, प्रविशा । उनले भनिन्, ‘मैले त्यो समय निकै राम्रा–राम्रा संगीतकारसँग काम गर्न पाएको थिएँ । त्यसमा गर्व छ ।’

अहिले मिडियामा आउने सहि समय भएको उनले बताइन् । थपिन्, ‘अब भने म स्टारडमको कुरामा कन्ट्रोल गर्न सक्छु । मिडिया फेस गर्न सक्छु । मेरो निर्णय लिन सक्छु । यो नै मेरो लागि सहि समय लागिरहेको छ ।’

फत्तेमानलाई फ्यान बनाएकी प्रविशा

प्रविशा आफूलाई यस मानेमा पनि भाग्यमानी महसुश गर्छिन् कि, उनले पूरानो पुस्तामा निकै गतिलो छाप बनाएका गीतकार तथा संगीतकारहरुसँग काम गर्ने अवसर पाएकी छिन् ।

उनले फत्तेमान, दीप श्रेष्ठ, शम्भुजीत बस्कोटा लगायत धेरै अग्रगहरुसँग काम गर्ने मौका पाएकी छिन् । जोसँग काम गर्थिन् प्रशंसा नै पाउने गर्थिन । उनी भन्छिन्, ‘त्यो बेला मैले अग्रज गुरुहरुसँग मैले काम गर्न पाए । जो–कोहीले पाउनेवाला पनि थिएन । मैले पाएँ, खुसी लाग्छ ।’

यति मात्र होइन, फत्तेमानलाई त प्रविशाले आफ्नो फ्यान बनाएकी थिइन् । धेरै जनासँग उनले प्रविशाको तारिफ गर्थे । एकदिन प्रविशाकै अगाडि दीप श्रेष्ठलाई कोट्याउँदै फत्तेमानले भने, ‘म त प्रविशाको फ्यान हो नि ।’

फत्तेमानको यो शब्द सुनेपछि प्रविशामा चिट्चिट पसिना छुट्यो । खुसीको सिमा थिएन । प्रविशा भन्छिन्, ‘उहाँले पनि मेरो फ्यान हुँ भन्नु मेरो लागि सबैभन्दा ठुलो उपलब्धी र सफलता थियो ।’

सपनामा पनि नदेखेको संगीत क्षेत्र

प्रविशालाई गायिका बन्ने कुनै रहर थिएन । तर, जब उनले गीत गुनगुनाउथिन् धेरैले उनको स्वरको तरिफ गर्थे । तर, गायिका नै बनेर करिअर बनाउछु भन्ने सोच उनको थिएन ।

संगीतयात्रा अहिले जस्तो सजिलो पनि थिएन, त्यो समय । मुलधारमा प्रवेश गर्न निकै संघर्ष गर्नुपर्थ्यो । कि चिनेको मान्छ चाहिन्थ्यो ।

तर, प्रविशाले त्यो दुःख देखिनन् । उनलाई मुलधारमा छिर्न पनि सजिलो बाटो बनाइदिए चिनजानका दाई रमेश राउतले । पाथिभारा एफएममा कार्यरत रमेशसँग रेडियो जिंगल गाउदाँ प्रविशाको भेट भएको थियो । उनै रमेशले प्रविशालाई गायक प्रमोद खरेलसम्म पुर्‍याइदिए ।

०६४ सालको कुरा, प्रविशाले प्रमोदलाई भेटिन् । उनले प्रमोदलाई केही गीतका हरफहरु सुनाइन् । प्रमोदले प्रविशाको स्वर रुचाए र अफर गरिहाले, ‘चलचित्र ‘विदाई’को गीत छ । महिलाको आवाजको लागि गायिका भेट्टिएको छैन् । के गाउछौँ त ?’

प्रविशाले तुरुन्तै हुन्छ भनिन् । प्रमोदसँग भेट भएको दोस्रो दिन नै उनी रेकर्डिङ स्टुडियो पुगिन् र गीत रेकर्ड गराईन् ।

तर, रिलिजको हिसाबमा उनको पहिलो गीत ‘कसलाई दिउँ यो जोवन’ को ‘मायामा’ बोलको गीत बन्यो । यस गीत सार्वजनिक भएपछि प्रविशाले करिअरमा फर्केर हेर्न परेको छैन् ।

छोडेका गीत

प्रविशाले धेरै गीतहरु छोडेकी पनि छिन् । छोडेका कतिपय गीतहरु हिट पनि भएका छन्, कतिपय उनले नै सुनिनन् ।

आफ्नो स्वरलाई मिल्ने गीतहरु छैनन् भने उनले ‘नाई’ भन्ने गर्छिन् । शब्दहरु चित्त बुझ्ने भएनन् भने पनि उनी पन्छाउँछिन् । उनी भन्छिन्, ‘मैले सिधै नाई भन्दिन थिएँ । मिलाएर ल्याउनुस भन्थेँ वा यो गीत फलानोलाई सुट हुन सक्छ भनेर रिफर गर्दिन्थे ।’

प्रविशाले गुमाएको हिट गीत हो, ‘सिम्पल सिम्पल कान्छीको’ । चलचित्र ‘अन्दाज’मा समावेश यस गीत सुरुमा प्रविशासम्म आइपुगेको थियो । तर, उनले यो गीत गाउन भने पाइनन् । आफ्नो भाग्यमा नभएकाले यो गीत गाउन नपाएको उनी बताउँछिन् ।

प्रसंग सम्झिदै प्रविशा भन्छिन्, ‘गीत बनाउँदा देखि नै बसन्त सापकोटा दाईसँगै थिएँ । पछि के के कुरा नमिलेर मैले गाउन पाइनँ । त्यसैले सुट हुने मान्छेले गाउनु भयो । ठिक छ ।’

प्रविशाले गुमाएको अर्को गीत हो, ‘स्लोली स्लोली’ । चलचित्र ‘काली’मा समावेश यस गीतको लागि अफर आउँदा उनी बिरामी थिइन् । त्यही पनि डेमो लिन भन्दै उनी स्टुडियोसम्म पुगिन् । स्टुडियो पुग्दा गीतको रेकर्डिङ तयारी भइरहेको देखिन् । उनी भन्छन्, ‘उहाँहरुलाई हतार भएको रहेछ । मैले केही दिन गाउन नसक्ने भएपछि उहाँहरुले अप्सन खोज्नुभयो ।’

नयाँ गायिकाको रुपमा चिन्दा !

प्रविशालाई अहिले नयाँ गायिका भन्नेहरु धेरै छन् । भर्खरै मिडियामा आएकाले र अहिले गीतहरु हिट भइरहेकाले प्रविशालाई नयाँ गायिका ठानिएको हो । यो कुरामा पनि प्रविशा खुसी छिन् । उनी भन्छिन्, ‘नयाँ भनेर चिन्नेहरुलाई मेरो पूरानो गीत सुनाउँदा छक्क पर्नुहुन्छ । त्यो पनि मलाई रमाइलो लाग्छ ।’

कतिपय दर्शकले प्रविशालाई घमण्डीको ट्याग पनि भिराएका छन् । धेरैले भन्ने गर्छन्, ‘भर्खरै यस क्षेत्रमा आएकी गायिकाले किन यत्रो घमण्ड गरेको ?’

यो कुरामा भने प्रविशालाई नमिठो लाग्छ । उनी भन्छिन्, ‘मैले काम गरेको त लामो समय भइसक्यो । त्यसैले पनि धेर–थोर संगीत बुझिसके । त्यसैले बोल्छु । तर, उहाँहरु घमण्डी भन्नुहुन्छ ।’

आमादेखि छोरीसम्मलाई स्वर

प्रविशाले आमादेखि छोरीलाई पनि स्वर दिएकी छिन् । उनको हिट गीत ‘मायामा’मा नायिका झरना थापाले अभिनय गरेकी थिइन् । झरनाको लागि प्रविशाले धेरै गीतमा आवाज दिएकी छिन् । धेरै गीतहरु हिट पनि भएका छन् ।

अहिले प्रविशा झरनाको छोरी सुहाना थापालाई आवाज दिइरहेकी छिन् । सुहानासँगको टिमअप पनि धेरैले रुचाएका छन् । चलचित्र ’ए मेरो हजुर ३’ मा समावेश ‘जिन्दगी नै भन्दिन’, ‘चिट डे’ मा प्रविशाले आवाज दिएकी छिन् ।

यो कुराले भने प्रविशालाई निकै खुसी दिन्छ । प्रविशा भन्छिन्, ‘झरना दिदिसँग पनि मेरो सहकार्यलाई धेरैले रुचाउनु भएको थियो । अहिले उहाँकै छोरी सुहानासँगको कामलाई पनि रुचाउनु भएको छ । यो त मेरो सफलता नै हो ।’

प्रविशाले झरनालाई भन्ने गर्छिन्, ‘दिदी हजुरलाई स्वर दिएँ, अहिले तपाईको छोरीलाई दिइरहेको छु । अब नातिनीलाई पनि दिन पाउँ है ।’ झरना पनि प्रविशाको तारिफ गर्दै मिठो हासो हास्ने गर्छिन् ।

हिटको लोभ छैन

प्रविशालाई अहिले संगीतमा नै आफ्नो करिअर बनाउनु छ । सबै कुरा भुलेर संगीतमा नै लिप्त भएकी छिन् । तर, प्रविशालाई हिटको लोभ भने छैन । केही दिन भाइरल भएर चाँडै हराउने मन उनलाई छैन ।

उनी भन्छिन्, ‘मलाई अहिले पनि स्टारडमको डर छ । अहिले पनि मेरो चर्चा भयो भने म त आत्तिन्छु होला । मलाई प्रविशा–प्रविशा हुने रहर छैन ।’ अहिले संगीत क्षेत्रमा धेरै जना राम्रो–राम्रो मान्छे भएकाले सबैसँग हातेमालो गरेर जाने चाहना प्रविशाको छ ।

राम्रो गीत र निरन्तर गाउन पाए यसैमा खुसी हुनेछिन् प्रविशा ।

अभिनयमा रहर

गायिका प्रविशालाई धेरै निर्माता–निर्देशकले चलचित्रको नायिका बन्न अफर गर्थे । तर, प्रविशालाई चलचित्रमा काम गर्ने कुनै इच्छा भएन । उनले अफर आएका राम्रो(राम्रो चलचित्र नकारेकी छिन् ।

अहिले भने प्रविशा भिडियोमा देखिन थालेकी छिन् । केही म्युजिक भिडियोमा प्रविशाले अभिनय गरिसकेकी छिन् । यसबाट पनि उनीमा अभिनयको रहर जागेको प्रष्ट हुन्छ । उनी पनि यस कुरालाई स्विकार्छिन् ।

उनी भन्छिन्, ‘अहिले मलाई हरेक कुराको अभ्यास गर्न मन लागेको छ । त्यसैले पनि भिडियोमा पनि काम गरिरहेको छु ।’ भिडियोमा काम गर्दा रमाइलो नै लागेको प्रविशाले बताइन् ।

अब भने प्रविशालाई चलचित्रमा पनि रहर लागेको छ । यदि राम्रो चलचित्रबाट अफर भएको खण्डमा प्रविशा चलचित्रमा पनि देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment