Comments Add Comment

खोलाको बगरमा मान्छे डुब्ने खाल्डो, स्थानीय भन्छन्– विरोध गर्दा धम्की आउँछ

४ फागुन, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका– ४ मोतीपुर क्षेत्रमा लोहन्द्रा खोलामा जथाभावी उत्खनन गरिएको छ । वातावरणीय प्रभाव मुल्याङकन गरी तीन फिटसम्म उत्खननका लागि अनुमति दिए पनि ठेकेदारले नौ फिट भन्दा गहिरो खाडल खनेर ढुंगा र बालुवा उत्खनन गरेका छन् ।

उत्खननका कारण खोलाको बगरमा मान्छे डुब्ने खाल्डो बनेको स्थानीय प्रकाश सरदार थारुले बताए । ‘पोहोर साल पनि क्रसरले खनेको खाल्डोमा डुबेर एक जना बालकको ज्यान गयो’ उनले भने ‘यो साल झन् ठूला खाल्डो खनेका छन् ।’

उत्खननमा ग्रामथान गाउँपालिकाका पदाधिकारीकै मिलेमतो रहेको उनको आरोप छ । चौधरीले खोलासँग जोडिएको आफ्नो ५ विघा जग्गामा रुख रोपेका छन् । जथाभावी खोला खनेका कारण आफ्नो खेती नै जोखिममा परेको उनले गुनासो छ ।

खोलाभित्रबाट स्काभेटर प्रयोग गरी जथाभावी उत्खनन भइरहेपनि विरोध गर्दा ठेकेदारबाट धम्की आउने स्थानीय बताउँछन् ।

ग्रामथान गाँउपालिका– ४ मोतीपुर र बेलबारी नगरपालिकाको सिमाना भएर बग्ने लोहन्द्रा खोला धारमा १२ फिटसम्म गहिरो छ । ‘बिहान पारी जाँदा पानी नभएको ठाउँमा फर्कदा मान्छे डुब्ने खाल्टो हुन्छ’ स्थानीय कुमार पराजुली भन्छन् ‘जथाभावी खन्ने ठेकेदारका विरुद्ध बोल्न पनि डर छ ।’

अबैध उत्खननका कारण ग्रामथान– ४ को भोला चोकनजिकै निर्माण भएको पैनी, सार्वजनिक बाटो र आर्यघाटको संरचना कटानको जोखिममा परेको पराजुलीले गुनासो छ । स्थानीय लोमस गंगा घाट सञ्चालक समितिका सचिव समेत रहेका उनी ठेकेदारको मनपरीलाई जनप्रतिनिधिले साथ दिएको बताउँछन् ।

स्थानीय सरकार नै ठेकेदारसँग मिलेका कारण बस्तीमा खोला पस्ने जोखिम बढेको स्थानीय पारस सरदार थारुको गुनासो छ । उनी बोल्न पनि डर हुने बताउँछन् । ‘अवैध उत्खनन नगर भन्दा धम्की आउँछ’ उनी भन्छन् ‘स्थानीय सरकार पनि मिलेको छ ।’ स्थानीय स्रोतको संरक्षण गर्ने दायित्व पाएको सरकार नै ठेकेदारको पक्षमा लागेर दोहन गरिरहेको उनको गुनासो छ ।

लोहन्द्रासहितका खोला उत्खननका लागि ग्रामथान र बेलबारी नगरपालिकाले ८ करोड ११ लाख रुपैयाँमा संयुक्त रुपमा सयपत्री मल्टिप्रपोज नामक कम्पनीलाई ठेक्का दिएको छ ।

नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएको कम्पनीका प्रतिनिधि संजोग माझीले गाउँपालिकाले अनुमति दिएकाले स्काभेटर प्रयोग गरेर उत्खनन गरेको बताउँछन् ।

निरिह स्थानीय सरकार

ग्रामथान गाउँपालिका –४ का वडाध्यक्ष वैजनाथ विश्वासले खोलामा हुने उत्खनन रोक्न नसकिने बताउँछन् । स्थानीयको गुनासो आएपछि आफूले खोला अवलोकन गरेको बताउँदै उनले बस्ती जोखिमा पर्ने गरी काम गर्न नदिने बताए । कानुनअनुसार ठेक्का दिएका कारण ठेकेदारलाई रोक्न नसकिने उनको भनाइ छ ।

ग्रमथान गाउँपालिका अध्यक्ष शिवनारायण माझी बेलबारी नगरपालिकाले ठेक्का लगाएका कारण आफूहरुले खासै चासो नदिएको बताउँछन् । अवैध उत्खननका विषयमा आफूलाई जानकारी नआएको बताउँदै उनले स्थानीयसँग बुझ्ने बताए ।

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह बेलबारीमा अवैध उत्खननका विषयमा गुनासो नै नआएको बताए ।

बेलबारीको नक्सालबारी र चिसाङ पुलमा उत्खनन गर्नेलाई कारवाही गरिएको बताउँदै उनले नदीजन्य बस्तु उत्खननमा समस्या नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment