Comments Add Comment

बुटवलका घरमा आधुनिक प्रविधिको नम्बर प्लेट

४ फागुन, बुटवल । बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घरको गणना सुरुवात गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक भएका घरमा नम्बर टाँस्न थालिएको छ ।

बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरको नम्बर प्लेट टाँसेर शुभारम्भ गरे ।

बुटवल वडा नं. ८ राजमार्ग चौरहास्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए ००२’ २०५६ नम्बरको निलो टिनको नम्बर कार्ड टाँस्दै नम्बरिङको शुभारम्भ गरिएको छ ।

नगरको वस्तुगत विवरणसंगै प्रत्येक घरको डिजिटल प्रविधिबाट नम्बरिङले योजना तर्जमा, कार्यान्वयन र थप अध्ययनका लागि उपयोगी हुने नगर प्रमुख सुबेदीले बताए ।

नगरभित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ गरिएको प्रमुख सुवेदीको भनाइ छ ।

सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवा केन्द्रहरु, सार्वजनिक क्षेत्र, सडक, विद्यालयदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्नेगरी ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ हो ।

मोबाइल एपमार्फत उपमहानगरका सेवाप्रवाहको जानकारी लिने र ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गर्ने भन्दै पहिलो निर्णय गरिएको थियो ।

भौगोलिक अध्ययनका विज्ञ सम्मिलित परामर्शदाता छनोट गर्दै १ देखि ११ वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ पूरा गरिएको हो । अहिले काम पूरा भएका वडाहरु उपमहानगरमा सबैभन्दा धेरै जनसंख्या रहेका हुन् ।

अब दोस्रो चरणमा वडा नं. १२ देखि १९ मा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ सुरु गरिने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ भएको र कर पनि वडा कार्यालयबाटै तिर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मालेको भनाइ छ ।

अहिलेसम्मकै आधुनिक वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ गरिएपछि अब कुन घर कुन रोडको कति नम्बरमा पर्छ भन्ने जानकारी जीपीआरएस सिस्टमबाट थाहा पाउन सकिने छ ।

डिजिटल नम्बरिङपछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्नेगरी भौगोलिक सूचना प्रणालीको विकास गरिएको उपमहानगरले जनाएको छ ।

सेवाग्राहीलाई सघाउन जनप्रतिनिधि सहयोग कक्ष

स्थानीय सरकारमा सेवा लिन आउने कुनै पनि सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

जनप्रतिनिधि नै नियमित रुपमा सेवादेहीका रुपमा रहने गरी तयार पारिएको यस्तो कक्ष मुलुकमै पहिलो हो । खासगरी भवन निर्माण, घर–नक्सासम्बन्धी काम र पूर्वाधार विकासका कामहरुमा सेवाग्राहीलाई सहयोग गर्नेछ ।

उपभोक्ता समितिमार्फत हुँदै आएका पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन बुटवलले नेपाली भाषामै लागत स्टिमेट समेत बनाउन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment