Comments Add Comment
मेरो कथा :

‘ब्याट्सम्यान थिएँ, शक्ति दाइले स्पिनर बनाउनुभो’

२ फागुन, काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू । डेब्यूमै उत्कृष्ट बलिङसहित तीन विकेट । चार खेलमा सर्वाधिक ११ विकेट । मेरालागि निकै अविस्मरणीय रह्यो, नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज ।

राष्ट्रिय टिमबाट पहिले पनि खेलेको थिएँ । तर ओडीआईचाहिँ पहिलो थियो, त्यो पनि घरेलु दर्शकसामू खेल्न पाएँ । त्यसैले विशेष थियो । मैले सोचेजस्तै प्रदर्शन गर्न सकेँ । यसमा सबैभन्दा खुशी शक्ति (गौचन) दाइ हुनुभयो होला । किनकी मलाई विकेटकिपर ब्याट्सम्यानबाट स्पिनर बनाएको उहाँले नै हो ।

शक्ति दाइको चेला हुँ भन्दा गर्व लाग्छ मलाई । घरेलु मैदानमा सिरिज खेल्ने टिममा परेपछि मैले शुरुमै शक्ति (गौचन) दाइलाई फोन गरेको थिएँ । ‘म टिममा परेँ, कुशल पनि पर्‍यो,’ भनेँ । किनकी हामी दुवै जना शक्ति दाइका चेला हौं । ‘ल एकदम बधाई छ, अब राम्रो गर’ भन्नुभयो ।

पहिलो खेलपछि उहाँ आफैंले फोन गर्नुभयो र ‘एकदमै राम्रो गरिस्, अझै पनि राम्रो गर्नुपर्छ’ भनेर हौसाउनुभयो ।

अन्तिम खेलमा अमेरिकाविरुद्ध राम्रो प्रदर्शन गरेपछि सन्दिप लामिछानेले मलाई पनि क्रेडिट दिनुभयो । हुन त त्यो खेलमा उहाँले ६ विकेट लिनु भएको थियो तर मलाई श्रेय दिनुभयो । सन्दीपले खेलका क्रममा पनि मलाई सिकाइरहनु हुन्छ । आफ्नो अनुभव सुनाएर यस्तो गर्नुपर्छ भनिरहनु हुन्छ । म सफल पनि भएँ ।

****

राम्रो गरेपछि टिममा परिन्छ भन्ने थाहा थियो । मैले घरेलु म्याचहरुमा पनि राम्रो गरेको थिएँ । सिरिज अघि पोखरामा क्याम्प भएको थियो । त्यसमा पनि राम्रो गरेकाले टिममा परिन्छ भन्नेमा विश्वस्त थिएँ । टिममा परेको समाचारबाटै थाहा पाएँ, एकदमै खुशी लाग्यो । कप्तान, कोच, सिनियर दाइहरुसँग के गर्ने, कसरी गर्ने भनेर सल्लाह लिएँ । उहाँहरुले धेरै नआत्तिनू, काममा केन्द्रित हुनू, भन्नुभयो ।

हुन त मैले यसअघि पनि नेपालको राष्ट्रिय टिमबाट खेलिसकेको थिएँ । टी-२० अन्तर्राष्ट्रिय पनि खेलेकै हो । तर घरेलु दर्शकसामू पहिलो पटक खेल्दै थिएँ । त्यसैले एकदमै उत्साहित थिएँ । क्राउडको अगाडि कसरी खेल्ने भनेर प्रेसर पनि थियो । त्यसमाथि एसोसिएटतर्फ अमेरिका र ओमान दुई टप टिम हुन् ।

मेरो रुममेट सन्दिपलाई सिरिजको पहिलो खेल खेल्नु अघिल्लो रातसोधेको थिएँ, भोलि म प्लेइङ ११ मा परेँ भने के गर्ने ? उहाँले भन्नुभयो, सिम्पल छ । आफ्नो काम गरिराख, प्रेसर नलेऊ । हुन पनि नेपालको विकेटमा हामी स्पीनहरुलाई फाइदा नै छ । त्यस्तो धेरै केही सोचेको होइन ।

****

माघ २२ गते पहिलो खेल ओमानसँग थियो । होटलबाट त्रिवि क्रिकेट मैदान जाँदा खासै त्यस्तो केही सोचिनँ । खेलअघि डेब्यु गर्ने खेलाडीहरुलाई डेब्यु क्याप दिइयो । म्यानेजर ऋषि सरले डेब्यू क्याप दिनुभयो । २० नम्बरको डेब्यु क्याप थियो । डेब्यु क्याप पाएपछि एकछिन झसङ्ग झस्केको जस्तो भएँ । कसरी प्रदर्शन गर्ने भनेर सोचेँ । मैले फेरि एकपटक सन्दीपलाई गएर सोधेँ । उहाँले फेरि पनि ‘प्रेसर लिनुहुन्न, आफ्नो नर्मल गेम खेल’ भन्नु भयो ।

हाम्रो आफ्नो टिम प्लान थियो, सबै खेलाडीलाई आ-आफ्नो जिम्मेवारी तोकिएको । कुन ब्याट्सम्यानले कस्तो ब्याटिङ गर्छ भनेर मैले भिडियोहरु पनि हेरेको थिएँ । र, ओमानी ब्याट्सम्यानहरुका लागि हाम्रो प्लान थियो, विकेट टु विकेट राख्ने । त्यही प्लानमा बल फालेँ र आफ्नो दोस्रो ओभरमै विकेट लिएँ । ओमानका कप्तान जिसन मक्सुदको विकेट थियो त्यो । यो विकेटसँगै सबै प्रेसर हट्यो ।

ओडीआई डेब्यूमै विकेट लिएपछि सबैले बधाई दिनुभयो । दर्शकहरुले पनि हुटिङ गर्नुभयो । पहिलो खेलमा मैले १० ओभरमा १ मेडन राख्दै १४ रन मात्र खर्चेर ३ विकेट लिएँ । राम्रो बलिङ भयो । कोचले आएर ‘वेल डन’ भन्नुभयो ।

त्यही प्रदर्शनले अन्य खेलका लागि सहयोग भयो । मैले चारवटै खेलमा मौका पाएँ । विकेट पनि आयो । नेपालको विकेटमा विकेटअनुसार बल फाल्नुपर्छ । कोच र कप्तानले यो विकेटमा लाइन टु लाइन फाल्नुपर्छ भनेर सिकाउनुभाथ्यो । त्यहीअनुसार बल फाल्दै गएँ । एउटा म्याचपछि अर्कोमा कसरी खेल्ने, कसरी बल फाल्ने, भनेर कोचलाई पनि सोधेँ । उहाँहरुको निर्देशन पछ्याइरहेँ ।

सिरिजको चौथो खेलमा हामीले कीर्तिमानी जित निकाल्यौं । ज्ञानु दाइ (मल्ल) ले भनेजस्तै अमेरिकालाई ४० ओभरमा अलआउट गर्ने हाम्रो लक्ष्य थियो । योजना त्यही थियो । यो विकेटमा स्पीनरले नै विकेट लिने आशा थियो । नभन्दै १० विकेट नै हामी दुई जना स्पीनरले लियौं । करण दाइले राम्रो शुरुवात दिलाउनुभयो । सन्दीपको बलिङ राम्रो थियो  र हामीले सोचेभन्दा पनि राम्रो भयो ।

अमेरिका पनि राम्रो टिम थियो । तर दिनको कुरा हो । हामीले पनि राम्रो खेल्दा १२ ओभरमा अलआउट गर्न सफल भयौं । हामीले ठाउँमा बल फाल्यौं र सफल भयौं ।

व्यक्तिगत रुपमा हेर्दा यो सिरिज मेरालागि फलदायी रह्यो । ओडीआईमा धेरै विकेट लिनेमा नेपालबाट चौथो भएँ । यो सिरिजको चार खेलमा मैले ११ विकेट लिएँ । धेरै सिकेँ । टिमको नतिजा हेर्दा चारमध्ये दुई खेल जित्यौं । अमेरिकालाई जित्यौं । ओमानलाई पनि हराउन कोसिस गरेको थियौं, तर सफल भएनौं ।

तर आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा नेपालका ३६ खेलमा अझै ३२ वटा खेल बाँकी छन् । हामीले बल्ल ४ वटा ओडीआई खेलेका छौँ । बाँकी खेलहरुमा राम्रो गरौं, धेरैभन्दा धेरै जित्दै जाऔं र केही सिकौं भन्ने हुटहुटी बढेको छ ।

****

मैले २०१० मा यू-१६ बाट क्रिकेट करियर शुरु गरेको हुँ । त्यसपछि चार वर्ष ग्याप भयो । अनि यू-१९ खेलेँ । एक पटक राष्ट्रिय टिमको क्याम्पमा परेँ । मेरो प्रदर्शन राम्रै थियो । टिममा पनि परेँ । तर प्लेइङ ११ मा पर्न सकिनँ । टिममा एकसेएक स्पीनरहरु बसन्त दाइ, शक्ति दाइ हुनुहुन्थ्यो, सन्दीप पनि थियो । त्यसैले पनि म परिनँ । तर मैले मेहनत गर्न भने छाडिनँ ।

२०१७ अक्टोबरमा भएको वर्ल्ड क्रिकेट लिगमा हङकङविरुद्ध खेल्दै मैले सिनियर टिमबाट डेब्यु गरेँ ।

गत वर्ष टी-२० अन्तर्राष्ट्रियमा पनि डेब्यु गरेँ । जिम्बाब्वेविरुद्ध खेल्दा अलि नर्भस थिएँ । कसरी खेल्ने, कहाँ बल फाल्नुपर्छ भनेर सिनियर दाइहरुलाई सोधेँ । पारस -खड्का) दाइ कप्तान हुनुहुन्थ्यो । उहाँले पनि प्रोत्साहन गर्नुहुन्थ्यो । पेन्टागुलर सिरिजमा आयरल्याण्ड, नेदरल्याण्ड्स जस्ता देशहरुसँग खेलेँ ।

****

अब म तपाईहरुलाई शक्ति दाइसँग भएको पहिलो भेट र त्यसपछि मेरो क्रिकेट यात्रा सुनाउँछु ।

तस्वीरः सुशन भारीको फेसबुकबाट

बुटवलको न्यू होराइजन स्कुलमा ६ कक्षामा पढ्थेँ । स्कुलमा शक्ति दाइ आउनुभएको थाहा थिएन । एकजना साथीले तँ राम्रो खेल्छस्, शक्ति दाइसँग गएर सिक भन्यो । म चप्पल र कट्टु लगाएर गएँ । साथीले यसले पनि राम्रो खेल्छ भनेर चिनायो । शक्ति दाइले ब्याटिङ गर भन्नुभयो । म लेफ्टी ब्याट्सम्यान र विकेटकिपर थिएँ । दाइलाई राम्रो लागेछ । भोलिदेखि जुत्ता लगाएर आऊ भन्नुभयो । त्यही दिनबाट शक्ति दाइसँग क्रिकेट सिक्ने मौका पाएँ ।

सिक्दै जाँदा एकपटक मैले ग्राउण्डबाट बल फालेको थिएँ । मेरो बल घुम्यो । उहाँले स्पिन गर्छौ ? भन्नुभयो । मैले हुन्छ भनेँ । स्पिन गर्न भनेर मलाई ड्युज बल दिनुभयो । मेरो हात पूरै घुम्थ्यो र शक्ति दाइको एकेडेमीको नम्बर १ ब्याट्सम्यानलाई पहिलो बलमै बोल्ड गरेँ । त्यो नै मेरो करियरको टर्निङ प्वाइन्ट बन्यो ।

शक्ति दाइले नेपालमा लेफ्ट आर्म स्पिनरको अभाव छ, तिमीले त्यो ठाउँ लिन सक्छौं भन्नुभयो । निरन्तर सिकाउनुभयो र म विकेटकिपर ब्याट्सम्यानबाट बलर बनेँ । र, आज नेपालका लागि राष्ट्रिय टिमबाट खेलिरहेको छु । मैले क्रिकेट खेल्न सुरु गर्दा कहिल्यै यहाँसम्म पुग्छु भनेर सोचेको थिइनँ । मेरो रुपान्तरणको श्रेय शक्ति दाइलाई नै जान्छ । उहाँले मेरो प्रतिभा चिन्नुभयो । १२ वर्षसम्म सिकाउनु भयो । स्कुलपछि पनि निरन्तर ट्रेनिङ दिनुभयो ।

****

मेरो बुवा म सानै हुँदा बित्नुभयो । घरमा आमा, दाइ-भाउजु र दिदी हुनुहुन्छ । म परिवारको कान्छो सदस्य । परिवारको अवस्था कमजोर थियो । त्यसैले क्रिकेट खेलमा लाग्न सहज वातावरण थिएन । परिवारमा सबैले पढ्नुपर्छ, कमाउनुपर्छ भन्नु हुनुथ्यो । यू-१६ मा २५० रुपैयाँ भत्ता थियो । २५० रुपैयाँले के हुन्छ भन्नुहुन्थ्यो । शक्ति दाइ घरमै गएर सम्झाउनुभयो ।

यू-१६ खेलेँ । यू-१९ खेलेँ । आफ्नो स्पेश बनाउँदै गएँ । परिवारले पनि साथ दिन थाल्यो । अहिले सबै जना खुशी हुनुहुन्छ । अरुले पनि तपाईँको छोराले राम्रो खेल्छ भनेर ममीलाई सुनाउँछन् । त्यसैले ममीले पनि निरन्तर प्राक्टिस गर भन्न थाल्नुभएको छ ।

****

शक्ति दाइको छत्रछायाँमा हुर्किएको मलाई आफ्नो गुरुसँगै राष्ट्रिय टिमबाट खेल्ने चाहना थियो । उहाँको पनि थियो होला सायद । दाइ टिममा हुँदा म पनि परेको थिएँ, तर मैले खेल्न पाइनँ ।

क्रिकेटमा भनिन्छ नि जो टिमलाई चाहियो, उही नै खेल्ने हो । त्यतिखेर टिममा बसन्त दाइ पनि हुनुहुन्थ्यो । टिममा मेरोभन्दा बसन्त दाइको अवश्यकता थियो । त्यसैले शक्ति दाइसँगै खेल्ने अवसर मैले पाइनँ । नेपालको पहिलो ओडीआई खेलेर उहाँले सन्यास लिइहाल्नुभयो । तर घरेलुमा भने हामीले धेरै खेल सँगै खेल्यौं ।

****

दशकभन्दा बढी भयो मैले क्रिकेट खेल्न थालेको । क्रिकेट खेल्ने भएपछि पढाइ पनि छाडियो । अब क्रिकेटबाहेक अरु केही सोचेको छैन । क्रिकेट नै अब लक्ष्य हो ।

तर मैले धेरै परसम्म पनि सोचेको छैन । आसन्न प्रतियोगिताहरुमा बढी केन्दि्रत हुने गरेको छु । तै पनि अहिले हामी सबै जनाको लक्ष्य भनेको ओडीआई वर्ल्डकप क्वालिफायरमा पुग्ने र नेपालको ओडीआई स्टाटसलाई जोगाइराख्ने नै हो ।

नेपालमा लेफ्ट आर्म स्पिनर धेरै छन् । उनीहरुमध्ये जसले राम्रो गर्छ, उही टिममा पर्ने हो । मुख्य कुरा प्रदर्शन हो । प्रदर्शनलाई निरन्तरता दिइयो भने टिममा परिन्छ । प्रदर्शन राम्रो भएन टिममा पर्न गाह्रो हुन्छ । म प्रदर्शन गर्दागर्दै टिममा आएँ । अरु आउलान् । जो आए पनि देशका लागि राम्रो खेल्न सकियोस् ।

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृङ्खला ‘मेरो कथा’को ७१ औं अंकमा यो हप्ता क्रिकेट खेलाडी शुसन भारीको कथा ।)

प्रस्तुति : गोविन्‍दराज नेपाल

तस्वीर : आर्यन धिमाल /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment