Comments Add Comment

बुढानीलकण्ठ दुर्घटना : बिरामीको नाटक गरेर मल्ल डेढ महिनादेखि अस्पतालमा

२ फागुन, काठमाडौं । बुढानिलकण्ठमा भएको कार दुर्घटनाका चालकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको ४० दिन भइसक्यो । तर, मल्लले अहिलेसम्म एक दिन पनि कारागारमा बस्नु परेको छैन ।

बिरामी भएको नाटक गरेर २३ पुसदेखि मल्ल चिरायु अस्पतालमा बसिरहेका छन् ।

जिल्ला अदालत, काठमाडौंले सवारी ज्यान सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । तर, कारागारमा पस्ने बित्तिकै उनले बेहोस भएको नाटक गरेको कारागारका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

लगत्तै उनलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिए पनि चिरायु अस्पतालमा रेफर गरिएको थियो । सोहीअनुरुप चिरायुमा राखिएका उनलाई डिस्चार्ज गरिदिन भन्दै कारागारले दुई पटक अस्पताल प्रशासनलाई पत्राचार समेत गरिसकेको छ । तर, जवाफ आएको छैन ।

‘हामीले दुई पटक पत्र लेख्दा पनि उहाँहरुले इन्भेस्टिगेसन भइरहेको छ भनेर अल्मल्याइरहनु भएको छ’, कारागार प्रशासनका प्रमुख जेलर अरुण पोखरेलले अनलाइनखबरसँग भने । कारागारमा सामान्य उपचारका लागि अस्पताल पनि छ । पोखरेलले त्यहीँ उपचार गर्ने बताए पनि अस्पतालले फिर्ता पठाउन मानेको छैन । बरु अस्पताल प्रशासनले कारागारको फोनै उठाउन छाडेको छ ।

यो पनि पढ्नुहोस बुढानीलकण्ठ दुर्घटना : चालक पृथ्वी मल्ल कारागार चलान

यसअघि कुरा हुँदा मल्लको रक्तचाप अस्थिर रहेकाले उपचार जारी राख्नु परेको अस्पतालले बताएको थियो । प्रहरीले हिरासतमा लिएका बेला पनि उनी बिरामी भएको नाटक गरेर अस्पताल भर्ना भएका थिए ।

यसअघि २८ मंसिरमा बुढानीलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेका चालक मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकाटाको मृत्यु भएको थियो ।

कारमा मल्लसहित नायिका परमिता राणा, करिश मास्के र एलिना थापा थिए ।

राणाले केहीअघि फेसबुकमा लामो स्टाटस लेख्दै चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म चाहन्छु कि यो सत्य नभइ एक डरलाग्दो सपना होस् । तर, म पनि कारभित्रको एक यात्रु थिएँ ।’

यो पनि पढ्नुहोस बूढानीलकण्ठ दुर्घटनाः नायिका परमिता राणा पनि कारमा भएको पुष्टि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment