+
+
Shares

प्रदेश २ को नाममा विपक्षी लचिलो, सत्ता गठबन्धनको अडान कायमै

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते २०:३८

४ फागुन, जनकपुरधाम । प्रदेश २ को नामाकरणमा विपक्षी दलहरु लचिला देखिए पनि सत्तारुढ दलले आफ्नो अडान कायमै राखेका छन् । त्यही कारण आइतबार पनि सहमति जुट्न सकेन ।

सभामुख सरोजकुमार यादव नेतृत्वको उच्चस्तरीय संसदीय समितिमा आइतबार प्रदेशको नामबारे छलफल भएको थियो । बैठकमा मुख्यमन्त्री लालबाबु राउत, राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलका नेता एवं भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवसहित प्रदेशसभाका सबै दलका सचेतक सहभागी थिए ।

बैठकमा विपक्षी दलहरुले आफूहरुले प्रस्ताव गरेको नामको अगाडि वा पछाडि मधेश शब्द राखेर सहमति जुटाउन सकिने बताए । नेकपाका नेताहरुले आफूले प्रस्ताव गरेको जानकी नामको पछाडि मधेश शब्द जोडेर ‘जानकी मधेश’ नाम राख्ने प्रस्ताव बैठकमा राखेका छन् । यस्तै कांग्रेसले ‘मिथिला मधेश’ बाट नामाकरण गर्न नयाँ प्रस्ताव ल्याएका छन् । यसअघि नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ नामाकरण गर्न प्रस्ताव पेश गरेका थिए ।

तर सत्तारुढ समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेश नै राख्नुपर्ने अडान राखेका छन् । बैठकपछि मुख्यमन्त्री राउतले देशमा संघीयता स्थापना गराउने मधेश आन्दोलनको सम्मानका लागि भए पनि प्रदेशको नाम मधेश नै हुनुपर्ने बताए ।

राजपा संसदीय दलका नेता जितेन्द्र सोनलले नेकपा र कांग्रेसले मधेशलाई स्वीकार गरेकोमा धन्यवाद दिए । तर प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफूहरु लचिलो भएको बताउँदै प्रदेशको नामाकरणका लागि सत्ता पक्षलाई पनि लचिलो बन्नुपर्ने बताए ।

समितिको अर्काे बैठक सोमबार पनि बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?