+
+
Shares

चीनबाट छोराछोरी आएपछिको खुसी, ‘बल्ल छटपटी सकियो’

मेयर भन्छन्– हेथ डेस्क राखियोस्

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ फागुन ४ गते १५:५६

४ फागुन, काठमाडौं । आइतबार बिहान नेपाल वायु सेवा निगमको वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुदाँ धेरै अभिभावक खुसी भए । उद्धारका लागि विभिन्न मन्त्रालय धाएका उनीहरूले तब सन्तोषको स्वास फेरे, जब छोराछोरीले भक्तपुर खरिपाटीस्थित क्वारेण्टाइनस्थल पुगेर आराम गरिहरेको बताए ।

‘बल्ल हाम्रो छटपटी सकियो, जस्तै भए पनि आफ्नो देश भनेको आफ्नै हो,’ एक अभिभावकले छोराछोरी नेपाल आइपुगेको खुसी अनलाइनखबरसँग साट्दै भने ।

अबका १४ दिनसम्म क्वारेण्टाइनस्थलमा रहने छोराछोरीलाई भने उनीहरूले भेट्न पाउने छैनन् । सन्तानसँग भलाकुसारी गर्न नपाए पनि आफ्नै देशमा रहेकाले सँगै भएजस्तो लागेको अर्का एक अभिभावकले बताए । भने, ‘१५ औं दिनमा त भेटिहाल्छौं नि, अब त केही भए पनि आफ्नै देशमा त हो ।’

१७० जना अभिभावक जसरी खुसी भइरहेका छन्, ठ्याक्कै त्यसको विपरीत केही अभिभावकको छटपटी भने अझै सकिएको छैन् । छोरोछोरीको पर्खाइमा रहेका ती अभिभावक त्यतिबेला निराश भए, जतिबेला विमानस्थलमा आइपुगेका छोराछोरी ज्वरो आएका कारणले उतै फर्कनु पर्‍यो ।

एक अभिभावकले निराश हुँदै भने, ‘आउने तयारी भइसक्दा ज्वरो आएकाले उतै राखिएछ । ज्वरो आएको भनेपछि झन् डर पो लागिरहेको छ ।’

बेइजिङस्थित नेपाली दूतावासका अनुसार, ४ जनामा ज्वरो देखिएकाले उनीहरूका २ परिवारका गरेर ६ जना नेपाल आउन पाएनन् । त्यसैगरी नेपाल आउन आवेदन दिएका चार जनाले उतै बस्ने निर्णय गरे । सोही कारण १७५ जना नेपालीको उद्दार गरियो ।

‘स्थानीयका लागि हेथ डेस्क राखियोस्’
चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र आफ्नो क्षेत्रका जनताको सुरक्षाको चिन्ताले खरिपाटीमा राख्नेबारे विरोध भएको बताउँछन् । ‘यहाँ राख्नै दिन्नौंभन्दा पनि, अन्यत्र नराखीकन किन यहाँ राखियो र यहाँको जनताहरूको सुरक्षा के हुन्छ ?’ भनेर प्रश्न गरेको उनको भनाइ छ ।

‘नेपालीहरू नै हुन्, बसून् तर त्यहाँको स्थानीयहरूलाई केही भयो भने त्यसको जिम्मा सरकाले लिने कि नलिने ?,’ नगर प्रमुख मिश्रको प्रश्न छ ।

अहिले पनि स्थानीयहरूको सुरक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने अडान नछाडेको उनी सुनाउँछन् ।

खरीपाटीका स्थानीयहरूका लागि आजैबाट सरकारले निःशुल्क हेल्थ डेस्क स्थापना गर्नुपर्ने उनको माग छ । डराइरहेका स्थानीय ज्वरो तथा रुघाखोकी देखापरेमा थप अत्तालिन सक्ने भन्दै उनल हेल्थ डेस्क आवश्यक रहेको बताए । ‘सरकारले आजैबाट त्यहाँ निःशुल्क हेल्थ डेस्क राखेर जाँच गरेदेखि स्थानीयहरूको त्रास घट्थ्यो,’ नगर प्रमुख मिश्रले अनलाइनखबरसँग भने ।

क्वारेण्टाइनमा १४ दिन के हुनेछ ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार क्वारेण्टाइनमा राखिएका विमानका क्रू मेम्बरलगायत सबैलाई हरेक दिन जाँच गरिन्छ । जाँच गर्दा ज्वरो या रुघाखोकी देखिए तत्काल एम्बुलेन्समार्फत अस्पतालहरूमा ‘आइशोलेसन’मा राख्न पठाइन्छ ।

लगातार १४ दिन नै कोरोना संक्रमण भए/नभएबारे परीक्षण गरिने प्रवक्ता श्रेष्ठले बताए । त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वास्थ्यकर्मीहरू खटाइएको छ । उनीहरू सबैको २४ घन्टाभित्र थ्रोट स्वाब (घाँटीको र्‍याल) को नमूना झिकेर प्रयोगशालामा पठाइनेछ ।

क्वारेण्टाइनमा राखिएकाहरूको निगरानी गर्न सेना र प्रहरीका ८० जना स्वास्थ्यकर्मीहरू खटाइएको छ । उनीहरूले पालैपालो निगरानी गर्नेछन् ।
क्वारेन्टाइनमा रहेका सबैको हरेक दिन दुईपटक ज्वरो नाप्ने काम हुनेछ । यसका लागि क्वारेन्टाइनमा हरेकका लागि छुट्टाछुट्टै थर्मोमिटरको व्यवस्था गरिएको छ । उक्त थर्मोमिटरको माध्यमबाट उनीहरूले शरीरको तापक्रम जाँच गरी तोकिएको ढाँचामा अभिलेख गर्नुपर्ने प्रवक्ता श्रेष्ठ सुनाउँछन् ।

त्यसैगरी, स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स २४ घण्टा नै तैनाथ गरिएको छ । यीमध्ये कसैमा ज्वरो देखिएमा एम्बुलेन्समार्फत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिनेछ ।
विद्युत् तालिम केन्द्रको ४ वटा ब्लकमा ६० वटा कोठा राखिएको छ । जसमा एउटा कोठामा ३ जनासम्मको समूह बस्न सक्नेछन् । एउटा शौचालय ६ जनाले प्रयोग गर्न सकिने गरी व्यावस्थापन गरिएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

श्रेष्ठ भन्छन्, ‘खाना, पानी र इन्फेक्सन कन्ट्रोल सबैको व्यवस्थापन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छ ।

विशेष किसिमको क्लिनिक, हरेक व्यक्तिलाई छुट्टाछुट्टै मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरिएको छ ।

मन्त्रालयले आवश्यकता अनुसार, मानसिक स्वास्थ्य जाँच गर्ने तथा अन्य मनोसामाजिक परामर्श दिने व्यवस्था गरिएको बताउँदै क्वारेण्टाइनमा बस्दा कुनै किसिमको समस्या भए खबर गर्नसमेत आह्वान गरेको छ ।

प्रवक्ता श्रेष्ठ भन्छन्, ‘हामीले आफ्नोतर्फबाट सम्पूर्ण व्यवस्थापन गरेका छौं । अब क्वारेन्टाइनमा रहेकालाई भेट्न नगएर आफन्तले हामीलाई सहयोग गर्नुपर्छ ।’

ग्लोबल अवस्था के छ ?

कोरोनाभाइरस संक्रमणका कारण एक जना चिनियाँ पर्यटकको फ्रान्समा मृत्यु भएको छ । कोरोनाभाइरस संक्रमणका कारण एसियाबाहिर भएको यो पहिलो मृत्यु हो ।

चीनबाहिर हङकङ, फिलिपिन्स र जापानमा एक–एक जना संक्रमितको मृत्यु भएको हो । चीनभित्रै हालसम्म १५०० भन्दा बढी मानिसको मृत्यु भएको छ । यसबाहेक २४ मुलुकका ५ सयभन्दा बढी संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?