Comments Add Comment

दुई वर्षमा प्रदेश २ सरकारका २६ उपलब्धी (पूर्णपाठसहित)

३ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले आफ्नो दुई बर्षको उपलब्धी सार्वजनिक गरेको छ । सरकारले कानून निर्माणदेखि छोरीलाई साइकल वितरण र बिमा गर्ने कामलाई उपलब्धी भनेको छ । यस्तै संघीय सरकारविरुद्व मुद्दा दायर गरिनु र शहीद परिवारलाई गरिएको भैंसी वितरणाई पनि सरकारले उपलब्धी ठानेको छ ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरुले शनिबार पत्रकार सम्मेलन गर्दै सरकारका २६ वटा उपलब्धी सार्वजनिक गरेका हुन् । प्रदेशका लागि चाहिने कानून निर्माणको कार्यमा प्रदेश २ सरकार तुलनात्मक रुपमा अगाडि रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२३ वटा कानून प्रदेश सभाबाट पारित भइसकेको, ८० वटा कानून तयारी अवस्थामा रहेको र २२ वटा कानून प्रदेश सभाको विधायन समितिमा विचाराधीन रहेको मुख्यमन्त्री राउतले बताए ।

यस्तै छोरीहरुलाई साइकल वितरण गरिनु पनि उपलब्धी भएको प्रदेश सरकारको भनाइ छ । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेशका १४ हजार छात्रालाई साइकल वितरण गरिएको र बाँकी रहेका करिब १५ हजार छात्रालाई साइकल वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको प्रदेश सरकारको भनाइ छ ।

छोराप्रतिको मोहका कारण भ्रूण हत्या गरी छोरीलाई गर्भमै मार्ने विकृति बढ्दै गएको जनाउँदै मुख्यमन्त्री राउतले हाम्रो समाजमा छोरी जन्मनुलाई सराप नभई बरदानको रुपमा लिनुपर्ने जनभावना वृद्धि गरी छोरीको जीवन सुरक्षित गर्ने उद्देश्यले प्रदेश सरकारले छोरी बिमाको रकमलाई वृद्धि गरी रु. तीन लाख पुर्याएको जनाए ।

प्रदेशका विभिन्न ठाउँमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी बाटो निर्माण, पुल निर्माण, जनता आवास कार्यक्रम सञ्चालन, प्रदेश कार्यालयहरुको भवन निर्माण लगायतका कार्यहरु प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चालन हुँदै आएको सरकारले जनाएको छ ।

शहिद परिवारको आयस्तर माथि उकास्नका लागि भैँसी वितरण कार्यक्रम, कृषकलाई कृषि पेशाप्रति उत्प्रेरित बनाई कृषि उत्पादनमा वृद्धि गरी किसानहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ट्रयाक्टर तथा सोलार पाइप वितरणलाई पनि उपलब्धी भनेको छ ।

नागरिकको स्वास्थ्य सम्बन्धी हकको सुनिश्चितता गर्न प्रदेश दुईभित्रका अस्पतालहरुको स्तरोन्नति गर्ने अभियान स्वरुप जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गरिनुका साथै आधुनिक उपकरणहरु समेत जडान गरिएको प्रदेश सरकारले जनाएको छ ।

संविधानले प्रदेशलाई दिएको अधिकार बमोजिम प्रदेशभित्रका राष्ट्रिय वनजंगललाई संरक्षण र प्रवद्र्धन गर्न संघीय सरकारबाट सागरनाथ वन प्रदेश मातहत ल्याउन सर्वोच्च अदालतमा प्रदेश सरकारले मुद्दा दायर गर्नुलाई पनि उपलब्धीको सूचीमा राखिएको छ ।

मधेश आन्दोलनका शहिद परिवारलाई ‘एक शहिद परिवार, एक रोजगार’ योजना अन्तर्गत रोजगार उपलब्ध गराइएको सरकारले जनाएको छ ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले यति उपलब्धी हुँदाहुँदै पनि कर्मचारी अभाव, संघीय सरकारबाट अपेक्षा गरिए अनुसारको सहकार्यको अभाव भएको बताए । उनले प्रदेश सरकार सञ्चालनको नयाँ अनुभव, नीतिगत कमजोरी लगायतका कारणहरुले विभिन्न संस्था, समिति तथा निकायबाट सम्पन्न भएका कामको भुक्तानी गर्नमा केही ढिलाई हुन गएको बताए ।

उनले चाँडो भुक्तानी दिनका लागि प्रदेश सरकारले पुरै प्रयास गरिरहेकोले छिटो नै भुक्तानी गर्ने प्रक्रिया अगाडी बढाउने विश्वा्स दिलाए ।

संघीयता टिकाउन लागि परेका छौं : मुख्यमन्त्री

पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले संघीयता बचाउने जिम्मेवारी आफूहरुको भएको भन्दै यसलाई जोगाउन अहोरात्र खटिरहेको बताए । उनले संघीय सरकारको असहयोग गरिरहेपनि आफूहरु संघीयता टिकाउन काम गरिरहेको बताए ।

‘संघीयतालाई सफल बनाउने या असफल बनाउने जिम्मेवारी प्रदेश २ सरकारकै काँधमा छ’ मुख्यमन्त्री राउतले भने, “त्यहीं भएर संघीय सरकारको असहयोगका वावजुद पनि हामी काम गरिरहेका छौं ।”

मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई असफल पारेर संघीयता नै समाप्त पार्ने खेलमा संघीय सरकार रहेकाले त्यो सफल हुन नदिइने बताए ।

उनले ७ प्रदेश मध्ये प्रदेश २ कै सफलता र असफलतामै संघीयता निर्भर रहेको बताउँदै यसका निम्ति संघीय सरकारसँग संघर्ष गर्नुपरिरहेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार पुरै ५ वर्ष चल्ने दाबी गरे । उनले जनता र मधेस आन्दोलनको म्यान्डेड अनुसारको सरकार बनेकाले राजपासँग सहकार्य नटुट्ने समेत बताए ।

प्रदेश सरकारले सार्वजनिक गरेका उपलब्धीहरुः

सार संक्षेपीकरण

प्रदेश सरकार

प्रदेश नं.२ को दुई वर्षको उपलब्धी

१.  नेपाल संघीय संरचनामा रुपान्तरण भएपछि वि.स. २०७४ फागुनमा प्रदेश सरकारको गठन भएको हो । उक्त समय नेपाल र नेपालीको लागि नयाँ संरचना भएकोले नयाँ संरचना अनुसार प्रदेश सरकारको काम कारबाही सञ्चालनका लागि प्रदेश मन्त्रालयहरुको स्थापना लगायत प्रदेश सरकार मातहत रहने कार्यालयहरुको स्थापना, कानून निर्माण, कर्मचारी व्यवस्थापन, भौतिक संरचना तथा स्रोतसाधनहरुको व्यवस्थापन अति आवश्यक रहेको थियो । तसर्थ, स्थापनाको समय (Foundation age) मा प्रदेश सरकारले प्रदेशको स्थापना लगतै ती संरचनाहरुको निर्माण, उपलब्ध भएका संरचनाको मर्मत सम्भार लगायत कानून निर्माणको कार्यलाई प्राथमिकता दिई तीब्र गतिमा काम भएको थियो ।

२.  नेपालमा संघीयता सफल हुने वा असफल हुने कुरा प्रदेश २ को सफलता र असफलतासँग प्रत्यक्ष रुपमा सम्बन्धित रहेको भनी देशभरीका राजनीतिज्ञ, बुद्धिजिवी, नागरिक समाज लगायतका सरोकारवालाहरुले विश्लेषण गरिरहेको अवस्थामा संघीयता बचाउने मुख्य जिम्मेवारी प्रदेश सरकारको काँधमा रहेको छ । यसका लागि प्रदेश सरकारले कर्मचारी अभाव, भौतिक संरचनाको अभाव,संघीय सरकारको असहयोग, कर्मचारीको असहयोग, कानूनको अभावका बावजुद अहोरात्र खटेर संघीयता बचाउन सफल भएको छ ।

३.  प्रदेशको जनताको शान्ति सुरक्षा पहिलो आवश्यकता रहेको कुरालाई मध्यनजर गर्दै प्रदेश सभाबाट प्रदेश प्रहरी ऐन निर्माण भइसकेको अवस्था छ । संघीय प्रहरी ऐन बने पश्चात यो कार्यान्वयनमा आउने भएकोले संघीय प्रहरी ऐन पनि पारित हुने अवस्थामा रहेको कारण पारित भए लगत्तै प्रदेश प्रहरीको भर्ना प्रक्रिया अगाडि बढाइने छ ।

४.  प्रदेश र प्रदेशभित्रका स्थानीय तहका लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्ने जिम्मेवारी संविधानले प्रदेश सरकारलाई दिएको हुँदा कर्मचारी भर्नाका लागि लोक सेवा आयोग गठन भइसकेको अवस्था छ । प्रदेश लोक सेवा आयोगले कर्मचारी भर्नाका लागि पाठ्यक्रम निर्माण लगायतका कार्यहरु तीब्र रुपमा अगाडि बढाएको छ ।

५.  प्रदेश तथा स्थानीय तहको काम कारवाही सञ्चा लन गरी जनतालाई सेवा प्रदान गर्ने कार्य गर्न अति आवश्यक ऐनको रुपमा रहेको प्रदेश निजामती सेवा बिधेयक निर्माण भई प्रदेश सभामा विचाराधिन रहेको छ।

६.  प्रदेशका लागि चाहिने कानून निर्माणको कार्यमा प्रदेश २ सरकार तुल्नात्मक रुपमा अगाडि रहेको छ । २३ वटा कानून प्रदेश सभाबाट पास भइसकेको, ८० वटा कानून तयारी अवस्थामा रहेको र २२ वटा कानून प्रदेश सभाका विधायन समितिमा विचाराधीन रहेको अवस्था छ ।

७.  प्रदेश दुईमा महिलाप्रति हेर्ने दृष्टिकोण धेरै नै नकारात्मक रहेको यथार्थलाई प्रदेश सरकारले विशेष महत्व दिई महिला सशक्तिकरण तथा समाजिक सुधारका लागि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चारलन गरेको हो जुन असाध्यै उपलब्धीमूलक रहेको र जनताले सकारात्मक अनुभूती गरेको कुरा प्रष्ट छ ।

८.  ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत १४००० छात्रालाई प्रदेश सरकारले साइकल वितरण गरेको छ र बाँकी रहेका करिब १५००० हजार छात्रालाई साइकल वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

९.  छोराप्रतिको मोहका कारण भ्रुणहत्या गरीछोरीलाई गर्भ मै मार्ने विकृति बढ्दै गएको हाम्रो समाजमा छोरी जन्मनुलाई सराप होइन बरदानको रुपमा लिनुपर्छ भन्ने जनभावना वृद्धि गरी छोरीको जीवन सुरक्षित गर्ने उद्देश्यले प्रदेश सरकारले छोरी बीमाको रकमलाई वृद्धि गरी रु तीन लाख पुर्याएको छ ।

१०. ‘मुख्यमन्त्री स्वच्छता अभियान’ सञ्चाालन गरी वातावरण स्वच्छ बनाउन प्रभावकारी कार्यहरु गर्दै आएको छ ।

११. प्रदेशका विभिन्न ठाउँमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी बाटो निर्माण, पुल निर्माण, जनता आवास कार्यक्रम सञ्चा्लन, प्रदेश कार्यालयहरुको भवन निर्माण लगायतका कार्यहरु प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चाहलन हुँदै आएको छ ।

१२. शहिद परिवारको आयस्तर माथि उकास्नका लागि भैँसी वितरण कार्यक्रम, कृषकलाई कृषि पेशाप्रति उत्प्रेरित बनाई कृषि उत्पादनमा वृद्धि गरी किसानहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ट्रयाक्टर तथा सोलार पाइप वितरण कार्यक्रम सम्पन्न भयो।

१३. सामाजिक विकास मन्त्रालयबाट छात्रछात्राहरुलाई आत्मसुरक्षा सम्बन्धी तालिम दिने कार्यक्रम सम्पन्न भएको छ ।

१४. नागरिकको स्वास्थ्य सम्बन्धी हकको सुनिश्चिात गर्न प्रदेश दुई भित्रका अस्पतालहरुको स्तरोन्नति गर्ने अभियान स्वरुप जनकपुर अञ्‍चल अस्पताललाई प्रादेश अस्पतालको रुपमा विकास गरिनुका साथै आधुनिक उपकरणहरु समेत जडान गरिएको छ ।

१५. धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले प्रदेश दुईमा रहेका विभिन्न स्थानमा रहेका सांस्कृतिक सम्पदाहरुको सौन्दर्यीकरण गर्ने कार्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट भएको छ ।

१६. संविधानले प्रदेशलाई दिएको अधिकार बमोजिम प्रदेशभित्रका राष्ट्रिय वनजंगललाई संरक्षण र प्रवर्द्धन गर्न संघीय सरकारबाट सागरनाथ वन प्रदेश मातहत ल्याउन सम्मानित सर्वोच्च अदालतमा प्रदेश सरकारले मुद्दा दायर गरिएको छ ।

१७. प्रदेश दुईमा उद्योग स्थापना गरी प्रदेशको आर्थिक उन्नति गर्नुका साथै युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्ने उद्ददेश्यले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्ताहरुसँग छलफल गरी यस प्रदेशमा लगानी गर्न आह्वान गरिएको छ ।

१८. स्थानीय तहमा उत्पादन हुने दुध, तरकारी, अन्नबालीको बिक्रीवितरण गर्न स्थानीय स्तरमा बजार सेड निर्माणका कार्यहरु भएका छन् ।

१९. ‘शिक्षा नै विकासको मेरुदण्ड’ भएकोले शिक्षा क्षेत्रमा सुधार गरी आधुनिक सूचना प्रविधिहरुको प्रयोगबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चोलन गर्न विद्यालयहरुमा कम्प्यूटर, ल्यापटप, प्रिन्टर, प्रोजेक्टर लगायतका प्राविधिक उपकरणहरु वितरण गरिएको छ ।

२०. प्रदेश र स्थानीय तहबीच सहअस्तित्व, समन्वय र सहकार्य गरी प्रदेशको समग्र विकासका गर्नका लागि प्रदेश समन्वय परिषद्को बैठक बसी स्थानीय तहहरुको समस्या, कामकारबाहीमा आइपरेका अप्ठ्याराहरुमा प्रदेश सरकारले सहयोग गर्ने तथा स्थानीय तहहरुलाई विपक्षी बनाइ दायर हुने मुद्दा तथा स्थानीय तहले दायर गर्ने मुद्दामा स्थानीय तहमा कानून अधिकृतहरुको व्यवस्था नभएसम्मका लागि स्थानीय तहको तर्फबाट मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रतिरक्षा गर्ने घोषणा गरिएको छ ।

२१. मधेश आन्दोलनका शहिद परिवारलाई ‘एक शहिद परिवार, एक रोजगार’ योजना अन्तर्गत रोजगार उपलब्ध गराईएको छ ।

२२. प्रदेश सरकारले मधेश आन्दोलन शहिद स्तम्भ तथा पार्क निर्माणको कार्य गर्दै आएको छ । साथै, आन्दोलनका घाइते परिवारलाई राहत उपलब्ध गराएको छ ।

२३. प्राकृतिक प्रकोपहरु बाढी, हुरी बतासबाट प्रभावितलाई राहत उपलब्ध गराएको छ । साथै जाडो याममा जाडोबाट बच्ने कम्बल, दाउरा लगायतका सामग्रीहरु वितरण गरी जनताको जीउ ज्यानको सुरक्षाका लागि सरकारले कार्य गर्दै आएको छ ।

२४. ५० प्रतिशत सरकारी सेवामा छोरीहरुलाई विशेष आरक्षण सम्बन्धी कानून निर्माण भएको ।

२५. राज्यको सेवा सुविधाबाट सदियौं देखि सेवा सुविधाबाट वन्चित रहेका दलित समुदायका लागि १८ प्रतिशत विशेष आरक्षण भएको ।

२६. मानव सभ्यताका श्रोत पोखरी जालशायहरुलाई संरक्षण गर्न मुख्यमन्त्री स्वच्छता अभियान तहत पोखरी सौन्दर्यीकरण कार्य भइरहेको ।

यति हुँदाहुदै पनि,

कर्मचारी अभाव, संघीय सरकारबाट अपेक्षा गरिए अनुसारको सहकार्यको अभाव, प्रदेश सरकार सञ्चाालनको नयाँ अनुभव,नीतिगत कमजोरी लगायतका कारणहरुले विभिन्न संस्था, समिति तथा निकायबाट सम्पन्न भएका कामको भुक्तानी गर्नमा केही ढिलाई हुन गएको हो । चाँडो भुक्तानी दिनका लागि प्रदेश सरकारले पुरै प्रयास गरिरहेकोले छिटो नै भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाउने विश्वा्स दिलाउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment