Comments Add Comment

जुकरबर्ग भन्छन् : फेसबुक पोष्टको वैधानिकता छुट्याउने काम हाम्रो होइन

फेसबुकका मालिक मार्क जुकरबर्गले आफ्नो स्वामित्वको सामाजिक सञ्जालमा पोस्ट हुने कुनै पनि सामग्री कानूनले दिएको अभिव्यक्ति स्वतन्त्रता अनुसारको अभिव्यक्ति हो वा होइन भनी छुट्याउनु आफ्नो कम्पनीको जिम्मेवारी नभएको बताएका छन् ।

सम्बन्धित देशको सरकारले नै आफ्ना नागरिकहरूले फेसबुकमा पोस्ट गर्न पाउने र नपाउने कुराको नियमन गर्नुपर्ने उनको सुझाव छ ।

हालै जर्मनीमा आयोजित म्युनिक सुरक्षा सम्मेलनमा बोल्दै जुकरबर्गले चरम नियन्त्रणले भने व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउन सक्ने जोखिम पनि व्यक्त गरे ।

पछिल्लो समय फेसबुकमा पोस्ट गरिएका गलत तथ्यसहितका राजनीतिक विज्ञापनले यसका प्रयोगकर्तालाई गलत सूचना प्रवाह गरेको र भ्रमित बनाएको आलोचना भइरहँदा जुकरबर्गले पोस्ट हुने सामग्रीको तथ्य जाँच गर्ने काम आफ्नो नभएको स्पष्ट गरे ।

‘कुनै लोकतान्त्रिक प्रक्रियाबिना, सामाजिक मर्यादालाई कसरी सन्तुलित राख्ने भन्ने कुरा हामीजस्तो निजी कम्पनीले निर्णय गरोस् भन्ने हामी चाहँदैनौं,’ उनले भने ।

यद्यपि सरकारहरूको उपयुक्त नीतिको अभाव हुन्जेल आफ्नो क्षमता अनुसार आफूहरूले सामग्रीको नियमन गर्ने जुकरबर्गको भनाइ छ ।

हाल करिब ३५ हजार जनशक्तिले फेसबुकमा पोस्ट हुने सामग्रीको समीक्षा गर्ने गरेको र त्यसका लागि कृत्रिम बौद्धिकता (एआई)को समेत सहयोग लिइएको उनले जानकारी दिए । यस क्रममा हरेक दिन दश लाखभन्दा बढी नक्कली अकाउन्ट हट्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment