Comments Add Comment

प्रतिपक्ष हान्ने राँगो होइन, दुईतिहाइको प्रदेश सरकार कमजोर छ’

४ फागुन, काठमाडौं । प्रदेश एकका प्रतिपक्षी नेता केदार कार्की प्रायः चर्चामा आइरहने सांसद मध्येमा पर्छन् । प्रदेश सभामा र सार्वजनिक कार्यक्रमहरुमा खरो प्रस्तुतीका कारण कार्की चर्चामा आउने गरेका छन् । उनको प्रस्तुतीकै कारण प्रदेश १ को संसदमा प्रतिपक्षी पनि छ भन्ने महसुस सबैले गर्दै आएका छन् ।

प्रदेश सरकारले दुईवर्ष पूरा गर्दैगर्दा हामीले नेपाली कांग्रेसका प्रमुख सचेतक कार्कीलाई सरकारको कामको कसरी मूल्यांकन गर्नुहुन्छ भनेर सोध्यौं । हामीले कार्कीलाई सत्तापक्ष मात्रै होइन, प्रतिपक्ष पनि त कमजोर छ नि भनेर प्रश्न गर्दा उनले आफूहरु हान्ने राँगोजसरी नभएर गाईजस्तो गरी प्रस्तुत भइरहेको दाबी गरे ।

‘प्रदेश सरकार दुई तिहाईको छ, तर कमजोर,’ कार्कीले भने, यही ताल हो भने अबको तीन वर्षपछि उहाँहरु अहिले हामी जहाँ छौं, त्यहाँ पुग्नुहुन्छ ।’

प्रदेश १ सरकारको दुईवर्षको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

बिस्कुन सुकाएजसरी योजना सुकाउने तर काम नगर्ने यो सरकारको कार्यशैली छ । सरकारको सयदिने कार्यक्रममध्ये कुन पूरा भयो, कति थाल्दै थालिएन, मैले भनिरहनै पर्दैन । सय दिने मात्र होइन, एक वर्षे नीति तथा कार्यक्रमबारे पनि बोलिरहनुपर्दैन ।

सरकार दुईवर्ष अलमलमा बस्यो । अहिले पनि दुईजना मन्त्री नियुक्त गर्न सकेको छैन, चार राज्यमन्त्री थपेको छ । मन्त्री चाहिएको भए पूर्ण मन्त्री नियुक्त गर्नुपथ्र्यो, तर राज्यमन्त्री थपियो ।

कामको चापले राज्यमन्त्री नियुक्त गरेको भनौं भने यहाँ फुर्सदै फुर्सद देखिन्छ । रिबन काट्नेबाहेक अरु काम देखिँदैन । मन्त्रीज्यूहरु सिक्दैछौं भन्नुहुन्छ । तर, भोट माग्दा सबै जान्ने छौं भनेकाले जनताले मत दिएका हुन् । उहाँहरुमा ‘इमोशन’ ज्यादा, जिम्मेवारीबोध कम छ ।

सरकारले संघीयता कार्यान्वयनमा महत्वपूर्ण काम भयो भनेको छ, प्रदेश १ मा संघीयता कार्यान्यनको अवस्था कस्तो देख्नुहन्छ ?

उहाँहरुले माथिको निर्देशनभन्दा बाहिर काम गरेको देखिएन । आफ्नै निर्णयले काम गर्नुभएको छैन । प्रदेशसभा पनि सार्वभौम संसद हो भन्ने बुझेको देखिएन ।

कोशी अस्पताल संघले प्रदेशलाई दियो, फेरि फिर्ता लियो । प्रहरी ऐनमा काम हुन सकेन । लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार प्रयोग भएको छैन ।

हामीले बनाएको सामाजिक संघ संस्था दर्ता सम्बन्धी ऐन गृह मन्त्रालयको चिट्ठीबाट रोकियो । ३९ वटा ऐन बनेका छन्, तर कार्यविधि बनाइएको छैन । रिबन काट्न दौडनेभन्दा अरु काम देखिएको छैन ।

प्रतिपक्षी दल पनि त कमजोरै देखियो नि ?

सत्तापक्ष र पत्रकारका लागि प्रतिपक्ष भनेको हान्ने राँगोजस्तो हुनुपर्ने रहेछ, तर हामी गाईजस्तो भएर चल्न खोजिरहेका छौं । रचनात्मक प्रतिक्रिया दिनुपर्छ भन्नेमा गएका छौं । प्रदेश जोगाउने जिम्मेवारी पनि प्रतिपक्षीको काँधमा आएको महसुस गरेका छौं ।

यावत कारणले गर्दा सभ्य प्रतिपक्ष भएर रचनात्मक भूमिका खेल्नुपर्छ भन्ने हेक्का राखेका छौं । संसदमा तोडफोड गरेको, सभामुखलाई जुत्ता खोलेर हानेको हामीले देखेका छौं । हामी सभ्य बन्दा सत्तापक्ष र पत्रकारले कमजोर भनेका हुन् ।

सरकारलाई उसको काम–कर्तब्य सम्झाउँदा, उसले बिराएको सभ्य तरिकाले औंल्याउँदा, शून्य समयमा जनताको चासोको बिषय ओठे जवाफ पाउने गरिएको छ । हामी यही शैलीबाट सत्ता पक्षलाई सही बाटोमा लगाउने प्रयासमा छौं । तपाईहरुले हान्ने राँगो जस्तो प्रतिपक्ष पाउनुहुनेछैन ।

प्रदेश सरकारले परिणाम देखाउन सकेन भन्दै हुनुहुन्छ, केमा अलमल भएजस्तो लाग्छ ?

प्रदेश सरकार दुईतिहाईको छ, तर कमजोर । दुईतिहाई बहुमतको कमजोर सरकार आफैंभित्र रुमलिएको छ । जनताको आवश्यकता पहिचान गर्न सकेको छैन । पेपरलेस अभियान भन्दै स्कुललाई दुईटा कम्प्युटर दिएर समृद्विको कुरा गर्छ । समृद्विको हावा गफले संघीयतालाई नै धरापमा पार्छ कि भन्ने चिन्ता छ ।

यही तालले अगाडि बढ्ने हो भने अबको तीन वर्षपछि उहाँहरु अहिले हामी जहाँ छौं, त्यहाँ पुग्नुहुन्छ । हामी काम गर्न सरकारमा पुग्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment