Comments Add Comment
क्वारेण्टाइनस्थलमा सरकारको कमजोर काउन्सिलिङ :

खरीपाटीको दृश्य : वुहानबाट आएका क्वारेन्टाइनमा, स्थानीयका घरमा ताला

क्वारेन्टाइनस्थल अगाडिका स्थानीयले घर छाडे

४ फागुन, काठमाडौं । भक्तपुरको खरीपाटीस्थित बाँसघारी टोल यतिबेला सुनसान छ । नेपाल विद्युत प्राधिकरण ठीक अगाडिको उक्त टोलका अधिकांश घरमा ताल्चा लगाइएको देख्दा कुनै प्रलयको पूर्वानुमान गरेर मानिसहरु बसाइँ सरे झैं लाग्छ । सधैं भेला भएर चिया खाने पसलमा मानिसहरु देखिँदैनन् । त्यो टोलमा मान्छे भेट्न नै मुस्किल छ ।

अहिले सुनसान रहेको यो टोलमा दुई दिनअघि रौनक अर्कै थियो । प्राधिकरण अगाडिको चिया पसलमा मान्छे भरिभराउ थिए । बाटामा चहल-पहल पनि बाक्लै थियो । ‘सरकारले हाम्रो कुरा सुनेन, अब कता गएर पो बस्ने हो’ भन्दै गुनासो पोखिरहेका मानिसहरु बग्रेल्ती भेटिन्थे।

‘चीनबाट ल्याउने नेपालीहरुलाई क्वारेण्टाइनका लागि खरीपाटीमा नराखियोस्’ भन्ने उनीहरुको एकमात्र चाहना थियो । सोही कारण उनीहरुले नारा जुलुस र विरोध प्रदर्शनसमेत गरे । सडकदेखि संसदसम्म खरीपाटीको विकल्प खोज्न माग गरिएको थियो । तर, सरकारले विकल्प खोजेन ।

फलस्वरुप, बाँसबारी टोलका स्थानीयहरु विकल्प खोज्दै त्यहाँबाट बसाइ सरेका छन् ।

सुनसान रहेको टोलमा घुम्ने क्रममा हामीले आइतबार चिया पसलमा एकजना ७० वर्षीया कृष्णमाया मगरलाई भेट्यौँ । दुई दिन अघिसम्म भरिभराऊ पसल आज खाली थियो । ग्राहक नभए पनि उनी पसल रुँघिरहेकी थिइन् ।

उनले हामीलाई देख्नासाथ भनिन्, ‘हिजो बेल्काबाट छोराछोरी च्यापेर जम्मै भागे नि त..।’

सोध्यौँ, ‘तपाई त घरमै हुनुहुँदोरहेछ नि ?’

उनले हाँस्दै भनिन्, ‘छोराबुहारीले त नबस् भनिराछन्, आ.. मर्नेबला भएको मान्छेलाई केको डर.. ?’

त्यहीबेला एकजना महिला चिया पसल अगाडिको बाटो भएर अघि बढिन् । कृष्णमायाले रोक्दै आग्रह गरिन्, ‘सलले मुख छोपेर हिँड्नु है ।’

जवाफ नआउँदै उनले थपिन्, ‘बजारबाट फर्कदाँ मास्क ल्याइदिनु ल ।’

ती महिला ‘हवस्’ भन्दै त्यहाँबाट हिँडिन् ।

हामीले उनलाई टोल सुनसान हुनुको कारण सोध्यौं । उनले त्यही कुरा दोहोयाइन्- डर र ज्यानको माया ।

कृष्णमायाका अनुसार २ दिनअघि डाक्टरहरु आएर कोरोनाका बारेमा जनचेतना फैलाएका थिए । संक्रमण नभएकाहरुलाई मात्रै ल्याउने भएकाले केही नहुने आश्वासन पनि दिएका थिए । तर, सरकारी आश्वासनको विश्वास कसैले गरेनन् ।

कृष्णमाया भन्छिन्, ‘केही नभएको भए त उनीहरुको परिवारलाई भेट्न दिहाल्थ्यो नि’ भन्दै टोलका सबै उठेर हिँडे।’

अहिले प्राधिकरणको गेट अगाडिको ‘क्वारेण्टाइन स्थल राख्न’ पाइँदैन लेखिएको’ पम्प्लेट हटाइएको छ । गेटको ठीक अगाडि नेपाल रेडक्रस सोसाइटीको हेल्थ क्याम्प छ । क्याम्पमा रहेका स्वास्थ्यकर्मीले बाटोमा हिँड्नेहरुलाई कोरोनाबारे जानकारीमूलक पर्चा बाँडिरहेका छन् ।

गेटमा तैनाथ सुरक्षाकर्मीहरु पनि पर्चा चाख मानेर पढिरहेका छन् । चीनबाट ल्याएका विद्यार्थीका अभिभावक अहिलेसम्म गेटमा पुगेका छैनन् । सरकारले स्थानीयका लागि न हेल्थ क्याम्प राखेको देखिन्छ, न त अभिभावकलाई सूचना दिने कुनै व्यवस्था । प्राधिकरणको गेट बाहिर सरकारको उपस्थिति शून्य देखिन्छ । जसका कारण स्थानीयमा डर बढिरहेको छ । अनावश्यक भ्रम फैलिइहेको छ ।

त्यहीबेला चीनबाट फकाइएका एक विद्यार्थीका आफन्त सुटकेश बोकेर प्राधिकरणको गेटमा पुगिन् । तर, सुरक्षाकर्मीले उनलाई भित्र छिर्न दिएनन् । सरकारले प्रष्ट भनेको छ, ‘१४ दिनसम्म आफन्तहरु भेट्न दिइने छैन ।’

स्वास्थ्यकर्मीले त्यही जानकारी उनलाई दिए । उनले अरु सामान नलगे पनि भित्र ‘सिम कार्ड र मास्क लगिदिनू’ भनेर आग्रह गरिन् । तर, सुरक्षाकर्मीले बाहिरको कुनै पनि सामान भित्र दिन नमिल्ने कुरा दोहोर्‍याए । तर, ती आफन्तले आफ्नो जिद्दी छाडिनन् । केही क्षणको कुराकानीपश्चात गेटमा रहेका सुरक्षाकर्मीले उनीहरुका इञ्चार्जलाई बोलाए । उनले मास्क र सिमकार्ड गेटमा छाड्न भने । ती आफन्त ‘सामान भित्र पुर्‍याइदिनु है..’ भन्दै त्यहाँबाट निस्किइन् ।

त्यहीबेला सुनसान रहेको टोलमा एकजना महिला देखिइन् ।

बिन्दा नेपाली नाम बताउने उनले भनिन्, ‘छिमेकीहरु सब हिजो राति नै हिँडे, अहिले त मलाई नि डर लागिरहेको छ ।’

उनकाअनुसार शनिबार साँझसम्म टोलमा मानिसहरु थिए । कोही राति नै आफन्तकहाँ गए । कसैले बिहानै टोल छाडे । छिमेकीहरुले टोल छाडेको देख्दा उनलाई पनि डर लागिरहेको छ । जाने ठाउँ नपाएर घरमा बसिरहेको उनी सुनाउँछिन् । भन्छिन्, ‘यहाँ त काम गर्ने मानिसहरु पनि कोही आएनन्, टोल रित्तिएको देख्दा विरक्त लागिसक्यो ।’

उनी अबको एक दुईदिनको अवस्था हेरेर टोल छाड्ने / नछाड्ने मनस्थिति बनाउने बताउँछिन् । सरकारले हेल्थ क्याम्प राखेर स्थानीयलाई पनि काउन्सिलिङ गरे टोल नछाड्ने उनको कथन छ ।

‘क्वारेण्टाइनस्थलभित्र मात्रै डाक्टरसहितको सेवा भएकाले बाहिर झन डर बढेको छ’ उनी भन्छिन्, ‘दुई/तीनदिन अगाडि नै सरकारले हेल्थ क्याम्प राखेर काउन्सिलिङ गरेको भए टोलका मानिस सबै हिडँदैनन् थिए कि ?’

अनि केही छिन टक्क रोकिएर भन्छिन्, ‘हुन त अहिले सरकारको विश्वास नै कसलाई छ र ? मनको बाघले खाएपछि कसैको विश्वास नलाग्ने र छ ।’

क्वारेण्टाइनस्थलभन्दा केही पर चाँगुनारायण नगरपालिकाको भवन छ । उक्त भवनको क्याण्टिनमा पनि दुई दिनअघिको भन्दा कमै चहल-पहल छ । तर, फिटिक्कै मानिस नभएका भने होइनन् । प्राधिकरण भवन अगाडिको टोलजस्तो त्यो टोल सुनसान पनि छैन ।

त्यो टोलका केही मानिसहरुलाई हामीले सोध्यौं,

‘पल्लो टोलका मानिसहरु कहाँ गए… ?’

जवाफ आयो- ‘हाम्रो टोलका पनि धेरै मानिसहरु हिँडिसके, हामी दुई/चार घरका मात्र बाँकी हो ।’

उनीहरुको अभिव्यक्ति सुन्दा लाग्थ्यो, विकल्प नभएका कारण उनीहरु त्यहाँ बसिरहेका छन् ।

‘हो, यहाँ संक्रमित भएकाहरुलाई बसाउने होइन । यहाँ राख्दैमा कोरोना सर्ने पनि होइन..’ त्यहाँ भेटिएका एकजना मानिस जंगिए, ‘तर.. सरकारले कम्तिमा यहाँका स्थानीलाई त केही हुन्न भनेर बुझाउनुपर्थ्यो नि । नबुझाएपछि घर छाडिहाल्छन् नि । अहिलेसम्म यहाँका स्थानीयलाई भनेर हेल्थ डेस्क राखेको छैन ।’

त्यहाँका अधिकाशं मानिसका गुनासो थियो, ‘सरकारले बुझाउन नसकेकाले प्राधिकरण भवन अगाडिको टोलका मानिसले घर छाडे । नियमित जाँचका लागि हेल्थ डेस्क नराखिएकाले टोलमा बस्न हिम्मत गरेनन् ।

चाँगुनारायणका मेयर सोमप्रसाद मिश्रले पनि स्थानीयका लागि छुट्टै हेल्थ डेस्क माग गरेका छन् । क्वारेण्टाइनमा बस्नेहरुका लागि हरेक दिन स्वासथ्य जाँच गर्दा त्यहाँका स्थानीयको पनि स्वास्थ्य जाँच गर्नुपर्ने उनको माग छ।

तर आइतबारसम्म सरकारले स्थानीयका लागि हेल्थ डेस्क स्थापना गरेको छैन । सोही कारण स्थानीयहरुले टोल छाडेको उनको कथन छ । भन्छन्, ‘सरकारले त्यहाँ निःशुल्क हेल्थ डेस्क राखेर जाँच गरेदेखि स्थानीहरुको डर घट्थ्यो र उनीहरुले घर छाड्दैनथिए ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहाल स्थानीयहरु डराउनुपर्ने कुनै अवस्था नरहेको बताउँछन् ।

स्थानीयहरुका लागि नियमित स्वास्थ्य जाँचको आवश्यकता नरहेको उनको कथन छ । स्थानीयहरुका लागि काउन्सिलिङ गर्न सोमबारबाट मन्त्रालयले स्वाथ्यकर्मी खटाउने बताउँदै उनले भने, ‘मन्त्रालयले स्थानीयहरुका लागि काउन्सिलिङ गर्छ । यदि कसैले टोल छाडेका छन् भने टोल फर्काउने वातावरण निर्माण गर्छ ।’

वुहानबाट उद्दार गरेर ल्याइएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्दै । नेपाली सेनाकाअनुसार उद्दार गरिएका सबै १७५ जनाकै र्‍यालको नमुना संकलन गरिएको छ ।

खरिपाटी क्षेत्रमा सर्वसाधारणलाई कोरोना भाइरसबारे जानकारीमुलक पर्चा बााड्दै रेडक्रसकर्मी
क्वारेन्टाइन क्षेत्रका केहीले घर छाडेपनि केही भने निर्वाध काम गरिरहेका छन् । अनलाइनखबरको टोली पुग्दा केही मानिसहरु इँटा अनलोड गरिरहेका थिए भने केही बाटो हिँडिरहेका थिए ।

तस्वीर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment