Comments Add Comment

पहिलो सन्तानलाई सिकाउनुपर्ने १० कुरा

एकभन्दा बढी सन्तान भएपछि दुवैलाई सम्हाल्नु बाबुआमालाई समस्या बन्न पुग्छ । दोस्रो सन्तान जन्मिँदाको खुशी परिवारले साट्न नपाउँदै पहिलो सन्तानको गुनासो शुरु हुन्छ । पहिलो सन्तानलाई अभिभावकले भाई वा बहिनीलाई नै प्राथमिकता दिएको आभाष हुन थाल्छ ।

यो धेरै परिवारको साझा समस्या हो । त्यसैले दोस्रो सन्तान जन्मिँदा अभिभावकले मिश्रति अनुभव गर्छन् । साथै, पहिलो सन्तानले पनि धेरै कुरामा सम्झौता गर्नुपरेको महशुस गर्छ ।

१. बाँड्ने बानीको विकास

दोस्रो सन्तान हुनुपहिले पहिलो सन्तान परिवारको एकमात्र बालक हुन्छ । सबैको ध्यान उसैतर्फ हुन्छ र अभिभावकसँग भएको सबै कुरा पनि उनीहरुकै मात्र हुन्छ । त्यसैले अभिभावकले दोस्रो सन्तान हुनुपूर्व पहिलो सन्तानलाई कसरी सबै कुरा एकआपसमा बाँड्नुपर्छ भन्ने सिकाउनुपर्छ । यसो गर्नाले पहिलो सन्तानले दोस्रो सन्तानको विषयमा झगडा गर्नुको सट्टा कसरी मिलेर बस्न सकिन्छ भन्ने कुरा सिक्न सक्छ ।

२. धैर्य र करुणा

पहिलो सन्तानले दोस्रो सन्तान जन्मिनुभन्दा पहिला नै धेरै कुरा सिकिसकेको हुन्छ । उनीहरु परिवारको नयाँ सदस्य आएकोमा जब उत्साहित हुन्छन्, त्यतिबेला उनीहरुलाई कसरी माया तथा करुणा देखाउने र धैर्य राख्ने भन्ने बुझ्नु जरुरी हुन्छ । किनकी सानो बच्चालाई कसरी कुरा गर्ने र बोल्ने भन्ने कुरा पनि राम्रोसँग थाहा हुँदैन । यस्तोमा पहिलो सन्तानले नरिसाइकन कसरी सिकाउन सकिन्छ भन्ने थाहा पाउनुपर्छ ।

३. परिवारमा आफ्नो महत्व

दोस्रो सन्तान परिवारमा आएपछि पहिलो सन्तानले आफूलाई वेवास्ता गरेको महशुस गर्नु स्वाभाविक नै हो । यसबाट पार पाउन ठूलो हुँदै जानु परिवारको अभिन्न अंग बन्नु हो भन्ने सिकाउनुपर्छ । उनीहरुलाई परिवारमा आएको नयाँ सदस्यका लागि उसले निकै महत्वपूर्ण भूमिका खेल्न सक्छु भन्ने विश्वास दिलाउनुपर्छ ।

४. बराबर मायाको आभाष

सामान्यतया पहिलो सन्तानमा आफ्नो भाइ वा बहिनीलाई आफूलाई भन्दा बढी माया गरेको जस्तो लाग्छ । अभिभावकले पछि दोस्रो सन्तानलाई बढी ध्यान दिने हुनाले पहिलो सन्तानमा यस्तो छाप पर्न गएको हो । तर, अभिभावकले उनीहरुलाई अभिभावकको माया असीमित छ भन्ने कुरा बुझाउनसक्नुपर्छ । साथै उनीहरुलाई पहिला जति नै माया अहिले पनि गर्छन् र दुवै सन्तानलाई बारबर माया गर्छन् भन्ने कुराको विश्वास दिलाउनु जरुरी हुन्छ ।

५. स्वतन्त्र बन्ने प्रयास

पहिलो सन्तानलाई आफ्ना धेरै काम आफैंले गर्न सिकाउनु पर्छ । उमेर अनुसार उसले गर्नसक्ने काम उनीहरुलाई नै लगाउनुपर्छ । यसो गर्दा उनीहरुलाई सधैं आफूलाई अभिभावकको ध्यान आवश्यक पर्दैन भन्ने कुराको आभाष हुन्छ । यस्तोमा उनीहरुलाई दोस्रो सन्तानसँग राम्रो व्यवहार गर्न पनि प्रेरणा मिल्छ ।

६. खेल्ने सही तरिका

पहिलो सन्तानले यसअघि कसैसँग पनि खेलेको हुँदैन । त्यसैले उसलाई अभिभावकले साना बच्चासँग कसरी खेल्ने भन्ने कुरा सिकाउनुपर्छ । विशेषगरी गलत तरिकाले खेल्नु हुँदैन र खेलमा स्वार्थीपना देखाउनु हुँदैन भन्ने कुरा पनि बुझाउन सक्नुपर्छ ।

७. सहयोगी भावना

साना बच्चालाई पक्कै पनि सबै कुरामा अरुको सहयोग आवश्यक हुन्छ । यदि पहिलो सन्तानलाई सहयोगी भावना राख्नुपर्छ भन्ने कुरा बुझाउन सकिएको खण्डमा दोस्रो सन्तानको आवश्यकता बुझेर उसले सहयोग गर्न सक्छ । यसले दोस्रो सन्तान हुर्काउन अभिभावकलाई सजिलो हुने मात्र होइन, पहिलो सन्तानलाई आफ्नो आत्मविश्वास पनि बढ्छ ।

८. नयाँ बच्चाको स्याहार

भर्खरै जन्मिएका बच्चाहरु कमजोर हुन्छन् । यस्तोमा पहिलो सन्तानलाई दोस्रो सन्तानलाई आफ्नो दाजुभाइजस्तै बनेर बस्न प्रेरित गर्नुपर्छ । नयाँ सन्तानलाई कसरी स्याहार गर्ने भन्ने कुरा पनि बुझाउनुपर्छ । अन्यथा पहिलो सन्तानले नयाँ सन्तानलाई क्षति पुर्‍याउने सम्भावना बढी हुन्छ ।

९. पारिवारिक भावना विकास

प्हिलो सन्तानलाई दोस्रो सन्तान पनि आफ्नै परिवारको सदस्य हो भन्ने बुझाउनु पर्छ । यसो गर्नाले उनीहरुले नयाँ सन्तानप्रति बढी मात्रा देखाउने र उनीहरुको ख्याल राख्ने काम गर्न सक्छन् । एकपटक पहिलो सन्तानले यो कुरा बुझ्यो भने नयाँ सन्तानको संरक्षण उनीहरुले नै गरिदिन्छन् ।

१०. मनको कुरा भन्ने बानी

यो अभिभावकले आफ्नो पहिलो सन्तानलाई बुझाउनुपर्ने सबैभन्दा महत्वपूर्ण विषय हो । दोस्रो सन्तान जन्मिँदा पनि आफ्ना अभिभावकले मेरो कुरा सुनिरहेका छन् भन्ने विश्वास पहिलो सन्तानमा हुनु जरुरी हुन्छ । यसो गर्नाले पहिलो सन्तानले आफूलाई कस्तो महशुस भइरहेको छ भन्ने कुरा पनि बताउँछ र उसले नयाँ सन्तानलाई पुर्‍याउन सक्ने नोक्सानी पनि रोक्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment