
७ फागुन, सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गरेका छन् ।
दोस्रो कर्णाली एक्स्पोको उद्घाटनका लागि सुर्खेत आएका उपराष्ट्रपति पुनले मंगलबार साँझ भेरी नदीको चिप्लेमा निर्माण हुन लागेको व्यारेज निरीक्षण गरेका हुन् ।
चिप्लेबाट बबई नदीसम्म १२ किलोमिटर लामो सुरुङमार्फत भेरीको पानी बबईमा पुर्याइँदैछ । आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसकेको छ ।
सुरुङमार्फत भेरीको पानी बबईमा पुर्याएर ४६ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने र सो पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीन सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।
उपराष्ट्रपतिको निरीक्षणको क्रममा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्देशक सञ्जीव बरालले आयोजनाको काम तीव्रगतिमा अघि बढिरहेको जानकारी गराए । उनले आर्थिक वर्ष २०७९/८० सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको र हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।
उपराष्ट्रपति पुनले आयोजनाको प्रगतिमा खुसी व्यक्त गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न सबैले इमान्दार भूमिका खेल्नुपर्ने बताए ।
प्रतिक्रिया 4